अलैंची बजारीकरण र स्थिर दीर्घकालीन नीतिको अभाव

खगेन्द्र कार्की

इटहरी । नेपाल सरकारले कृषिलाई प्राथमिकता दिएर अरबौं रकम खर्चिएको भए पनि दीर्घकालिन र स्पष्ट नीति नहुँदा किसानको मेहनत वालुवामा पानी भएको छ । विभिन्न भागमा हुने अलैंची खेती पछिल्लो समय किसानको समृद्धिको सारथी बनिरहेको बेलामा कहिले ह्वात्तै मूल्य बढाएर अचाक्ली किसानलाई हौस्याउने र कहिले ह्वात्तै घटाएर हतोत्साहित बनाउने नीतिको कारण उत्पादनमा स्थिरता वा एकरुपता आउन सकेको छैन । पछिल्लो समयमा उत्पादन राम्रो देखिएको अलैँचीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । पछिल्लो दुई सातायता अलैँचीको मूल्य निरन्तर घटिरहेको हो । मूल्य घट्ने क्रमसँगै भोजपुर, ताप्लेजुङलगायतका अलैंची उत्पादन हुने पहाडी जिल्लाका किसान चिन्तामा परेका छन् । ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा अलैँचीको मूल्य प्रतिमन (४० किलोग्राम) ९८ हजार रुपियाँमा झरेको बताइएको छ ।

साधारण अर्थात् चलनचल्तीको अलैँचीको मूल्य प्रतिमन एक लाख १० हजार रुपियाँसम्म पुगेकोमा अहिले मनमा १२ हजार रुपियाँ घटेको छ । फुङ्लिङ बजारका व्यवसायी भद्रबिर रेग्मीका अनुसार अलैँचीको मूल्य घट्दै–घट्दै मंगलबार प्रतिमन ९८ हजार रुपियाँमा आइपुगेको छ । करिव दुई सातायता मनमा एक हजार र दुई हजार रुपियाँका दरले अलैँचीको मूल्य घटिरहेको रेग्मीले बताए । अलैँचीको मूल्य ओरालो लाग्ने क्रमले निरन्तरता पाउने सम्भावना कायमै रहेको पनि उनको भनाइ छ ।

हाल अलैँची नेपाल बाहिर निर्यात हुन नपाएकाले मूल्य घट्न थालेको स्थानीय व्यवसायी बताउँछन् । देश बाहिरका व्यापारीबाट अलैँचीको माग हुन छोडेको र नेपाली व्यापारीले थन्क्याएर राख्नु परेकाले मूल्य घट्न थालेको व्यवसायी रेग्मीले बताए । नेपालमा उत्पादन हुने अलैँचीको मूल्य अन्तर्राष्टिूय बजारमा भर हुने उनको भनाइ छ । ताप्लेजुङमा उत्पादन हुने अधिकांस अलैँची किसानले बेचिसकेका छन् । स्थानीय व्यापारीका अनुसार करिव ८० प्रतिशत बढी अलैँची किसानले बिक्री गरी सकेका छन् । अहिले केही व्यापारी तथा किसानले मात्र मूल्य अझै बढ्नसक्ने आसामा अलैँची थन्क्याएर राखेको बताइएको छ । यता लामो समयपछि यसवर्ष मूल्य ह्वात्तै बढेकाले अलैँचीबाट उत्पादक किसान तथा स्थानीय व्यापारीले राम्रै फाइदा पनि लिएका छन् । हाल मूल्य घट्न थालेपछि अलैँची बिक्री नगरी राख्ने किसान तथा व्यापारी झस्किएका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया