श्रीमतिको हेरचाहमा पूर्वमन्त्री पण्डित : इमानमा बाँचेका राजनीतिज्ञको दिनचर्या दयनीय, उपचार गर्ने रकम छैन

खगेन्द्र कार्की

इटहरी । ‘सुख धेरै दिन सकिनँ, तर माया दिएकै छु। दुःखमा सँगै त छौँ! पिर नगर्नू है?’ पुर्वमन्त्री लालबाबु पन्डित भावुक स्टाटस सामाजिक सञ्जालमा लेखे । 

कुनै समय चर्चित एमाले नेता एवं पूर्वमन्त्री लालबाबु पण्डित अहिले गुमनामजस्तै छन्। राजनीतिमा उनको उपस्थिति क्षीण भए पनि, सामाजिक सञ्जालमा बेलाबेला सार्वजनिक हुने उनका भावुक पोस्टहरूले धेरैको ध्यान खिचेको छ। केही दिनअघि मात्र उनले एउटा छोटो भिडियो सेयर गर्दै लेखे– ‘सुख धेरै दिन सकिनँ, तर माया दिएकै छु। दुःखमा सँगै त छौँ! पिर नगर्नू है?’

भिडियोमा उनी ह्विलचियर धकेल्दै अघि बढिरहेका थिए, जहाँ उनकी जीवनसाथी विमला महत बसेकी थिइन्। विमला करिब डेढ वर्षदेखि मायसाइटिस रोगसँग लडिरहेकी छन्, जसले मांसपेसी कमजोर बनाउँदै शरीरलाई अशक्त तुल्याउँछ। यो रोग १०(१५ लाख मानिसमा कोही एक जनालाई हुने खालको असाध्यै दुर्लभ भएको चिकित्सकहरूको भनाइ छ। कहिलेकाहीँ उनको अवस्था नवजात शिशुजस्तै लाचार हुन्छ।

पण्डितका दिनहरू अहिले श्रीमतीको सेवामा बितिरहेका छन् । सानो परिवार, आर्थिक अभाव, महँगो उपचार– यी सबै चुनौतीका बाबजुद उनले श्रीमतीको हेरचाहमा कुनै कमी हुन दिएका छैनन् । ‘रोगले बढी च्याप्दा अस्पताल लैजानुपर्छ, अन्य समय घर नै अस्पतालसरह बनेको छ,’ उनी भन्छन्। उठाउने, सुताउने, खुवाउने, सरसफाइ गर्ने सबै जिम्मेवारी उनकै काँधमा छ ।

‘दिसापिसाब गराएर फाल्नुपर्ने, सरसफाइ गर्नुपर्ने, औषधि खुवाउने– यसैमा दिन बितेको पत्तै हुँदैन,’ उनी सुनाउँछन्। उपचारका लागि भएको रकम सकिएको छ, ‘यो डेढ वर्षको बीचमा ८ लाख खर्च भइसकेको छ । निजी ऋण २ लाख बढी भएको छ । खुद्राखुद्रीको त हिसाब गरेकै छैन । अझै कति लाग्ने हो हिसाबकिताब छैन ।’ काठमाडौँमा कोठाको बसाइँ, महँगो उपचार, आम्दानीको स्रोत छैन । भएको रकम उपचारमा गइसक्यो ।  अहिलेसम्म सबै उपचार सरकारी अस्पतालमै गरिएको छ । मिलेसम्म डाक्टरहरूले छुट गरिदिन्छन् । औषधीमा छुट दिएको बेलामा पनि उनी खुसी मान्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अन्य नेतासम्मले विमलाको स्वास्थ्यबारे चासो राखेका छन् । केही शुभेच्छुकहरूले कहिलेकाहीँ औषधि वा परीक्षण खर्च सहयोग गर्छन्, जसले पण्डितलाई केही राहत मिल्छ ।

राजनीतिबाट केही टाढिए पनि उनले सामाजिक सञ्जालमा लेखेको अर्को सन्देश गहिरो छ– ‘कहिलेकाहीँ लाग्छ, कसैकसैलाई सुख र खुसी धेरै नै टाढा छ कि?’

जीवनका हरेक उतारचढावमा उनले माया र समर्पणलाई कहिल्यै कम हुन दिएनन् । राजनीतिमा उनले जसरी सिद्धान्तको लडाइँ लडे, अहिले उनले श्रीमतीको जीवनका लागि त्यही दृढता देखाइरहेका छन– एक सच्चा जीवनसाथीका रूपमा ।

खगेन्द्र कार्की
प्रतिक्रिया