देश तथा विदेशमा चासोक तङ्नामको उल्लास

फाष्ट मिडिया नेपाल संवाददाता

दमक/ नेपालका विभिन्न भागमा किराँत लिम्बू समुदायले चासोक तङ्नाम (न्वागी पर्व) उल्लासपूर्वक मनाएका छन् । झापाको कमल, शिवसताक्षी, मोरङ, ललितपुरका विभिन्न ठाउँहरुमा सार्वजनिक कार्यक्रमको आयोजना गरी यो पर्व मनाइएको हो ।

उक्त समुदायले विविध मौलिक सांस्कृतिक गतिविधिसहित आइतबार चासोक तङ्नाम मनाएका हुन् । नयाँ अन्नबाली भित्र्याउने र उपभोग गर्न (खान थाल्ने) सुरु गर्ने समयको रूपमा चासोक तङ्नाम मनाएको लिम्बू समुदायले जनाएका छन् । लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ चाड वा पर्व हुन्छ ।

महान् चाड चासोक तङ्नाम पूर्वको १४ जिल्लाका लिम्बू समुदायले नयाँ बाली भित्र्याएको खुसीयालीमा चासोक तङ्नाम धूमधामसँग मनाएका छन् । झापा शिवसताक्षीको दूधेमा इलाम, पाँचथर, मोरङ्ग, झापा, सुनसरी लगायत जिल्लाबाट चासोक तङ्नाम मनाउन लिम्बू समुदायका मानिसहरु मौलिक भेषभुषासहित आएको आयोजक याक्थुङ चुम्लुङका अध्यक्ष विरबल जवेगुले जानकारी दिए । चासोकमामा दूधेस्थित नगरस्तरीय रंगशाला भरिभाराउ देखिएको थियो ।

चासोक तङ्नामको आइतबार संघीय सांसद एलपी साँवा लिम्बूले उद्घाटन गरे । उद्घाटनका क्रममा सांसद साँवाले लिम्बू समुदायको मौलिक पर्वको रुपमा मानिँदै आएको चासोक तङनाम पर्व पहिले घर घरमा मनाउने गरेको बताए । आफ्नो भाषा, संस्कृतिको विकास गर्ने क्रममा यसलाई सामाजिकरण गर्दै घर बाहिर सामूहिक रुपमा मनाउन थालिएपछि शिवसताक्षीमा यो पर्व साझा पर्वको रुपमा मनाउन थालिएको उनले बताए । सबै भाषा, धर्म र संस्कृति मान्ने मानिसहरु पनि चासोक पर्वमा उपस्थित भएर आफ्नो सहभागिता जनाएका थिए । त्यसैले यसलाई साझा पर्वको रुपमा मान्नु पर्छ ।

कार्यक्रममा लिम्बूले समुदायका नागरिकले आफ्नो मौलिक भेषभुषा र पहिरन लगाएर सहभागी भएका थिए भने अन्य समुदायका नागरिक समेत चासोक तङ्नाममा सहभागी थिए । याःलाङ (धान नाच), केःलाङ (च्याब्रुङ नाच), हाक्पारे, ख्याली (मौलिक गीत) जस्ता लिम्बूको संस्कार–संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुतिसहित चासोक तङ्नाम मनाएको चासोक पर्व मेला संयोजक अग्नी राईले जानकारी दिए ।

कार्यक्रममा नेपालकै ठूलो धाननाच समेत गरिएको छ । रंगशालाको ठूलो क्षेत्रफलमा तीन ओटा घेरा बनाई धान नचाइएको आयोजकले जनाएको छ । चासोक तङ्नामकै अवसर पारेर शिवसताक्षी निवासी यसै नगर भित्रबाटै अध्ययन सुरु गरी डाक्टर बन्नु भई देशका विभिन्न स्थानहरुमा स्वास्थ्य सेवा प्रवाह गरिहेका ५ जनालाई सम्मान गरिएको छ । उल्लासपूर्र्वक...लिम्बू समुदायबाट डाक्टर बन्न सफल डा. दिनेश नाल्बो, डा. मदन नेम्वाङ्ग, डा. सम्भुसेन तुम्बापो, डा. खुस्बु आङ्दाम्बे, डा. योगेश चेम्जोङलाई सम्मान गरिएको आयोजकले जनाएको छ । चासोक तङ्नाममा मौलिक खेल धनुषकाँड, छेलो लगायतका खेलहरु खेलाइएको छ । चासोक तङनाम सहितको मेलामा विभिन्न जातिय भेषभूषा, जातीय खानाको परिकार, लिम्बू जातिको संस्कृति जोडिएका सामाग्रीहरुको प्रदर्शन तथा बिक्री वितरण गरिएको थियो । चासोकमा राष्ट्रिय कलाकार दिपक लिम्बू, सुनिता थेगिम, सञ्चारकर्मी विश्व लिम्बू, पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफ्नो कला प्रर्दशन गरेका छन् ।

कार्यक्रमम शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष सन्त फेउदिन, नेपाली काँग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा माओवादी केन्द्रका अध्यक्ष महेन्द्र भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए । चासोक तङ्नामको औपचारिक कार्यक्रम समापन भएपछि पनि आइतबार राती १० बजेसम्म सांस्कृति कार्यक्रमहरु सञ्चालन गरिएको बताइएको छ । कार्यक्रमको सञ्चालन सूर्यप्रकाश योङ्याले गरेका थिए ।

राष्ट्रिय एकतालाई थप मजबुत बनाउने : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले विविधतायुक्त नेपाली समाजमा जातीय आपसी सद्भाव, सहिष्णुता र सांस्कृतिक भ्रातृत्वको भावना अभिप्रेरित भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । चासोक तङ्नाम अथवा उधौली पर्व २०८१ का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् । राष्ट्रपति पौडेलले किरात जातिहरु राई, लिम्बू, सुनुवार र याक्खाहरूले यो पर्वलाई परम्परागत भेषभूषाहरु लगाई आफ्नो पितृ अथवा तागेरा निङवाभूमाङ (कुलदेवता) लाई वर्षभरी उब्जाईको अन्नबालीहरुलाई चढाउने र वर्षभरी खाना पाइयोस् पुगोस्, अनिकाल नलागोस भनी पुजा गर्ने गरेको उल्लेख गरेका छन् । यस्तै यो पर्वमा आ–आफ्नो मौलिकता अनुसार केलाङ, चण्डी (सोकेला), डोकेनी नाच लगायतका परम्परागत नृत्यहरुको प्रस्तुतिसँगै विविध कार्यक्रम गरी मनाउने परम्परा रहेको राष्ट्रपति पौडेलको सन्देशमा भनिएको छ ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया