इटहरीमा भकभकेपन बोली सम्बन्धी २ दिने सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन

सुप्रिया राई

इटहरी । भकभकेपन बोली (Stammering) सम्बन्धी सचेतना तथा परामर्शसम्बन्धी दुई दिने कार्यक्रम नेपाल भकभके संघकाे आयाेजनामा इटहरीमा सञ्चालन भइरहेको छ ।

महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र काठमाडौँ महानगरपालिकाको सहयोगमा आयोजना गरिएको उक्त कार्यक्रममा भकभकेपन समस्या भएका व्यक्तिहरूको पहिचान गरी थेरापी कार्यक्रममार्फत भकभकेपनको लेबल पहिचान गरिने सल्लाहकार शंकर प्रसाद गाैतमले जानकारी गराए ।

उनका अनुसार लेबल पहिचानपछि भकभकेपन कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई व्यावहारिक अभ्यास गराइनेछ । साथै, समस्या जटिल देखिएमा नेपालमा स्पिच थेरापी सेवा उपलब्ध रहेका अस्पताल तथा केन्द्रहरूको बारेमा समेत जानकारी गराइने कार्यक्रम रहेको सल्लाहकार गाैतमले बताए ।

कार्यक्रम संस्थाका अध्यक्ष प्रशान्त डङ्गोलको सभापतित्व तथा इटहरी उपमहानगरपालिकाकी उपमेयर सङ्गीता चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सो कार्यक्रममा शिक्षा, स्वास्थ्य लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।


सुप्रिया राई
प्रतिक्रिया