मेयर हर्क साम्पाङको भनाइ: "देश बनाउने हो भने श्रम संस्कृतिमा जुट्नुपर्छ"

सुप्रिया राई

इटहरी । भ्रष्टाचारविरुद्धको कडा आवाज र सुसासनको पक्षमा लामो समयदेखि सक्रिय धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले देशको राजनीतिक प्रणालीले आम नागरिकलाई श्रम बेच्न विदेश जान बाध्य बनाएको टिप्पणी गरेका छन्।

इटहरी उपमहानगरपालिका–२० स्थित तरहरामा आयोजित एक भेटघाट कार्यक्रममा बोल्दै साम्पाङले भने, “देशको राजनीतिक प्रणाली ठीक छैन। यसैले हामी आफ्नो श्रम विदेशमा बेच्न बाध्य भएका छौं। अब देश बनाउन, बचाउन र समृद्ध बनाउने हो भने श्रम संस्कृतिमा जुट्न सबै एकजुट हुन आवश्यक छ।”

साम्पाङले आफू विगत १५ वर्षदेखि सुसासनको पक्षमा र भ्रष्टाचारको विपक्षमा बोलेको भन्दै, “सारो छु, साँचो छु, रुखो छु तर झूटो बोल्दिन,” भन्ने अभिव्यक्ति दिए।

उनले अभिव्यक्ति स्वतन्त्रता र नागरिकको आवाज सुन्ने अधिकारको संरक्षणमा जोड दिँदै भने, “यदि बोल्न र सुन्न पाउने अधिकारमा अंकुश लाग्यो भने शासन सत्ता पल्टिन्छ। पृथ्वी रहेसम्म ‘नेपाल’ भन्ने देश रहिरहोस्।”

कार्यक्रममा धरान भूतपूर्व सैनिक संघका अध्यक्ष कर्णेल विजय राई, ब्रिटिस आर्मी अभियानकर्ता रामप्रसाद राई, उपाध्यक्ष किशोर कुमार राईलगायत विशिष्ट अतिथिहरुले हर्क साम्पाङको श्रम संस्कृतिमा आधारित अभियानप्रति समर्थन जनाएका थिए।

भुपु सैनिक तरहराका अध्यक्ष धन कुमार राईको सभापतित्वमा  सम्पन्न उक्त कार्यक्रममा इटहरी, धरान, झापा, मोरङ लगायतका विभिन्न स्थानबाट हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो।

सुप्रिया राई
प्रतिक्रिया