केही दिनअघि जिल्लाको कुश्मा नगरपालिका-८ चुवामा ‘अफ्रिकन स्वाइन फिवर’ सङ्क्रमण पुष्टि भएको छ।
चुवामा रहेको एक सुँगुर-बङ्गुर फार्ममा पालिएकामध्ये ४६ वटा मरेपछि सङ्क्रमणको बारेमा अनुसन्धान शुरु भएको थियो। जिल्लाको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र कुश्मा नगरपालिकाको पशु सेवा शाखाले सुँगुर-बङ्गुर मर्नुको कारणको खोजी गर्दै लक्षण हेर्दा ‘अफ्रिकन स्वाइन फिवर’ भएको हुन सक्ने शङ्का गरेका थिए।
उक्त फार्मबाट सङ्कलन गरिएको नमुनालाई परीक्षणको लागि काठमाडौँस्थित ‘सेन्ट्रल भेटेरिनरी ल्याबरोटरी’ मा पठाइएको थियो।
परीक्षणबाट ती सुँगुर-बङ्गुर मर्नुका कारण ‘अफ्रिकन स्वाइन फिवर’ नै रहेको पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पर्वतका पशु चिकित्सक तथा निमित्त कार्यालय प्रमुख सुरेशकुमार श्रेष्ठले बताए।
शुरुमा सङ्क्रमणको अनुमान गरिएको चुवाको स्मृति फार्ममा पालिएकामध्ये ३८ वटा पाठा र आठ माउ गरी ४६ वटा मरेकोमा अहिले उक्त खोरमा रहेका सबै सुँगुर÷बङ्गुर मरेर खोर नै रित्तिएको उनको भनाइ छ। त्यहाँको सङ्क्रमणको पुष्टि भइसक्दा कुश्मा नगरपालिका- १० पिपलटारीमा रहेको वसन्त फार्ममा पालिएकामध्ये तीनवटा मरेको खबर आएपछि कार्यालयबाट पशु चिकित्सकको टोली पुगेको श्रेष्ठले बताए।
‘शुरुमा खोर नै रित्तो भइसकेको रहेछ। त्यहाँ करिब ६५ वटा जति मरिसकेका छन्। पछि कुश्मा नगरपालिका १० पिपलटारीमा रहेको वसन्त फार्ममा पनि मरेको सूचना आयो। हामी शुक्रबार नै त्यहाँ पुगेर जैविक सुरक्षा विधिको बारेमा सिकाएर आएका’, उनले भने, ‘जिल्लाका अन्य स्थानमा सङ्क्रमण पुगेको छ छैन सबै ठाउँबाट जानकारी आइसकेको छैन।’
अहिले प्रारम्भिक नै भएकोले सबै ठाउँमा नपुगेको भए पनि पर्वतमा यसको पुष्टि भएकोले सङ्क्रमण फैलिने जोखिम उच्चछ।’ चुवामा ‘अफ्रिकन स्वाइन फिवर’ सँग मिल्दोजुल्दो लक्षण देखिए लगत्तै दुवै कार्यालयले सतर्कताका लागि आह्वान गरिसकेका थिए।
रोगको आवश्यक रोकथाम र नियन्त्रण गर्नका लागि सुँगुर-बङ्गुर ओसारपसार नगर्न तथा बजारबाट सङ्कलन गरिएको दाना प्रयोग नगर्न पशु सेवा शाखाले मासु तथा पशु व्यवसायी तथा सुँगुर-बङ्गुर पाल्ने कृषकहरूलाई अनुरोध गरेका छन्। कुनै पनि शङ्कास्पद लक्षण देखिएमा शाखामा जानकारी गराउन वा पशु चिकित्सक तथा प्राविधिकलाई सम्पर्क गर्न पशु सेवा विज्ञ केन्द्रले अनुरोध गरेको छ।
गत साउनमा पनि जिल्लामा यसको सङ्क्रमण देखिएको थियो। जिल्लाको जलजला गाउँपालिकामा रहेको एउटा बङ्गुर ‘फार्म’ मा रहेकामध्ये चार बङ्गुर मरेका र तिनीहरूको लक्षण ‘अफ्रिकन स्वाइन फिवर’सँग मिलेपछि नमुना परीक्षण गरिएको थियो।
जिल्लामा पर्वतमा जिल्ला बाहिरबाट मासुजन्य पदार्थको आयात गर्दा सङ्क्रमण भित्रिन सक्ने जोखिम छ। कुश्माका होटलमा बाहिरबाट मासु आयात गर्नु, मासुका अंश बढी हुनु वा फोहोर भएको खाना सङ्कलन गर्ने भाँडामा पुग्नु र त्यो भाँडाको खाद्यान्न बङ्गुरको दानाको रूपमा फार्मसम्म पुग्दा सङ्क्रमण फैलिनसक्ने जोखिम रहेको छ।
फाष्ट मिडिया नेपाल संवाददाता
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो