प्रधानमन्त्री प्रचण्डलाई धोका नदिने कांग्रेस नेता विश्वकर्माको भनाई

खगेन्द्र कार्की

फामिने संवाददाता

झापा । नेपाली कांग्रेसका नेता मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री प्रचण्डलाई कुनैपनि हालतमा धोका नदिने बताउनुभएको छ । 

आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि बताउनुभयो । उहाले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने जानकारी दिनुभयो ।

त्यस्तै नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गर्नुभयो । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उहाको भनाइ छ ।

त्यस्तै नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने जिकिर गर्नुभयो । उहाले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास व्यक्त गर्नुभयो ।

साक्षात्कारमा जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको र अहिलको नयाँ गठबन्धन देशको हितमा रहेको बताउनुभयो । 

खगेन्द्र कार्की
प्रतिक्रिया