आजका संक्षिप्त खबरहरु : झापाका ताजा समाचारदेखि काठमाडौंको खबरदारीसम्म

खगेन्द्र कार्की

झापाको दमकमा निरौलाको हत्या, सोमबार १२ बजेसम्मको समयसीमा

झापाको दमक ९ का देशु निरौलाको हत्या प्रकरणमा जोडिएका सबैलाई राजनीतिक दबाब र प्रभावमुक्त भएर कारवाहीको दायरामा ल्याउन माग गर्दै शनिबार पनि जारी विरोधका कार्यक्रमलाई निरन्तरता दिएका छन् । निरौला हत्यामा संलग्न मुख्य आरोपीहरुलाई पक्राउ गर्न प्रहरीले ढिलाई गर्दा पीडित तथा न्यायका लागि आन्दोलित सर्वसाधारणहरुले पाँचौ दिनसम्म पनि निरन्तर प्रदर्शन जारी राखेका हुन् 

दुर्घटनाबाट झापामा ५ जनाको मृत्यु

झापा जिल्लामा सवारी दुर्घटना बढ्दोक्रममा रहेको देखिन्छ । कात्तिकको सुरुदेखि शनिबारसम्ममा ४७ वटा दुर्घटना भएका छन भने ५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा ४ पुरुष र एक बालिकाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जिल्लामा यो अवधिमा २ वटा ट्रक, ३ वटा बस, ६ वटा कार जिप, २ वटा ट्याक्टर, ९ वटा टेम्पो, २१ वटा मोटरसाइकल र ४ वटा अन्य सवारीका साधन दुर्घटना भएका थिए । बढ्दो सवारी दुर्घटना पछि जिल्ला यातायात व्यवस्थापन समितिले झापामा टाइम कार्ड लगाउने तयारी गरेको छ । कार्तिक महिनाको दश गते सम्म दुर्घटनाबाट ६ जना गम्भीर घाइते र ४९ जना सामान्य घाइते भएका छन् ।

काँकरभिट्टाबाट पर्यटक आगमन बढ्यो

झापा÷ पूर्वीनाका काँकरभिट्टाबाट पर्यटकको आगमन बढेको छ । विगत दुई महिनामा यहाँबाट आठ सय ९० जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकरभिट्टाले जनाएको छ । कोरोना महामारीपछि चार वर्षसम्म अवरुद्ध रहेको पर्यटक आवागमन दुई महिनाअघि मात्र खुल्ला भएको थियो । सन् २०२४ को सेप्टेम्बर महिनामा यस नाका भएर दुई सय ८७ जना तेस्रो मुलुकका नागरिक नेपाल प्रवेश गरेको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख तुलसी भट्टराईले बताए ।

बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या

यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा परेका छन् । यो सिजनमा धमाधम कुरिलो बजार निकाल्ने बेला बोट मर्ने र सुक्ने कारणले उत्पादन शुन्यमा झरेको किसानले गुनासो पोेखेका छन् । झापाका विभिन्न पालिकामा व्यवसायिक रुपमा थालिएको कुरिलो खेतीले यो बर्ष घाटा व्यर्होनु पर्ने अवस्था सृजना भएको छ । झापाको दमक नगरपालिका दमक वडा नं. ३ का किसान चिरञ्जीवि घिमिरेले झण्डै ४ विगाह क्षेत्रमा कुरिलो खेती गर्दै आएका छन् । गत बर्ष यो सिजनमा राम्रो उत्पादन हुँदै आएको कुरिलो यो बर्ष अधिक गर्मीसँगै आएको भारी बर्षाले उत्पादन हुन नसकेको उनले बताए । घिमिरेका अनुसार अघिल्लो बर्ष यो बेला दैनिक ५० केजीसम्म उत्पादन भएको कुरिलो यो बर्ष शुन्य जतिकै भएको छ ।

बन्धक बालिकाको तीनदिन पछि उद्दार

तीनदिनदेखि बन्धक बनेकी विराटनगरकी एक चार वर्षीय बालिकाको स्थानीय प्रशासनले उद्धार गरेको छ । गत मंगलबारदेखि विराटनगर ९ भानुटोलका ३२ वर्षीय सुनिल सहनीले आफ्नै ४ वर्षीया छोरीलाई केही पनि खान नदिई घरबाट बाहिर पनि जान नदिई बन्धक बनाएको प्रहरीको दाबी छ । ती बालिकाको शुक्रबार साँझ भने सकुशल उद्धार भएको छ ।  छोरीलाई लिएर घरको कोठाभित्र बसेका सुनीलले कसैलाई पनि प्रवेश नगर्न र गरेमा छोरीलाई मारिदिने भन्दै धम्की दिएका थिए । ‘घरको कोठाभित्र छोरीलाई लिएर बसेका थिए । उनको हातमा सानो चक्कु पनि थियो । कोही आएमा छोरीलाई मारिदिने र आफू पनि मर्छु भनेर भन्थे,’ मोरङका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले भने । यद्यपि सहनीलाई फकाएर ढोकाको माथि पट्टिको खाली ठाउँबाट छोरीलाई निकाल्न सफल भएको उनको भनाइ छ ।

१३३ सडकआश्रित मानवको उद्दार

मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको बाह्रौँ दिन शनिबारसम्म १ सय ३३ जना सडकआश्रित मानवहरुको उद्धार गरिएको छ । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शुक्रबार रुपन्देही बुटवल उपमहानगरपालिका –९ बाट ५ जना, देवदह नगरपालिकाबाट–७ बाट ४ जना र नवलपरासी पश्चिम सुनवल नगरपालिका–३ बाट २ जना, प्रतापपुर गाउँपालिका–२ बाट २ जना गरि १३ जना सडकआश्रित मानवहरुको  उद्धार भएको मानवसेवा आश्रमका संस्थापक  अध्यक्ष रामजी अधिकारीले बताए ।



खबरदारी सभा

प्रमुख प्रतिपक्षीदल नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध काठमाडौँमा शक्ति प्रदर्शन गर्दै खबरदारी गरेको छ । शनिवार काठमाडौँमा सडक प्रदर्शन गर्दै माओवादी केन्द्रले सरकारका कामकारबाहीको आलोचनासहित खबरदारी गर्दै आफ्नो दलको नीतिबारे थप प्रस्ट पार्ने प्रयास गरेको छ । 

सहकारी पीडित

 रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ बस्ने प्रेम घिमिरेले बुटवलको कालिकानगरमा किराना पसल सञ्चालन गरेका छन् । सोही पसलबाट दैनिक बचत हुने रकम उनले बुटवलको सुप्रिम सहकारीमा जम्मा गर्दै आएका थिए ।

कलाकार

फिल्म ‘१२ गाउँ’की अभिनेत्री हुन् सनिशा भट्टराई । करिब दुई दर्जन म्युजिक भिडियोमा अभिनयपछि फिल्ममा होमिएकी उनको ‘१२ गाउँ’ डेब्यु फिल्म हो । ‘१२ गाउँ’ले बक्सअफिस तताइरहँदा सनिशा पनि चर्चामा छिन् ।

अक्टोबर १ को बदला

 इजरायली सेना (आईडीएफ) ले इरानी सैन्य लक्ष्यहरूमा आफ्नो आक्रमण अब समाप्त भएको बताएको छ। आईडीएफले एक विज्ञप्ति जारी गर्दै सेनाले इरानका धेरै क्षेत्रमा आफ्नो सटीक हमला पूरा गरेको जानकारी दिएको हो ।  ‘अहिले हाम्रा विमानहरू सकुशल घर फर्किएका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

बाबुरामका कुरा

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबारे सन्देहपूर्ण धारणा राखेका छन् । बालेनले आगामी २०८४ सालको निर्वाचन अगाडि पार्टी खोल्न सक्ने टीकाटिप्पणी हुने गरे पनि बालेनको लोकप्रियताका बिच आफूले उनको वास्तविकता बुझ्न नसकेको भट्टराईको धारणा छ । 

एनआरएनए विवाद

एकता महाधिवेशन गर्न परराष्ट्र मन्त्रालयले पत्र पठाएकै समयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा पक्षले साधारण सभा गरेर छाड्ने घोषणा गरेको छ । २०७८ चैतदेखि विवादमा फसेको एनआरएनएलाई मिलाउन भनेर परराष्ट्रले सर्वोच्च अदालतको फैसलाअनुसार पूर्वअध्यक्ष शेष घले र सचिवालयलाई कात्तिक १ मा पत्राचार गरे पनि अहिले बालुवाटारस्थित सचिवालयबाट कामकारबाही गर्दै आएको बद्री केसी पक्षले साधारण सभा रोक्न अस्वीकार गरेको हो ।

प्रदेश सम्मेलन

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी मङ्सिर मसान्तसम्म सबै प्रदेश सम्मेलन सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टी सचिव सोमप्रसाद पाण्डेयले हाल कायम रहेको प्रदेश कमिटीलाई  सम्मेलन सम्पन्न गर्न पत्राचार गरिएको जानकारी दिए ।

लिग–२ क्रिकेट

अमेरिका जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ क्रिकेट शृङ्खलाका लागि नेपाली टोलीको घोषणा भएको छ । यो शृङ्खलामा नेपाल र अमेरिकासँगै स्कटल्याण्डको पनि सहभागिता रहेको छ । शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान)ले कप्तान रोहित पौडेलको कप्तानमा नेपाली टोलीको घोषणा गरेको हो ।

विधेयक फिर्ता

कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता भएसँगै बागमती प्रदेशमा किसान परिचय पत्र वितरणदेखि कृषि उपजको समर्थन मूल्य तोक्ने विषय प्रभावित भएका छन् । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पुनर्विचारका लागि कार्तिक १ गते फिर्ता गरेका हुन् ।

भाइमसला

तिहारका लागि १ अर्ब बराबरको भाइमसला आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार असोज मसान्तसम्ममा १ अर्ब ११ करोड ७ लाख १० हजार रुपैयाँको काजु, बदाम, ओखरलगायतका भाइमसलामा प्रयोग हुने ड्राईफुट्स आयात भएको हो 

खगेन्द्र कार्की
प्रतिक्रिया