देवानगञ्ज घटनाको विरोध हिंसात्मक बन्दा गोलबजारमा गोलीकाण्ड, एकको मृत्यु, कर्फ्यु जारी

फाष्ट मिडिया नेपाल संवाददाता


सिरहा सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको निष्पक्ष छानबिन दोषीमाथि कारबाहीको माग गर्दै भएको प्रदर्शन बिहीबार सिरहाको गोलबजारमा हिंसात्मक बनेपछि एक जनाको मृत्यु भएको छ। झडप, आगजनी तोडफोडपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गर्दै नेपाली सेनासमेत परिचालन गरेको छ।

प्रदर्शनका क्रममा गोली लागेर औरही गाउँपालिका तुलसियाहीका १५ वर्षीय गणेश यादवको उपचारका क्रममा मृत्यु भएको भने धनुषाधाम नगरपालिका निवासी १९ वर्षीय सुभाष ठाकुर घाइते भएका छन्। ठाकुरलाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार घटनामा नेपाल प्रहरी सशस्त्र प्रहरीका १२ देखि १५ जना सुरक्षाकर्मी पनि घाइते भएका छन्। प्रहरी प्रवक्ता डीएसपी रमेशबहादुर पालको मुखमा चोट लागेको उपचारका क्रममा टाँका लगाइएको प्रहरीले जनाएको छ।

प्रदर्शन बिहानदेखि नै गोलबजार क्षेत्रमा सुरु भएको थियो। प्रदर्शनकारीहरूले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गर्दै नाराबाजी गरेका थिए। सुरुवातमा शान्तिपूर्ण रहेको प्रदर्शन दिउँसो करिब बजेदेखि उग्र बनेको थियो। गोलबजार नगरपालिका क्षेत्रमा दुई समूह आमनेसामने भएपछि चर्को नाराबाजी, लखेटालखेट ढुंगामुढा सुरु भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

झडप चर्किएपछि भीडको एक समूहले नेपाल टेलिकम कार्यालय नजिक पार्किङमा रहेका करिब २१ वटा मोटरसाइकलमा तोडफोड गरी आगजनी गरेको थियो। आगलागीपछि राजमार्ग धुवाँले ढाकिएको थियो भने आगो नियन्त्रणका लागि दमकल परिचालन गरिएको थियो। त्यसपछि जिल्ला प्रशासन कार्यालयले गोलबजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो।

झडपपछि प्रदर्शनकारी क्याम्पस रोडतर्फ पुगेका थिए। केहीबेर अवस्था सामान्य देखिए पनि त्यसपछि गोली चलेको प्रत्यक्षदर्शीहरूको भनाइ छ। गोली लागेर घाइते भएका गणेश यादवको मृत्यु भएपछि प्रदर्शन झन् आक्रोशित बनेको थियो। त्यसलगत्तै बजारका विभिन्न स्थानमा पसल, होटल तथा अन्य व्यावसायिक संरचनामा तोडफोड आगजनी भएको स्थानीयले बताएका छन्।

साँझतिर सुरक्षाकर्मीले भीड नियन्त्रणका लागि पटकपटक अश्रुग्यास प्रहार गरेका थिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी नेपाली सेनाले संयुक्त रूपमा सुरक्षा व्यवस्था कडा बनाएपछि विस्तारै प्रदर्शनकारीहरू सडकबाट हटेका थिए।

मृतक गणेश यादवका आफन्तले दोषीमाथि कारबाहीको सुनिश्चितता नभएसम्म शव नउठाउने अडान लिएपछि केहीबेर प्रहरी आफन्तबीच धकेलाधकेलसमेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। पछि प्रहरीले शव नियन्त्रणमा लिएर कानुनी प्रक्रियाका लागि अस्पताल पठाएको थियो।

बिहीबार रातिसम्म गोलबजार क्षेत्रमा कर्फ्यु जारी रहँदा सडकमा जलेका मोटरसाइकल, फुटेका सिसा, अश्रुग्यासका खोल सुरक्षाकर्मीको बाक्लो गस्ती देखिएको थियो। देवानगञ्ज घटनाको विरोधबाट सुरु भएको प्रदर्शन एक जनाको ज्यान जाने, दर्जनौँ घाइते हुने, व्यापक आगजनी कर्फ्युको अवस्थासम्म पुगेको छ। गोली चलेको परिस्थितिसहित सम्पूर्ण घटनाबारे निष्पक्ष छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्न स्थानीयवासी सरोकारवालाले माग गरेका छन्।

 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया