जनताको पक्षमा नतिजामुखी काम गर्न सबै मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिका लागि लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न सबै मन्त्रालयका मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मंगलबार जारी बैठकमा प्रधानमन्त्री ओलीले विद्यमान ऐन कानूनको अधिनमा रही आफूलाई तोकिएको जिम्मेवारी समयमा पूरा गर्न निर्देशन दिएका हुन् । 

उनले सबै मन्त्री, सचिव तथा आयोजना प्रमुखलाई कार्यसम्पादन सम्झौता गर्ने र अधिकारको प्रत्यायोजन गरेर अघि बढ्न पनि निर्देशन दिए । नागरिकका लागि सहज सेवा प्रवाहलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न उनको निर्देशन थियो । उनले हरेक दिन, हप्ता, महिना, त्रैमास, अर्ध वार्षिक, वार्षिक र आवधिक योजना र लक्ष्य निर्धारण गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

सेवा प्रवाह प्रभावकारी बनाउन निर्देशन

प्रधानमन्त्रीले विभिन्न निकायमा सेवा लिन लाइन लाग्नुपर्ने अवस्था अन्त्य गर्न र झन्झटरहित सेवा प्रवाहको व्यवस्था मिलाउन भने । चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचयपत्र सहज रूपमा पाउने व्यवस्था गर्न उनले निर्देशन दिए । 

’आइतबार सचिवहरूबाट पनि केही कुराहरू आएका थिए, त्यो पर्याप्त छैन, संविधान र कानुनको अधीनमा रही मुलुक र जनताको हितमा काम गर्नुहोस्,’ उनले भने । प्रधानमन्त्रीले तथ्याङ्कका आधारमा भन्दा पनि वर्तमान अवस्थाबारे बुझेर आफूले भनाइ राखेको समेत उल्लेख गरे ।

अहिलेको काम सन्तोषजनक छैन

प्रधानमन्त्री ओलीले अहिलेको काम सन्तोषजनक नभएको भन्दै प्रभावकारी रूपमा काम गर्न निर्देशन दिए । ’मैले विद्यमान अवस्था सन्तोषजनक नरहेकाले सरकार परिवर्तन भएको भनेको थिए, यतिबेला सरकारमा संसद्का ठूला दुई दल छन्, यी दुई पार्टीले सामाजिक र आर्थिक परिवर्तनमा योगदान गरेका छन् । यी दुई ठूला दल कहिले आकारमा सानो भए पनि इतिहास, योगदान, दृष्टिकोण र सामर्थ्य भने ठूलो छ,’ उनले भने । 

पानीजहाज र रेल सञ्चालन

प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पानीजहाज र रेल सञ्चालन गर्ने विषयमा भएको प्रगति माग गरेका छन् । उनले सम्भावित अध्ययन भएका ठाउँमा पानीजहाज चलाउने उल्लेख गर्दै सोहीअनुसार काम गर्न निर्देशन दिए । 

धरहरा निर्माण चाँडो सक्न निर्देशन

प्रधानमन्त्री ओलीले चाँडोभन्दा चाँडो धरहरा निर्माण पूरा गरी सञ्चालन गर्न निर्देशन दिए । ’धरहरा बनेको छ, मान्छे चढ्न पाएका छैनन् । काम कहाँ निर अड्कियो र के भएर रोकिएको छ ? त्यसलाई किन सन्चालन नगर्ने ? कुन मन्त्रालयको जिम्मेवारीभित्र पर्छ, छुट्टै कार्यविधि बनाएर तत्काल सन्चालन गर्न म निर्देशन दिन्छु,’ उनले भने । उनले धरहरा सञ्चालनपछि आम्दानीको नयाँ स्रोत थपिने पनि उल्लेख गरे ।

एक सय दिनको कार्यप्रगति 

प्रधानमन्त्री ओलीले अब प्रत्येक मन्त्रीको एक सय दिनको कार्यप्रगति खोजिने पनि उल्लेख गरे । त्यसैले उनले दिन रात नभनी काम गर्न मन्त्रीहरूलाई निर्देशन दिए । ’एक सय दिनमा के काम गर्ने हो स्पष्ट भएर अघि बढ्नुहोला, आ–आफ्नो मन्त्रालयले के गर्यो भनेर एक सय दिनमा प्रतिवेदन बनाउनुपर्छ । प्रतिवेदनमा लेखिने कामहरू सन्तोषजनक र चित्तबुझ्दो हुनुपर्छ,’ उनले भने ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया