इटहरी । सुनसरीको रामधुनी नगरपालिका–७ स्थित चौसठ्ठी बिघा क्षेत्रमा रहेको रास ताल इलाकामा “एकिकृत विपद् प्रतिकार्य अभ्यास मनसुन–६” सम्पन्न भएको छ।
श्री पूर्वी पृतना मुख्यालय अन्तर्गत श्री नं. २ बाहिनी अड्डाको आयोजनामा सम्पन्न उक्त अभ्यासमा मोरङ र सुनसरी जिल्लामा तैनाथ नेपाली सेनाका गण, गुल्म तथा सैनिक अस्पताल इटहरीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, जिल्ला रेडक्रस सोसाइटी लगायत विभिन्न सरोकारवाला निकायहरूको सहभागिता रहेको थियो। कार्यक्रम पूर्वी पृतनापति उपरथी गौरव कुमार के.सी. को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।
निकट भविष्यमा सम्भावित मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै मोरङ र सुनसरीका तटीय क्षेत्रमा हुन सक्ने जोखिम न्यूनीकरण तथा उद्धार कार्यमा विभिन्न सुरक्षा निकायबीच समन्वय र कार्यसम्पादन प्रभावकारी बनाउने उद्देश्यले अभ्यास सञ्चालन गरिएको आयोजकले जनाएको छ।
अभ्यासका क्रममा नेपाली सेना तथा अन्य सुरक्षा निकायहरूले संयुक्त रूपमा तीव्र बहावयुक्त नदीमा खोज तथा उद्धार, गोताखोरीमार्फत खोज तथा उद्धार, डोरीको सहायताबाट उद्धार, भत्किएका संरचनाबाट खोज तथा उद्धार, आगलागी नियन्त्रण तथा बहुसंख्यक घाइतेको उद्धार सम्बन्धी अभ्यास प्रदर्शन गरेका थिए।
कार्यक्रम अवलोकनका लागि कोशी प्रदेश सुरक्षा समितिका पदाधिकारी, मोरङ र सुनसरीका सुरक्षा समिति, स्थानीय तहका जनप्रतिनिधि तथा विभिन्न विद्यालयका करिब १०० विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
समापन मन्तव्यका क्रममा प्रमुख अतिथि उपरथी गौरव कुमार के.सी.ले विपद्का बेला पहिलो २४ घण्टा अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्दै स्थानीय समुदायलाई “प्राथमिक उद्धारकर्ता” का रूपमा सक्षम बनाउन आवश्यक रहेको बताए। उनले समुदायस्तरमा उद्धार सम्बन्धी सीप, सचेतना र क्षमता अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरे।
अभ्यासपछि सहभागी पदाधिकारीहरूले कोशी नदीअन्तर्गत बोराबाध, रासताल, प्रकाशपुर तथा कोशी कटान क्षेत्रको स्थलगत निरीक्षण समेत गरेका थिए।
सुप्रिया राई
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो