इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीले १३ गतेको संसद बैठक सामान्य नहुने बताएको छ । गृहमन्त्री रमेश लेखक मुछिएको प्रकरणबारे कडा रूपमा प्रस्तुत हुने संकेत रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले गरे । ‘१३ गतेको संसद बैठक सामान्य हुँदैन,’ उनले भने । रास्वपा केन्द्रीय समितिको बैठकबारे उनले जानकारी दिँदै संसद्मा रास्वपाले यो विषय उठाउने बताए ।
सो पार्टीले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पन्छिन नमिल्ने बताएको छ । गृहमन्त्रीले संगलग्ता पुष्टि भए राजनीति छाड्ने नभई जेल जानुपर्ने झाले बताए । ‘प्रमाणित भए राजनीति छाड्ने होइन, जेल जाने हो । प्रमाणित भएपछि जेल त जानैपर्छ । त्यसका लागि राजनीति नछाडी हुँदै हुँदैन ।’
रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा सहकारी प्रकरणमा मुछिएपछि काङ्ग्रेसले उनको राजीनामा मागेको थियो । त्यसबेला प्रतिपक्षी बेन्चमा रहेका लेखकले विभिन्न उदाहरण दिँदै लामिछाने पदमा बस्न नमिल्ने बताएका थिए । ‘उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपचलन गर्ने, ठगी गर्ने, दुरुपयोग गर्ने विषयमा उहाँको संलग्नता छ । यसै सदनले यसभन्दा पहिला स्थापित गरिसकेको विषय कुनै पनि माननीय मन्त्रीजी यदि कुनै अनुसन्धानको घेरामा आउनुभो, प्रश्न उठ्यो, राज्यको सक्षम निकायले अनुसन्धान गर्नुपर्ने स्थिति भयो भने त्यस्तो माननीय मन्त्रीजी मन्त्रीको पदमा रहन पाउँनुहुन्न । रहनुहुन्न ।’
त्रुटि कर्मचारीबाट भए पनि त्यसको जिम्मेवारी गृह प्रशासन सम्हाल्ने व्यक्तिले नै लिनुपर्ने झाको भनाइ छ । ‘बदमासी त कर्मचारीबाटै हुन्छ नि ! उहाँ आफैं गएर त्यहाँ टाँचा लगाउने त होइन । कसको कार्यकालमा भयो ? उसको सरुवा कसले गरायो ? सरुवा गराउँदा कार्यविधि मिलेको थियो कि थिएन ? भन्ने कुरा आउँछ,’ उनले भने, ‘टाँचा लगाउने काम मेरो होइन त्यसकारण संलग्नता थिएन भन्न मिल्दैन ।’
नयाँ दलका मानिस आरोपित हुँदैमा जेल जानुपर्ने र पुराना दलका मानिस यत्तिकै रहने परिपाटी मुलुकमा हुन नदिने रास्वापाको भनाइ छ । ‘नयाँ दलका मानिस आरोपित हुँदैमा प्रमाणित नहुँदैमा जेल जानुपर्ने, पुराना दलका मानिस पदमा बसिरहेन कुरा मिल्दैन,’ झाले भने, ‘कि त पुराना दलका मानिसलाई नियम कानुन लाग्दैन भन्नुप¥यो,’ उनले भने ।
यसैबीच रास्वपालाई संसदमा सघाउन राप्रपा तयार रहेको जनाएको छ । गृहमन्त्री लेखकको मात्र नभएर प्रधानमन्त्रीको समेत राजीनामा माग गर्नुपर्छ राप्रपाका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र बहादुर शाहीले भने ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो