इटहरी । मुलुकभरका सञ्चार माध्यम तथा पत्रकारहरूको नियामक निकाय प्रेस काउन्सिल नेपालले विधिपूर्वक प्रेस स्वतन्त्रताको उपयोगमा अवरोध नगर्न आग्रह गरेको छ।
पछिल्लो समय सञ्चार माध्यमबाट सम्प्रेषित समाचार हटाउन भएको जिल्ला अदालतको आदेश, पत्रकारले प्रयोग गरेका सामाजिक सञ्जालमा राखिएका सामग्रीका विषय र पत्रकार पकाउ पूर्जीबारे आएका विषयवस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै काउन्सिलले प्रेस स्वतन्त्रताको उपयोगमा बाधा नपुर्याउन आग्रह गरेको हो।
बिहीबार काउन्सिलले एक विज्ञप्ति जारी गरी सञ्चार माध्यममा सम्प्रेषित सामग्रीबाट मर्का पर्ने पक्षले काउन्सिलमा उजुरी गर्न सक्ने र काउन्सिलको निर्णय चित्त नबुझेपछि अदालत जान सकिने भन्दै उसले आफ्नो क्षेत्राधिकारप्रति पनि ध्यानाकर्षण गराएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश पीताम्बर शर्माको इजलासबाट जेठ २७ गते एकतर्फी सुनुवाइका आधारमा यस नेपालखबर डटकम र बिजमान्ड डटकममा प्रकाशित समाचार हटाउन र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठका सम्बन्धमा थप समाचार नलेख्न आदेश भएको थियो।
एकपक्षीय सुनुवाइका भरमा गरिएको उक्त आदेश संविधानमै व्यवस्थित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी मौलिक हक तथा प्रेस काउन्सिलको क्षेत्राधिकारमाथिको अतिक्रमण ठहर गर्दै सञ्चार सम्बद्ध तथा अधिकारवादी संस्थाहरूले विरोध जनाएका छन्। देशभरका पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघले समाचार हटाउने संविधानविपरीतको आदेश पुनर्विचार गर्न आग्रह गर्दै विज्ञप्ति प्रकाशित गरिसकेको छ। महासंघले नेपाल बार एसोसिएसन लगायत विभिन्न पेसागत संघसंस्थासँगको सहकार्यमा अदालतको उक्त कदम सच्याउन उचित उपचारका लागि पहल गरिरहेको छ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो