प्रतिपक्षीको अडान यथावत, संसद् बैठक अनिश्चित

खगेन्द्र कार्की

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) सहितका दलहरूले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआएसम्म संसद् बैठक चल्न नदिने अडान यथावत राखेको छ ।

बुधबार दिउँसो १ बजे बस्ने गरि डाकिएको प्रतिनिधिसभाको बैठक निर्धारित समयमा बस्ने अवस्था नभएपछि सभामुख देवराज घिमिरेले गरेको मुख्य दलका प्रमुख सचेतकहरूसँगको छलफलमा माओवादी केन्द्रले आफ्नो अडान नछाडेको हो ।

बैठकमा सहभागी माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणमा मुछिएर गम्भीर प्रश्न उठिसकेपछि गृहमन्त्री लेखकको राजीनामा नआएकाले संसद् बैठक चल्न नसक्ने धारणा राखेका हुन् ।

सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले गृहमन्त्रीले राजीनामा दिनुपर्ने प्रतिपक्षीको अडान र पहिले संसद्मा बोल्न दिनुपर्ने सत्ता पक्षको अडानका कारण कुरा मिनल्न नसकेको जानकारी दिए ।

विपक्षी दलहरूले गरेको अवरोध खुलाउने विषयमा घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग बुधबार दिउँसो छलफल गरेका हुन् ।

तर दुवै पक्षले अडान नछाडेपछि बुधबार दिउँसो १ बजे बस्ने भनिएको संसद् बैठक अनिश्चित भएको हो । प्रमुख सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसद्मा बोल्न पाउनुपर्ने अडान लिइरहेका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया