वर्षा र बाढीले जनजीवन कष्टकर
इटहरी । केही महिनादेखि लगातार वर्षा र बाढीका कारण पूर्वी पहाडी जिल्लाको जनजीवन कष्टकर बनेको छ । बाढीले विभिन्न पुल र कलभर्ट बगाउँदा अत्यावश्यकीय सेवा प्रवाहमा समेत कठिनाई छ ।
ताप्लेजुङ र पाँचथरको सिमाना भई बग्ने इन्द्रावती खोलाले मोटरेवल पुलमा क्षति पु¥याउँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध बनेको छ । शुक्रबार इन्द्रावती खोलामा आएको बाढीले मोटरेवल पुलमा क्षति पु¥याउँदा यातायात सेवा अवरुद्ध भएको हो । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ साब्लाखु र पाँचथरको याङ्वरक गाउँपालिका–४ थर्पु जोड्नेगरी इन्द्रावती खोलामा निर्माण गरिएको मोटरेवल पुलमा बाढीले क्षति गरेको हो । साब्लाखुका स्थानीय सञ्जय पन्दाकका अनुसार शुक्रबार राति इन्द्रावती खोलामा आएको बाढीले पुलमा क्षति पु¥याएको हो । बाढीले मोटरेवल पुलको साब्लाखुतर्फको भागमा क्षति गरेको पन्दाकले जानकारी दिएका छन् । उनका अनुसार पुलको पक्की संरचना पनि निकै जोखिममा रहेको छ । पुलमा क्षति भई सडक अवरुद्ध हुँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका क्षेत्र र सिरिजङ्घा गाउँपालिकाको वडा नं. ७ खेवाङ र वडा नं. ८ याम्फुदिनबाट सञ्चालन हुने लामो तथा छोटो दूरी यातायात सेवा ठप्प भएको छ । सिदिङ्वा गाउँपालिकाकी उपाध्यक्ष कृष्णकुमारी कडरिया (बन्दना) का अनुसार बाढी पुलमा क्षति गरेपछि सिदिङ्वाका विभिन्न वडाबाट सदरमुकाम फुङ्लिङ र लामो दूरीतर्फ पाँचथर, इलाम हुँदै अन्यत्र जाने सवारी साधन रोकिएका हुन् ।
यस्तै पाँचथरमा पनि अविरल वर्षापछि आएको बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिका–१ र २ मा ठुलो क्षति पुगेको छ । यस क्षेत्रमा शुक्रबार साँझ भारी वर्षा भएको थियो । वर्षापछि आसपासका खोला–नालामा आएको बाढी र पहिरोले सडक, पुल–पुलेसा तथा सर्वसाधारणका घरमा क्षति पु¥याएको हो ।
दोभाने खोला, तमोर खोला तथा मध्यपहाडी राजमार्ग आसपासका क्षेत्रमा आएको बाढीले निर्माणाधीन मोटरेबल पुल बगाएको स्थानीय प्रशासनले जनाएको छ । पाँचथर र तेह्रथुम जोड्ने तमोर नदीमा निर्माणाधीन लिम्बुनी पुलका सबै संरचना बाढीले बगाएको बताइएको छ । बाढीका कारण याङवरक क्षेत्रको दोभाने खोलामा सञ्चालित जलविद्युत् आयोजनासहित विभिन्न संरचनामा क्षति पुगेको जनाइएको छ । यस्तै माथिबाट खसेको पहिरोले याङवरक–३ र ७ को सीमावर्ती लाम्वाखोला ढाँड–एकराते क्षेत्रमा दुईवटा घर बगाएको छ ।
स्थानीय ममलाल खवास र कविन्द्र खवासको घर पहिरोसँगै बगेको जनाइएको छ । प्रभावित परिवार सुरक्षित स्थानतर्फ सरेका छन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी अनिषकुमार कर्णका अनुसार निरन्तर वर्षा र टेलिफोन सम्पर्क अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण सङ्कलन गर्न कठिनाइ भएको थियो । बाढीले याङवरक–१, २ र ३ का विभिन्न खोलामा रहेका झोलुङ्गे तथा पक्की पुलमा पनि क्षति पु¥याएको छ । उता, सडकमाथिबाट खसेको पहिरोका कारण मध्यपहाडी राजमार्गअन्तर्गत च्याङथापु–थर्पु सडकखण्ड अवरुद्ध बनेको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो