एमालेभित्र नयाँ शक्तिका रुपमा उदाएकी विद्या चीन भ्रमणमा

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एक साताका लागि चीन भ्रमणमा निस्कँदै छिन् । शुक्रबार राति बेइजिङतर्फ उड्ने पूर्वराष्ट्रपति भण्डारीको भ्रमण टोलीमा एमाले नेताहरू मात्र सामेल हुनेछन् ।

एमाले विदेश विभाग प्रमुख एवं पार्टी सचिव रघुवीर महासेठ, स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, नेताहरू देवी भट्टचन, गोमा देवकोटा, डा। कैलाश भण्डारी, भेषबहादुर अधिकारी र महेन्द्र विष्ट भ्रमण टोलीमा छन् ।

एक सातासम्म बेइजिङ, दुङखुवाङ र ग्वान्सुमा हुने कार्यक्रमहरूमा भण्डारी नेतृत्वको टोली सहभागी हुनेछ । भ्रमण टोलीमा रहेका एक सदस्यका अनुसार, पूर्वराष्ट्रपति भण्डारी मुख्य वक्ता रहनेगरी त्यहाँ केही कार्यक्रम तय गरिएको छ ।

बेइजिङमा सोमबार, ९१२ जेठमा० सीपीसी विदेश विभाग र चिनियाँ विदेश मन्त्रालयले गर्ने एउटा कार्यक्रममा पूर्वराष्ट्रपति भण्डारी मुख्य वक्ता हुुने छिन् । जहाँ छिमेकी देशहरूका नेताहरू बोलाइएको छ । पूर्वराष्ट्रपति भण्डारीको सम्बोधनको विषय पनि ‘छिमेकी देशका राजनीतिक पार्टीहरूबीचको सम्बन्ध’ हुनेछ ।

अर्थात् पूर्वराष्ट्रपतिको हैसियतले भन्दा पनि एक राजनीतिज्ञका हैसियतमा भण्डारीको सम्बोधन हुने देखिन्छ । बाँकी सेसनहरूमा रघुवीर महासेठ, कर्ण थापा र दामोदर भण्डारीले मन्तव्य राख्ने तालिका तय भएको छ ।

शुक्रबार सीपीसीले अर्को कार्यक्रम पनि पूर्वराष्ट्रपति भण्डारीलाई मुख्य अतिथि बनाउनेछ भने ग्वान्सु प्रदेशका शीर्ष नेताहरूसँग भेटवार्ता हुनेछ ।

स्रोतका अनुसार ग्वान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपतिसँग पूर्वराष्ट्रपति भण्डारीले मञ्च शेयर गर्ने सम्भावना पनि छ । तर भ्रमण तालिकामा यो भेटवार्ताबारे खुलाइएको छैन ।

भ्रमण तालिका अनुसार भने पूर्वराष्ट्रपति भण्डारीले भेटवार्ता गर्ने उच्च तहका चिनियाँ नेता लिउ जियानचाओ हुन् । सीपीसी विदेश विभागका प्रमुख लिउसँग पूर्वराष्ट्रपति भण्डारीले सोमबार ९१२ जेठमा० भेटवार्ता गर्नेछिन् ।

स्रोतका अनुसार यो भ्रमण अघिल्लो वर्ष नै हुने तय भएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारीले कुन हैसियतमा चीन भ्रमणमा जाने भन्ने विषयले समस्या आएको थियो । ‘सीपीसी विदेश विभागले एमाले नेताको हैसियतमा पूर्वराष्ट्रपतिलाई बोलाएको रहेछ, त्यसैअनुसार कार्यक्रम पनि तय गरेको देखियो,’ स्रोत भन्छ, ‘तर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी अहिले एमालेको सक्रिय राजनीतिमा त हुनुहुन्न, त्यसले समस्या ल्यायो ।’

हुन पनि सीपीसीले नेपालमा कम्युनिष्टहरू मिलाउन चाहेको र त्यसको नेतृत्व पूर्वराष्ट्रपति भण्डारीबाट गराउने चाहेको विश्लेषणलाई बल पुग्नेगरी भ्रमण तय भएको देखिन्छ ।

एमाले विदेश विभागका एक सदस्य पनि पूर्वराष्ट्रपति भण्डारीको यो चीन भ्रमणमा केही समस्या आएको स्वीकार्छन् । ‘सीपीसी विदेश विभागको निम्तोमा जाँदा राजनीतिक भ्रमण रहेको सन्देश जाने भयो, त्यसपछि हाम्रै पार्टीको पहलमा चीनको विदेश मन्त्रालय र त्यहाँको एउटा संस्थाको समेत सहकार्य हुनेगरी कार्यक्रम तय गरिएको छ,’ ती नेता भन्छन् ।

पूर्वराष्ट्रपतिको हैसियत जस्तो पनि देखिने, र राजनीतिक कार्यक्रमहरूमा पनि भण्डारीलाई सहभागी गराउने मध्यमार्गी प्रस्तावमा चिनियाँ पक्ष पनि सहमत भएको ती नेता बताउँछन् ।

अर्का स्रोतका अनुसार पूर्वराष्ट्रपति भण्डारी नेतृत्वको यो टोली एमाले नेताहरूको मात्र नदेखिओस् भनेरै उद्योग तथा वाणिज्य मन्त्री दामोदर भण्डारीलाई टोलीमा सामेल गराइएको छ ।

‘सुरुमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको नाम राखिएको थियो, तर उहाँको समय नमिलेकाले उद्योगमन्त्री जाने तय भएको हो,’ ती स्रोत भन्छ । स्रोतका अनुसार पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा यस्तो मध्यमार्गी प्रस्ताव ल्याइएको हो ।

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेभित्र भावी अध्यक्षका रूपमा एउटा पंक्तिले अगाडि बढाइरहेका बेला हुन लागेको यो भ्रमणलाई चासोका साथ हेरिएको छ ।

‘उहाँलाई ९पूर्वराष्ट्रपति भण्डारी० एमालेकै भावी अध्यक्ष भनेर प्रचार गरिएका बेला सीपीसीले बोलायो, यो सही समय होइन,’ एमालेका एक नेता भन्छन् ।

चीनका लागि नेपालका राजदूत रहिसकेका एक कुटनीतिज्ञ पनि पूर्वराष्ट्रपति भण्डारीको यो भ्रमणबाट राजनीतिक सन्देश दिन खोजिएको विश्लेषण गर्छन् ।

‘विद्या भण्डारी एमालेको सक्रिय राजनीतिमा आउँदै गरेको सन्देशकै रूपमा यो भ्रमण तय गरिएको हो कि भन्ने देखिन्छ । किनकि, उहाँले आफ्नो नेतृत्वको टोलीमा पनि पार्टी विदेश विभाग प्रमुखसहित एमाले नेताहरू मात्र समेट्नुभयो,’ उनी भन्छन्, ‘उताबाट ९चीनतर्फ० बोलाउँदा पूर्वराष्ट्रपतिलाई निम्तो दिएको हो, टोली यतैबाट बन्ने हो ।’

विगतका पृष्ठभूमि हेर्दा पनि पूर्वराष्ट्रपति भण्डारी सीपीसीले विश्वास गरेका पात्र हुन् । विशेषगरी चिनियाँ परियोजना बीआरआईप्रति भण्डारीको समर्थन र साथका कारण सीपीसीले भण्डारीलाई विश्वास गरेको बताइन्छ । उनै भण्डारीलाई अगाडि सारेर सीपीसीका नेताहरू नेपालमा वाम एकताको पहल लिने चाहनामा रहेको विश्लेषण हुने गरेको छ ।onlinekhabar 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया