प्रवासमा पनि चुनावी चासो

Nathanael

दिलिप पराजुली, कतार

दमक । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको माहोल नेपालभित्र मात्र होइन, विदेशमा रहेका नेपाली समुदायबीच पनि तीव्र रूपमा फैलिएको छ । जापानदेखि खाडी मुलुक र अष्ट्रेलियासम्म रहेका नेपालीहरू स्वदेशको राजनीतिक वातावरण नजिकैबाट नियालीरहेका छन् । भोट हाल्ने अधिकार नपाए पनि उनीहरूले सामाजिक सञ्जाल र विभिन्न माध्यमबाट आफ्नो अभिमत सार्वजनिक गर्दै चुनावी वातावरणमा प्रत्यक्ष प्रभाव पारिरहेका छन् ।

नेपालमा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरू आफ्ना क्षेत्रका मतदाताको घरदैलोमा व्यस्त छन् भने प्रवासी नेपालीहरू पनि आफ्ना विचार र अपेक्षा अभिव्यक्त गर्दै सक्रिय बनेका छन् । विशेष गरी जेनजी आन्दोलनपछिको राजनीतिक परिवेश, नेपाली कांग्रेसमा आएको नेतृत्व परिवर्तन, र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतीको बढ्दो आकर्षणले यो निर्वाचनलाई अझ रोचक बनाएको छ।

मताधिकारबाट वञ्चित तर मत–अभिमतमा सक्रिय

१८ वर्ष पूरा गरेका लाखौँ नेपाली अध्ययन, रोजगारी र सीप प्रशिक्षणका कारण विदेशमा छन् । उनीहरू मतदान अधिकारबाट वञ्चित भए पनि विवेक र विचारका माध्यमबाट निर्वाचनमा अप्रत्यक्ष सहभागिता जनाइरहेका छन् । सामाजिक सञ्जाल उनीहरूको प्रमुख अभिव्यक्ति मञ्च बनेको छ, जसले स्वदेशमा रहेका मतदाताको सोचमा समेत प्रभाव पारिरहेको देखिन्छ ।

कतारका चिरञ्जीवि तिम्सिनाका अनुसार, यो निर्वाचन नयाँ र पुरानाको मात्र द्वन्द्व होइन, तर रूपान्तरण र जवाफदेहिताको अवसर पनि हो । उनले भने, “पुराना दलहरूले रुपान्तरणको प्रयास गरेका छन्, तर अबको सरकारले युवाको आवाज र जेनजी आन्दोलनले उठाएका सवालहरूको जवाफ दिनुपर्नेछ ।”

त्यस्तै, भोजपुर सेवा समाज कतारका सामाजिक अभियन्ता महेन्द्र कार्कीले विदेशमा रहेका नेपालीको संवेदनशीलता र जिम्मेवारीबोध उल्लेख गर्दै भने, “समय र समथ्र्य हुने प्रवासीहरु चुनावका लागि नेपाल फर्किरहेका छन, यसले देशको भविष्यप्रति प्रवासीहरूको गहिरो माया र चासो देखाउँछ ।”

रोजगारी र अवसरका अभावले विदेशिएका नेपालीको सन्देश

कुवेतकी निर्मला खड्काले रोजगारी र अवसरको अभावमा लाखौँ नेपाली विशेष गरी महिलाहरू विदेशिन बाध्य भएको पीडा पोखिन्। उनले भनिन्, “यो निर्वाचनबाट अनुहार मात्र होइन, देशको अवस्था फेरियोस्। रोजगारी सिर्जना होस्, ताकि हामीजस्ता आमाहरू आफ्ना सन्तानसँग बस्न सकौँ ।”

साउदी अरबका रमेश कार्कीले पनि अब नेतृत्व पुरानै सोचमा अड्किएको नभई प्रविधि र समयसँगै हिँड्ने नयाँ पुस्ताको हुनुपर्ने बताए । “हामीजस्ता लाखौँ नेपाली परदेशमा पसिना बगाइरहेका छौँ । अब समय आएको छ–नेतृत्वले प्रवासीको पीडा बुझोस्,” उनले भने ।

प्रवासीको अपेक्षा ः सेवा, सुशासन र परिणाममुखी नेतृत्व

अष्ट्रेलियाका नगेन्द्र बोहोराले अबको नेतृत्व “सत्ता जोगाउने होइन, देश बनाउने मानसिकता” भएको हुनुपर्ने बताए । उनका अनुसार, नीति–आधारित शासन, सुशासन, शिक्षा सुधार, कृषिको आधुनिकीकरण र रोजगारी सिर्जनामा ध्यान दिने सरकार देशको आवश्यकता हो ।

जापानका अंकित भट्टराईका अनुसार, “विकास नाराले सम्भव हुँदैन, त्यसका लागि पारदर्शिता, उत्तरदायित्व र अनुशासित नेतृत्व आवश्यक छ ।” उनले दक्षिण कोरियाको अनुशासित नेतृत्व र नागरिकको सक्रियताबाट प्रेरणा लिनुपर्ने बताए ।

यो निर्वाचन देशभित्रका मतदातामात्रका लागि होइन, विश्वभर फैलिएका नेपालीका दृष्टिकोण र आशाको पनि केन्द्र बनेको छ । प्रवासी नेपालीहरू भोट हाल्न नपाए पनि उनीहरूको विचार, मत र सुझावले स्वदेशको राजनीतिक निर्णयमा प्रभाव पारिरहेको छ। उनीहरूको सन्देश स्पष्ट छ– अबको नेतृत्वले सत्ता होइन, सुशासन, अवसर र विश्वासको देश बनाओस् ।


Nathanael
प्रतिक्रिया