इटहरी । सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पस स्थापनादेखि विभिन्न कालखण्डमा योगदान दिने व्यक्तित्वलाई सम्मान गर्दै दुई दिने अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सम्पन्न भएको छ।
उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि इटहरीमा जनता बहुमुखी क्याम्पसले आयोजना गरेको शैक्षिक सम्मेलन समापनका क्रममा क्याम्पसको स्थापना कालदेखि अहिलेसम्म योगदान गर्ने पाँच व्यक्तित्व सम्मानित भएका हुन्।
सम्मानित हुनेमा पूर्व मन्त्री तथा इटहरी गाउँ पञ्चायत छँदाका प्रधानमञ्च रामकुमार सुब्बा, इनरुवा घर भएका तत्कालीन जिल्ला विकास समितिका सभापति रमेश श्रेष्ठ, पूर्व अध्यक्ष मेदनीप्रसाद सिटौला र विश्व रिजाल र व्यावसायी भीमबहादुर पौडेल रहेका छन् ।
पौडेलले क्याम्पसमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीका लागि ५१ लख रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएका छन् ।
क्याम्पस पूर्व सञ्चालक समितिका अध्यक्ष स्वर्गीय हरिप्रसाद रिजाललाई मरणोपरान्त सम्मान गरियो । दिंवगत रिजालकी श्रीमती पवित्रादेवीलाई सम्मानपत्र प्रदान गरियो । उनीहरूलाई इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मानपत्र प्रदान गरे ।
दुई दिनसम्म चलेको कार्यक्रममा चारवटा किनोट स्पिच, १५ वटा प्लेनरी स्पिच, चारवटा फिचर्ड स्पिच, समूह छलफल, कविता प्रस्तुति, अन्तरक्र्रियात्मक पोस्टर प्रदर्शनी, विद्यार्थी प्रतिभा जागरण सत्र, कार्यशाला र ८४ वटा कन्करेन्ट सेसन सञ्चालन गरिएको थियो ।
जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनमा विदेशका चारवटा देशका विज्ञसहित नेपालका नाम चलेका शैक्षिक विज्ञहरुले प्रस्तुति दिए । सम्मेलनमा पाँच सयभन्दा बढीको सहभागिता रह्यो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले अग्रजले देखाएको बाटो अनुसार अघि बढ्दा नै क्याम्पसले महत्वपूर्ण सफलता हात पारेको बताए ।
जनता क्याम्पसमा कोशी र मधेश प्रदेशका पाँच हजार भन्दा बढी विद्यार्थी विभिन्न संकायमा अध्ययनरत छन् ।
यस्तो थियो उद्घाटन सत्र
इटहरीमा शनिबारदेखि सो अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको थियो । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्व रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले गरेका थिए ।
जनता बहुमुखी क्याम्पसलाई पूर्वकै शैक्षिक हबको रूपमा विकास गरेर लैजाने उद्देश्यका साथ सुरु भएको सम्मेलनको पहिलो दिन चारवटा ‘कि नोट’ प्रस्तुत गरियो ।
जसमा त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायका डीन प्राध्यापक डाक्टर महानन्द चालिसे, त्रिभुवन विश्वविद्यालय सिइएनएएसका कार्यकारी निर्देशक डाक्टर मिर्गेन्द्र कार्की र क्षेत्रीय अंग्रेजी भाषा कार्यालय, अमेरिकी दूतावास, काठमाडौँ नेपाल रोजर एफ कोहेनले प्रस्तुती गरे ।
सम्मेलनमा चारवटा ‘कि नोट’ स्पिच प्रस्तुत हुने कार्यक्रम छ ।
सम्मेलनमार्फत मानविकी, शिक्षा, व्यवस्थापन, भाषाशिक्षण जस्ता विविध क्षेत्रका विद्वान्, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा सरोकारवालाहरू बिच अन्तरविषयक संवाद र सहयोगलाई विशेष महत्व दिँदै समकालीन चुनौतीहरूप्रति समग्र दृष्टिकोणलाई बढावा दिन योगदान पुग्ने विश्वास लिइएको छ ।
जसका लागि विषय विज्ञहरुले ११२ वटा अनुसन्धानमूलक कार्यपत्र प्रस्तुत गर्ने सहायक क्याम्पस प्रमुख तथा सम्मेलन संयोजक इन्द्रप्रसाद प्याकुरेलले बताए ।
सम्मेलनको उद्घाटन सत्रमा पूर्व रक्षामन्त्री डाक्टर मिनेन्द्र रिजालले समय सापेक्ष शिक्षामा नयाँ नयाँ अध्ययन अनुसन्धान हुनुपर्ने बताए । उनले अध्ययन अनुसन्धानले देखाएको बाटोमा आधारमा अघि बढेर देशलाई रूपान्तरणको दिसामा अघि बढाउनुपर्नेमा जोड दिए ।
सोही क्रममा जिल्ला समन्वय समिति सुनसरीका प्रमुख राजन मेहताले राजनीतिक दल र नेताप्रति हरेक सर्वसाधारणको वितृष्ण जागिरहेका बेला साँच्चै दल नेता तथा दलको रूपान्तरण गरेर परिवर्तन ल्याउने शिक्षाको सुधारबाटै अनुसन्धान हुनुपर्ने बताए ।
‘अहिले पछिल्लो समय जहाँ पनि नेतालाई मात्र गाली गर्छन्,’ उनले भने, ‘यस्ता शैक्षिक सम्मेलनले अब विषयवस्तुलाई समय अनुसार बदलेर सकारात्मक परिवर्तन ल्याउनुपर्छ ।’
इटहरीका मेयर हेमकर्ण पौडेलले सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको बताए । उनले समाजका हरेक नागरिकलाई सकारात्मक बाटोतर्फ अग्रसर हुनेगरी अब शिक्षामा अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।
नेपालकै सामूदायिक कलेजमध्ये जनता बहुमुखी कलेज धेरै विद्यार्थी भएको कलेजमा पर्छ । त्यसमा पनि कोशी प्रदेशको केन्द्रमा पर्ने र सवैलाई पायक पर्ने अनि विद्यार्थी अध्ययन गर्न आउनेको रोजाईको केन्द्र बनेको छ ।
सम्मेलनले इटहरीको शैक्षिक विकासमा योगदान पुगेको र अन्य निजी कलेजलाई अभिभाकत्व निर्वाह गर्ने भूमिका खेल्न सफल भएको क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले बताए ।
सम्मेलनमा विदेशका चार देशबाट देशका वक्ता र नेपालका नाम चलेका शैक्षिक विज्ञहरुको प्रस्तुति रहेको छ । कार्यक्रममा विशेषगरी बढी मात्रमा कोशी प्रदेशकै बढी सहभागी छन् ।
फाष्ट मिडिया नेपाल संवाददाता
७ पुस २०८२, सोमबार ०९:४९ मा प्रकाशित
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो