दमक प्रशासनबाट एक वर्षमा ५ हजार ४ सय २१ जनाले लिए नागरिकता

खगेन्द्र कार्की

चन्द्रगढी (झापा) । इलाका प्रशासन कार्यालय दमकबाट आर्थिक वर्ष २०८२र८३ मा ५ हजार ४ सय २१ जनाले विभिन्न प्रकारका नागरिकता लिएका छन्। जिल्ला प्रशासन कार्यालय झापाले बुधबार चन्द्रगढीस्थित कार्यालयको सभाहलमा सञ्चारकर्मीसँग आयोजना गरेको समीक्षा कार्यक्रममा दमकसहित गत आर्थिक वर्षमा भएका गतिविधिबारे जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले इलाका प्रशासन कार्यालय दमकबाट वंशजका आधारमा ५ हजार १ सय ७८ जनालाई नागरिकता वितरण गरिएको बताए। वैवाहिक अंगीकृततर्फ १ सय ३२ जना र अंगीकृततर्फ १ सय ११ जनालाई नागरिकता प्रदान गरिएको उनले बताए। ती सबै गरी दमकबाट एक वर्षमा ५ हजार ४ सय २१ जनाले नागरिकता लिएको जानकारी दिए।
उनले गत आर्थिक वर्षमा दमक, गौरिगञ्ज र जिल्ला प्रशासन कार्यालय झापाबाट २१ हजार २१ जनालाई नागरिकताको प्रतिलिपि वितरण गरिएको बताए। त्यस्तै २४ हजार ४ सय ६६ जनालाई राहदानी वितरण गरिएको र २६ हजार ९ सय ९ जनालाई राहदानीका लागि सिफारिस गरिएको जानकारी दिए।
गेलालले राष्ट्रिय परिचयपत्रका लागि ९७ हजार ४ सय ७७ जनाको विवरण संकलन गरिएको तथा ९८ हजार ६ सय ८९ जनालाई परिचयपत्र कार्ड वितरण गरिएको बताए।
उनका अनुसार गत आर्थिक वर्षमा ७० वटा संस्था दर्ता, ६ सय ६६ संस्थाको नवीकरण, दुई संस्था खारेज, ८४ थान हातहतियार नवीकरण, प्रकोपपीडित पाँच परिवारलाई राहत वितरण तथा वैदेशिक रोजगारी ठगीसम्बन्धी १ सय ४५ वटा मुद्दा फर्छ्यौट गर्ने काम गरिएको छ।
जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय दमक र प्रशासन कार्यालय गौरिगञ्जबाट राहदानी शुल्कलगायत विभिन्न शीर्षकमा १५ करोड ३१ लाख २३ हजार ५ सय ११ रुपैयाँ राजस्व संकलन गरिएको पनि उनले बताए।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गेलालले प्रशासनले एकद्वार प्रणालीमार्फत सेवा प्रवाहमा सुधार गर्ने, स्थानीय तहसँग समन्वय गर्ने, लागूऔषध दुर्व्यसन नियन्त्रण तथा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउनेलगायतका उल्लेखनीय काम गरेको बताए। उनले सुनसरीलगायत विभिन्न स्थानमा भएका पछिल्ला घटनाप्रति झापा प्रशासन सचेत रहेको र झापामा त्यस्तो अवस्था आउन नदिन सम्बन्धित निकायसँग निरन्तर छलफल र समन्वय भइरहेको बताए।

खगेन्द्र कार्की
प्रतिक्रिया