शान्तिनगर फुटबल क्लब इटहरीको पोल्टामा बराहक्षेत्र चक्रघट्टीमा आयोजित आमन्त्रण गोल्डकपको उपाधि

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । इटहरीको शान्तिनगर फुटबल क्लबले बराहक्षेत्र चक्रघट्टीमा आयोजित वाईवाई तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि हात पारेको छ । ‘हाम्रो गोल दुव्र्यसन विरुद्धको बोल’ भन्ने नाराका साथ सुनसरीको बराहक्षेत्र ६ चक्रघट्टीमा भदौ २९ गतेदेखि जारी उक्त आमन्त्रण गोल्डकपको उपाधी शान्तिनगर फुटबल क्लबले जितेको हो । चक्रघट्टी फुटबल क्लबद्धारा आयोजित सो खेलमा शान्तिनगर फुटबल क्लब इटहरीले अनुभवी खेलाडीहरुको टिम घरेलु टिम बराहक्षेत्र ११ लाई १–० को गोल अन्तरले पराजित गरेको थियो ।

पहिलो हाफको ३० आँै मिनेटमा शान्तिनगर फुटबल क्लबका जर्सीनम्बर १६ का एकराज बुढाथोकीले जर्सीनम्बर ६ का उमेश कार्कीको पासमा हानेको सुट गोल नै निर्णायक गोलमा परिणत भएको थियो ।  निर्धारित समयमा घरेलु टिम वराहक्षेत्र ११ ले गोल फर्काउन नसक्दा शान्तिनगर फुटबल क्लबले १–० गोलले उपाधि हात पार्न सफल भएको हो । 

खेलमा दुबै टिमबीच कडा प्रतिस्पर्धा भए पनि बराहक्षेत्र ११ ले पाएको फ्रि किक र कर्नर किकको सदुपयोग हुन नसक्दा शान्तिनगर फुटबल क्लबले पहिलो हाफको ३० औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बन्दै वाइवाइ अन्तर्राष्ट्रिय गोल्ड कप जित्न सफल भएको हो ।  आजको खेलमा एकराज बुढाथोकी म्यान अफ द म्याच घोषित हुनुभयो । जितसँगै शान्तिनगर फुटबल क्लब इटहरीले दुई लाख नगदसहित गोल्ड कप जितेको छ भने उपविजेता वराहक्षेत्र ११ ले एक लाख राशीसहित ट्रफि, मेडल, प्राप्त गरेको छ । विजेता र उपविजेतालाई ट्रफि तथा पुरस्कार वराह क्षेत्रका नगर प्रमुख रमेश कार्की र उपप्रमुख नन्दकुमारी सुनुवारले प्रदान गरेका थिए ।  महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा भएको खेलमा नेपाल र भारतको गरी ८ टिमको सहभागिता रहेको थियो । -गोरखापत्रको सहयोगमा

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया