इटहरी । पछिल्लो दुईमहिनामा झापाबाटमात्रै दुईहजार युवा विदेशिए । तिहारअघिको २ महिनामा रोजगारी खोज्दै विदेश जाने नेपालीको संख्या १ लाख ३६ हजार ८२ पुगेका छन् । सामान्यता २ महिनाअघि श्रम स्वीकृति लिएपछि विदेश जानु पर्ने प्रावधान रहेका कारण नेपालबाट चाडपर्वकैविच सो संख्यामा नेपाली विदेश गएका हुन् ।
दशैदेखि तिहारविचमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ३२ प्रतिशतले वृद्धि भएको देखिन्छ । गत आवको साउन र भदौमा यो संख्या १ लाख ३ हजार १०० रहेकोमा चालु आवमा यो संख्या बढेर १ लाख ३६ हजार पुगेको छ । यद्यपि गत आवको साउनपछि लगातार उकालो लागेको विदेश जाने क्रम यो दसैंअघि पनि कायम रहेको छ । चालु आवको साउन र भदौमा श्रम स्वीकृति लिने महिलाको संख्या गत वर्षको तुलनामा १६ प्रतिशतले वृद्धि भएको छ ।
वैदेशिक रोजगार विभागका निर्देशक टिकाराम ढकालले गत वर्षको २ महिनाको तुलनामा विदेश जानेको संख्या बढेको जानकारी दिए । गत वर्षको साउन र भदौमा १४ हजार ८६८ महिला रोजगारीका लागि विदेश गएकोमा चालु आवमा सो संख्या १७ हजार २११ रहेको छ । निर्देशक ढकालले पछिल्लो समय श्रम गन्तव्यबाट माग बढी आएका कारण वैदेशिक रोजगारी जान श्रम स्वीकृति लिनेको संख्या बढेको बताए ।
पछिल्लो समय स्वदेशमा रोजगारीको सम्भावना कम हुँदै गएपछि वैदेशिक रोजगारी नै जाने प्रवृत्ति बढ्दै गइरहेका कारण पनि श्रम स्वीकृतीको संख्यामा वृद्धि भएको देखिन्छ । विभागले नेपालको आन्तरिक रोजगारीको विकल्पको रूपमा रहेको वैदेशिक रोजगारी कोभिड संक्रमणपछि ३ वर्ष लगातार उकालो लागेको जनाएको छ ।
विभागले श्रम गन्तव्यमा भएको श्रमिकमैत्री कानुनको परिमार्जन, श्रम स्वीकृति सेवालाई पूर्ण अनलाइन र गन्तव्यमा चरम श्रमिक अभावका कारण माग बढ्न गई श्रम स्वीकृति लिनेको संख्या बढेको जनाएको छ । श्रमिक स्रोत देश नेपालको आन्तरिक रोजगारीमा आएको कमी र गन्तव्यमा मुलुकमा श्रमिक अभाव भएका कारण श्रम स्वीकृति लिनेको संख्या बढेको बढेको बिज्ञको भनाइ छ ।
गत आवको तथ्यांकसहित विगत वर्षमा २३ लाख युवाले रोजगारी खोज्दै नेपाल छोडेका छन् । तीन वर्षको तथ्यांकलाई औषत गर्दा वार्षिक ७ लाख ६६ हजार नेपाली जनशक्ति रोजगारी खोज्दै विदेश गएका देखिन्छ । यो संख्या पुनः श्रमस्वीकृति लिएर गएका समेतको हो । विदेश जान श्रमस्वीकृति लिएकामध्ये ६४ प्रतिशत नयाँ कामदार हुने गरेका छन् भने ३६ प्रतिशत बिदामा आएर पुनः श्रमस्वीकृति लिनेको संख्या रहेको छ ।
वैदेशिक रोजगार विभागले २०५० सालदेखि श्रमस्वीकृति लिएर विदेश जाने श्रमिकको तथ्यांक राख्न सुरु गरेको थियो । गत आवमा रोजगारी खोज्दै ७ लाख ४१ हजारभन्दा बढी युवा विदेश गएका थिए । वैदेशिक रोजगारको ३० वर्षको इतिहासमा गत आवमा ८ लाख ३९ हजार युवाले विदेश जान श्रमस्वीकृति लिएका थिए । सरकारले श्रमस्वीकृतिको तथ्यांक राख्न थालेको ३० वर्षमध्ये गत आवमा सबैभन्दा बढी श्रमिकले वैदेशिक रोजगारीका लागि अनुमति लिएका छन् । ०
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो