इटहरी । फागुन २१ का लागि तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा ग्रामिण क्षेत्रमा सामूहिक हत्याका शृंखला बढ्दै गएका छन् । त्यसैमा हरेक दिन कुनै कुनै रुपमा मानिसहरु अपराधका शिकार भईरहेको सन्दर्भमा यस्ता सामूहिक हत्याले आतंक शृजना गरेको छ । निर्वाचनको मुखमा त्रसित बनाएको छ । उम्मेद्वारहरु, दल तथा प्रतिनीधिहरु मत माग्न व्यस्त भएका छन् । तर यहि बेला विभिन्न स्थानमा श्रृङ्खलावद्ध अपराधका घटना हुन थालेपछि सुरक्षा चिन्ता बढाएको छ ।
बुधबार बिहान बारामा धारिलो हतियार प्रहार गरेर आमा–छोराको हत्या भयो । बुबासहित तीनजना घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीका ३२ वर्षीय रामेश्वर मण्डल र उनकी आमा ५२ वर्षीया सुमित्री देवीको हत्या भएको हो । बुवा जगरुक मण्डल गम्भीर घाइते छन् । एकजना व्यक्ति घरभित्र पसेर धारिलो हतियार प्रहार गरी अन्धाधुन्ध हतियार प्रहार गरेर ज्यान लिएको बाराका एसपी नरेन्द्र कुँवरले जानकारी दिए । घटना बिहान करिब ३ बजेको हो । घाइते तीन जनाको परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा उपचार भइरहेको छ । घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान सुरु गरेको छ । एकजना मान्छे राति घरभित्र पसेर अन्धाधुन्ध हतियार प्रहार गरेको भन्ने कुरा आएको एसपी कुँवरले बताए । थप अनुसन्धान प्रहरीले अघि बढाएको छ ।
यस्तै ओखलढुङ्गाको चिशंखुगढी–६ भदौरेमा मगर दम्पतीको हत्या भएको एक महिना बित्न नपाउँदै फेरि राई दम्पत्तिको बीभत्स हत्या भएको छ । सोही वडाको बोहोरे टोलका अन्दाजी ८१ वर्षीय चन्द्रविक्रम राई र उहाँकी धर्मपत्नी अन्दाजी ८० वर्षीय चन्द्रमाया राईको सोमबार राति हत्या भएको हो । पसल सञ्चालन गर्दै आएका राई दम्पतीको लुटपाटपछि हत्या गरिएको हुनसक्ने स्थानीयवासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार, घरको दोस्रो तलाको सुत्ने कोठाको खाटमा सिरक ओढेको अवस्थामा श्रीमानको शव र श्रीमतीको खाटको छेउ भुइँमा सिरक ओढेकै अवस्थामा मृतावस्थामा शव भेटिएको हो ।
उनीहरूको हत्या पश्चात् मृत्यु भएको खबर मंगलबार बिहान प्रहरी चौकी निशंखुलाई जानकारी प्राप्त भएको प्रहरी नायब उपरीक्षक मदन केसीले बताए । गत १५ पुसमा भदौरेको गैरीगाउँमा मगर दम्पत्तिको लुटपाटपछि हत्या गरिएको थियो । त्योभन्दा अगाडि असोज २६ गते सिद्धिचरण नगरपालिका– ४ चार्खुमा एकल महिला रत्नकुमारी कटवाल ९कार्की० को पनि हत्या गरिएको थियो । हत्यामा संलग्न भएको आरोपमा चार जना युवा, मिलन भन्ने सङ्गम राई, विनोद राई, प्रकाश भुजेल र दोर्जे भन्ने अशोक भुजेल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
फेरि त्यही ठाउँमा अर्का दम्पतीको उस्तै प्रकृतिमा हत्या गरिनुले आमनागरिकमा त्रास पैदा भएको छ । शृंखलाबद्ध रूपमा भएका हत्याका घटनाका कारण स्थानीयवासी त्रसित हुनाका साथै सुरक्षा चुनौती बढेको छ । गाउँघरमा हुने यस्ता खालका घटनाले नागरिकको सुरक्षामा चुनौती थपिएको भन्दै दोषी तत्काल पत्ता लगाई कारबाहीको दायरमा ल्याउन स्थानीयवासीले प्रहरीसमक्ष आग्रह गरेका छन् ।
चुनाव नजिकिँदै जाँदा आपराधिक घटनामा देखिएको वृद्धिले मुलुकको सुरक्षा अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ । जेनजी आन्दोलनका क्रममा लुटिएका सबै हतियार अझै फिर्ता नहुनु, कैयौं कैदी फरार अवस्थामा रहनु र लगातार जघन्य अपराधका घटना घटिरहनुले आम नागरिकमा भय र असुरक्षा बढाएको छ । यस्तो अवस्थामा सरकार र सुरक्षा निकायले लापरवाही होइन, उच्च सतर्कता र प्रभावकारी समन्वय देखाउनैपर्छ । निष्पक्ष निर्वाचन र नागरिकको जीवन–सुरक्षा सुनिश्चित गर्न तत्काल विशेष सुरक्षा योजना, कडा निगरानी र दोषीमाथि कठोर कारबाही अपरिहार्य भइसकेको छ ।
नक्कली नोटका कारोबारी सल्बलाए
चुनाव नजिकिएसँगै नक्कली नोटको कारोवारीहरु पनि सल्बलाएका छन् । यसै क्रममा रौतहटको सीमावर्ती क्षेत्रबाट नक्कली भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म गौरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुईजना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा नोटसहित उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको सितामढी पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र जिल्ला सितामढी सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय विक्रम कुमार पासवान रहेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरि अधिकारीले बताए । उनीहरूले प्रयोग गरेको विआर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । उनीहरूको साथबाट भारु २ हजार ५ सय रुपैयाँ बराबरका नक्कली ५०० दरको १ थान र २०० दरको १० थान नोट रहेका छन्। उनीहरूको साथबाट सक्कली भारु १७७ रुपैयाँ,मोटरसाइकल र दुई थान एन्ड्रोइड मोबाइल समेत बरामद गरिएको छ ।
चुनाव केन्द्रित सुरक्षा योजना
जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एवं प्रहरी उपरीक्षक बसुन्धरा खड्काले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा ‘एकीकृत सुरक्षा योजना’ लागू गर्ने तयारी भइरहेको जानकारी दिएकी छन् ।
हालै मात्र झापाको जिम्मेवारी सम्हालेकी खड्काले पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शान्ति सुरक्षा कायम गर्नु आफ्नो मुख्य प्राथमिकता रहेको स्पष्ट पारिन् । निर्वाचन सुरक्षालाई मजबुत बनाउन जिल्लामा थप १०० जना सुरक्षाकर्मी परिचालन गरिएको छ। उनीहरूलाई सडक, गाउँबस्ती र सुरक्षाका दृष्टिकोणले संवेदनशील मानिएका क्षेत्रमा खटाइएको छ ।
सुरक्षा संवेदनशीलता र उम्मेदवारको जोखिम मूल्याङ्कनका आधारमा प्रहरी परिचालन गरिने बताउँदै एसपी खड्काले कुनै उम्मेदवारले सुरक्षा चुनौती महसुस गरी निवेदन दिएमा तत्काल सुरक्षाकर्मी उपलब्ध गराइने प्रतिबद्धता जनाइन् ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो