अबको बाटो संयमता र एकता
यतिखेर देश विषम परिस्थितिमा गुजिएको छ । तीन दशक बढी सत्तामा रहेका दलहरुले सत्ता सञ्चालनका क्रममा देखाएका गलत हरकतलाई बारम्बार जनताले सच्याउन आग्रह गर्दा पनि नमानेपछिको विद्रोहको रुपमा जेन जी आन्दोलन भयो । त्यो आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भयो । अहिलेसम्म ७१ जनाको मृत्यु भईसकेको छ भने अरबौंको क्षति भएपछि सत्तापलट भएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिएर गुमचुप भएका छन । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, झलनाथ खनाल पनि सार्वजनिक भएका छैनन तर पुष्पकमल दाहाल, माधव नेपाल भने सार्वजनिक भएका छन् । तिनै ठूला दलका नेता कार्यकर्ता यतिखेर फेरी सलबलाउन थालेका छन् । नयाँ सरकार बनेको हप्तादिन नहुँदै उच्छृंखलता देखाइरहेका छन् । एउटा समूहको आन्दोलनलाई तिरस्कार गर्ने, पुनः द्वन्द्व निम्त्याउने र देशलाई फेरी अराजकतातिर धकेल्ने खालका अभिव्यक्तिहरु दिइरहेका छन् । आन्दोलनरत पक्षधरहरुले परिवर्तनको अवसरको रुपमा प्रयोग गर्न आग्रह गरिरहँदा ठूला दलका ठूलै ओहदामा रहेकाहरु भने समाज भड्काउने र द्वन्द्व पुनः निम्त्याउने बाटोमा अग्रसर देखिन्छन ।
फलानो फलानो आउ, को को छौ आउ, यो आन्दोलनकारी आतंककारी हो । भुतको फिल्म हो जस्ता अशोभनीय र उच्छृंखल अभिव्यक्तिका विरुद्धमा फेरी आन्दोलनरत पक्षबाट पनि यदाकदा चुनौतिका भिडियोहरु सार्वजनिक भईरहँदा अराजकतामा चलेको देशमा आन्दोलनपछि शान्तिको महसुस गरिरहेका आम नेपालमा दलीय राजनीतिले पुनः अशान्त बनाउँला कि भन्ने त्रास पुनः फैलिन थालेको छ ।
हिजोसम्म सत्तामा रहेका दल र तिनकै विरुद्धमा भएको आन्दोलनको मर्म बुझेर राष्ट्रपतिबाट सहज अवतरण गराएको राजनीतिक परिदृश्य बिगार्ने प्रपञ्च हुन दुःखद छ । सरकार बनेको छ । ६ महिनाको म्याण्डेट छ । निर्वाचन गराउनुपर्ने बाध्यता छ । यो अवस्थामा अब परिवर्तनका पक्षधरको मर्म र भावना अनुसार चल्न सबै दलसम्बद्ध नेताहरु परिवर्तन र परिमार्जन गर्नेतर्फ अग्रसरता देखाउनुपर्दछ । आ–आफ्ना दललाई जनताको माझमा लैजानका निम्ति पार्टी पुर्नसंरचना गरी जनताले सहज मान्ने नेतृत्व चयन र नियम, विनियमहरु परिवर्तन गर्नुपर्ने अहिलेको आवश्यकता हो । फेरी उही प्रवृत्ति दोहो¥याउन उदण्डता देखाउनु हिजोकै संस्कृति पुनःजागृत गराउन खोज्नु किमार्थ जनताका निम्ति स्वीकार्य र सैह्य हुँदैन । जनताले खोजेको परिवर्तन अनुसार दलहरु अब बदलिनै पर्दछ । नेतृत्व परिवर्तन गर्नै पर्दछ । आन्दोलनरत पक्षधर राखेका मागहरु सम्बोधन गर्न संविधान संशोधनमा जानै पर्दछ । भ्रष्टाचार विरुद्ध पनि उनीहरु उभिएकै हुनुपर्दछ, सुशासनको पक्षमा उभिएको हुनुपर्दछ । यो आन्दोलनको म्याण्डेट हो । यो म्याण्डेटभन्दा बाहिर जाने छुट अब कसैलाई छैन र हुँदैन ।
दलहरुमा नयाँ चेतना जागृत भएको हो वा सुध्रिनुपर्दछ, हाम्रै कारणले देश अशान्त बनेको छ भन्ने लागेको हो भने यो सरकारलाई सहयोग गर्दै संयमताका साथ राष्ट्रिय एकताका पहल गर्नु जरुरी देखिन्छ । संयमता र एकता अहिलेको अपरिहार्य आवश्यकता हो । यसलाई टेकेर आमुल परिवर्तनको पक्षमा उभिएर सम्बद्ध सबै अगाडि बढ्नु जरुरी छ । संवैधानिक परिधिमा रहेर समयसीमाभित्र नयाँ सरकार पुनस्र्थापित गराउने उद्देश्य अबका सम्बद्ध सबै राजनीतिक दलहरुको उद्देश्य बन्नुपर्दछ । यदि छ महिनाभित्र पनि निर्वाचन हुन सकेन र देश पुनः अन्योलतातिर धकेलिने अवस्थालाई नजरअन्दाज गर्न पनि मिल्दैन । यो असामान्य परिस्थितिमा अब पनि अहंकार, घमण्ड र दम्भ देखाउन थालियो भने यस्तो विद्रोह फेरी नहोला भन्न सकिने अवस्था छैन । अब कुनै पक्षधर नभई नेपाली जनता, नेपाली आमा पक्षधरमा उभिएर राष्ट्र, राष्ट्रियता, सार्वभौतिकता र राष्ट्रिय अखण्डताका पक्षधर एक भई यो विषय परिस्थितिबाट राष्ट्रलाई त्राण दिनुपर्दछ । चाडपर्व नजिकिएको बेलामा जनतामा आशा र भरोसा दिलाउँदै दल सम्बद्ध नेता, कार्यकर्ताहरु अगाडि बढ्नुपर्ने देखिन्छ । सबैले बेलैमा सोच्नुपर्ने बेला आएको छ ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो