नोबेल अस्पताल आसपासका सात फार्मेसी सिल, ठगी र अनियमिततामाथि कारबाही

खगेन्द्र कार्की

विराटनगर /  बिरामीसँग ठगी र औषधि कारोबारमा अनियमितता गरेको आरोपमा विराटनगर–४ स्थित नोबेल शिक्षण अस्पताल आसपासका सात फार्मेसीमा शुक्रबार ताला लगाइएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ र औषधि व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले गरेको आकस्मिक अनुगमनपछि सो कारबाही गरिएको हो।

अनुगमनका क्रममा कानुनविपरीत औषधि बिक्री, बिना दर्ताका विदेशी औषधि राख्ने, म्याद सकिएका औषधि बिक्रीका लागि तयारी अवस्थामा राख्ने तथा चिकित्सकले नलेखेका औषधि जबर्जस्ती बिरामीलाई थमाउनेजस्ता गम्भीर अनियमितता फेला परेका थिए। साथै मूल्यमा मनपरी असुली गर्ने र बिरामीलाई आवश्यक नपर्ने औषधि किन्न बाध्य बनाउने कार्य पनि देखिएको प्रशासनले जनाएको छ।

अनुगमन टोलीले एकैपटक अस्पताल नजिकका १४ वटा फार्मेसी जाँच गरेको थियो, जसमा तीव्र अनियमितता भेटिएका सात फार्मेसी तत्काल सिल गरिएको हो। सिल गरिएका फार्मेसीहरूमा सीताराम, छिन्नमस्ता, धनगढी माई मेडिकल, सुसंस्कृति, गोल्ड, मित्र र आविष्कार रहेका छन्।

औषधि व्यवस्था विभागका सूचना अधिकारी दीपेन्द्र खड्काका अनुसार यी फार्मेसीहरूले औषधि बिक्रीसम्बन्धी आधारभूत कानुनी मापदण्ड पनि पालना नगरेका थिए। विशेषगरी मित्र फार्मेसीमा बिरामीलाई अनावश्यक औषधि थमाइएको, बढी मूल्य लिइएको र गलत परामर्श दिइएको प्रमाण भेटिएको उनले बताए।

बिरामी र उनीहरूका आफन्तबाट निरन्तर गुनासो आएपछि प्रशासनले यो कदम चालेको हो। सरकारी निकायको तत्कालीन कारबाहीप्रति स्थानीयवासी र बिरामीका आफन्तहरूले स्वागत गरेका छन्। प्रशासनले औषधि ऐनअनुसार थप अनुसन्धान गरी आवश्यक कारबाही अघि बढाउने र अस्पताल वरपरका स्वास्थ्य व्यवसायमा नियमित अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया