दशैं सबैका लागि शुभ बनोस्

फाष्ट मिडिया नेपाल संवाददाता

विगत वर्ष झै यो वर्ष पनि नेपालको पवित्र र महान पर्व बडा दशैं हर्ष र उमंगसाथ घरघरमा भित्रिएको छ । सद्भाव, एकता र सत्यको विजयको रुपमा मनाइने १५ दिने यो पर्व आस्थाको प्रतिकका रुपमा पनि लिने गरिन्छ ।

पौराणिक कथाहरूमा दशैं पर्वका अनेकन महिमा छन् । यसको धार्मिक आस्था एकातिर छ । धर्मसंगै दशैंजस्ता पर्वलाई वर्षभरी कामको थकानबाट मुक्ति पाउन केही दिन रमाइलो गर्ने पर्वका रूपमा पनि व्याख्या गरेको पाइन्छ । जसले जसरी व्याख्या गरेपनि परापूर्वदेखि मनाइदै आएको यो पर्वलाई राज्यले समेत महत्व दिएको देखिन्छ । बडा दशैंको शुभ सन्देश भनेको आमनेपाली जनताबीच सद्भावना, मेलमिलाप, सहअस्तित्वबोध र ऐक्यवद्ध सांस्कृतिक चेतको जागरण नै हो । शान्ति, सुख र समृद्धिको मानवीय चाहना सामाजिक(सांस्कृतिक सद्भावबाट मात्र पूरा हुनसक्छ । वियोग र विछोडको अवस्थालाई संयोग र मिलनको अवस्थामा पुर्‍याउने र खराब प्रवृत्तिमाथि विजय प्राप्त गरी असल जीवनशैली अनुशरण गर्न प्रेरित गर्ने बडा दशैंको शुभ सन्देश सदा सर्वदा जीवनोपयोगी छ ।

भर्खरै देशमा राजनीतिक परिवर्तन भएको छ । जनताप्रतिको वितृष्णा विष्फोट भई जेन जी पुस्ताको आन्दोलनले शासकलाई विस्थापित गरेर अर्को सुशिला कार्की नेतृत्वको सरकार बनेको छ । ७० जना भन्दा बढी किशोरहरुको बलिदानको जगबाटबाट उभिएको यो सरकारलाई पूर्ण प्रेस स्वतन्त्रता, वाक स्वतन्त्रता, सुशासनयुक्त, भ्रष्टाचारमा शुन्य सहनशिलता, परदर्शिता, जवाफदेहितासहित जनताको सरकारका रुपमा हेरिएको छ । अरबौंको भौतिक संरचना समेत ध्वस्त भएका छन् । शान्तिसुरक्षामा चुनौति थपिएको छ । प्रहरी कार्यालयहरु ध्वस्त बनाइएका कारणले सुरक्षाकर्मी स्थापित गराउने प्रयासहरु भईरहेका छन् । प्रहरीको अनुपस्थितिमा सबैतिर टोलविकास संस्थाको माध्यमबाट युवाहरु आ(आफ्नो टोलको सुरक्षामा आफै खटिएका छन् । राजनीतिक संस्कार, विधि र पद्दतिले सँधैका दशैं त्यति सहज नभए पनि यो पटकको चाडपर्वमा भने कालाबजारी रोकेर सामान्य मानिसले जोहो गरेको रकमबाट सामान खरिद गर्न पुग्ने आधार तयार हुनेछ ।  आक्रोस, अन्योल र अस्थिरता चिरेर आएको यो सरकारका कदमले सामाजिक सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउनेतर्फ अग्रसर हुने अपेक्षा पनि रहेको छ । अवस्थामा एकातिर नागरिकहरूले दशैँमा कुनै अप्रिय घटना नहोस् भनेर आ(आफ्नो गाउँठाउँमा सतर्कता अपनाउनुपर्ने हुन्छ भने अर्कोतिर सरकारका निकायहरूले पनि यसका लागि सचेतता र सक्रियता बढाउनुपर्छ । हुन त यो सरकार सानो आकारको अन्तरिम सरकार हो तर यसो भए पनि अब स्थिति सम्हालिएको छ । राजनीतिक प्रशासनिक अवस्था आफ्नो काबुमा राख्नु सरकारको दायित्व हो । शान्ति सुरक्षा, अमनचैन कायम गर्ने जिम्मा सरकारको हो । यसतर्फ सरकार गम्भीर हुन सक्नैपर्छ । नेपालको पवित्र भूमि सबै जातजाति, भाषाभाषी, वर्ग, सम्प्रदाय र समुदायको साझा सम्पदा हो भने बडा दशैं पनि सबै नेपालीको सांस्कृतिक धरोहर हो । राष्टिूय चाडपर्वका रूपमा बडा दशैंको सांस्कृतिक विशिष्टता जोगाइराख्नु राष्टिूय एकता र आवश्यकताको सम्बर्धन गर्नु हो ।

सत्ता स्वार्थको विकृतिजन्य राजनीतिक अभ्यासलाई चिरेर सिंगो समाजमा छुट्टै सन्देश दिन बनेको सरकार र त्यसको आधारशिला समाज बडा दशैं तथा विजया दशमीको सद्भाव, एकता र मेलमिलापको परम्परागत रूपमा अविरल र अविचलित प्रवाहित सन्देशले सबै नेपालीको मन(मस्तिष्कमा उज्यालो ल्याओस् र ऐक्यवद्ध सांस्कृतिक चेत जागृत गरोस् । यही नै हाम्रो शुभकामना ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया