संखुवासभाबाट एक वर्षमा १४ जना सुत्केरीको हवाई उद्दार

फाष्ट मिडिया नेपाल संवाददाता

संखुवासभा । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्दारबाट धेरै महिलाको ज्यान जोगिएको छ । एक वर्षको अवधिमा संखुवासभा जिल्लाका १४ जना गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार गरिएको छ ।

आर्थिक बर्ष २०८०–०८१ मा १४ जना गर्भवती तथा सुत्केरीको हवाई उद्दार गरिएको जिल्ला स्वास्थ्य कार्यालय संखुवासभाकी पब्लिक हेल्थ नर्स अधिकृत भवानी तिम्सिनाले बताइन् ।

एक बर्षको अवधिमा ज्यान जोखिममा परेका १४ जना गर्भवती,प्रसुती,सुत्केरी तथा नवजात शिशुहरुलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत हवाई उद्दार गरिएको पब्लिक हेल्थ नर्स अधिकृत तिम्सिनाले जानकारी दिएकी छन् । समयमै हवाई उद्दार भएकाले सुत्केरी, गर्भवती र नवजात शिशु अकालमै मृत्यु बेहोर्नु पर्ने अवस्था हटेको उनको भनाइ छ ।

लगातार लामो प्रसव बेथा लागेको, बच्चा जन्मन कठिनाइ भएको, गर्भमा नै बच्चाको मृत्यु भएको, गर्भ अवस्थामा खुट्टा शरीर सुन्निएको, अधिक रक्तस्राव भएको, रक्तअल्पता भएका गर्भवती तथा सुत्केरी महिलालाई यो सुविधा दिने गरिएको छ । गर्भवती तथा सुत्केरीको ज्यान जोखिममा रहेको भनी स्थानीय स्वास्थ्य चौकी वा प्रमुख जिल्ला अधिकारीले जानकारी गराएपछि महिला मन्त्रालयबाट उद्दारका लागि हेलिकप्टर पठाउने गरिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा वर्थिङ सेन्टर र स्वास्थ्य चौकीहरुमा शल्यक्रिया सहितको प्रसूति सेवा प्राप्त मात्रामा छैनन् । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दाे प्रसूति सेवा छैन । यही कारण जिल्लामा गम्भिर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।

राष्ट्रपति महिला उत्थान हवाई उद्दार कार्यक्रम अन्तर्गत कार्यक्रम सुरु भएयता हालसम्म २४ जना सुत्केरी तथा गर्भवतीको हवाई उद्दार गरि विभिन्न अस्पतालमा पठाइएको छ । उद्दार गरिएकाहरु १७ बर्षदेखि ३६ बर्ष उमेर समूहका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया