दलबीच हानाहान, कार्यकर्ता तानातान

खगेन्द्र कार्की

इटहरी । जनताका तमाम समस्यालाई ओझेलमा पारेर राजनीतिक दलहरु ३ वर्ष पछाडि आउने निर्वाचनको पछाडि दौडिन सुरु गरेका छन् । ०७९ सालको संघीय तथा प्रदेश सभा निर्वाचन सकिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले उठाएको मिसन ८४ मा यतिखेर सबै साना तथा ठुला दलहरु उभिएर सोही अनुसारको गतिविधिमा लागिसकेका छन् । राजनीतिक दल मात्र होइन कार्यकर्ता भड्काउने र आफ्नो पक्षमा ल्याउने रणनीतिमा अन्य स्वतन्त्र व्यक्तिहरु समेत लागि परेको देखिन्छ । पार्टी प्रवेशको नाममा संख्यात्मक रुपमा सीमित जनतालाई राजनीतिक दल वा समूहहरुको चेपुवामा परेको अनुभुति पनि गरिँदैछ ।

राज्यमा जनतासँग प्रत्यक्ष जोडिएका सवाल र समस्याहरु धेरै छन् । कानुन निर्माण गर्नुपर्ने धेरै छन् । जनताका समस्या, विकास निर्माणका कामहरुलाई प्रभावित तुल्याउने गरी ३ वर्ष पछाडि आउने अवधिक निर्वाचनको पछि लाग्नुले राजनीतिक दलहरुको जनताप्रतिको दायित्व र जिम्मेवारी नबुझेको हो कि भन्ने व्याख्या गरिन थालिएको छ । जनतालाई भोट बैंकको रुपमा ग्रहण गर्न सक्ने राजनीतिक दलहरुको सोच र चिन्तन नै गलत रहेको राजनीतिक विश्लेषकको बुझाई छ । दलहरुबीचमा वैचारिक रुपमा हानाहान भईरहेको बेला एक अर्काका कार्यकर्ता भने तानातानमा लागेको परिस्थिति हिजोआज देखिँदैछ । यद्यपि राजनीतिक दलहरु राजनीतिक कर्मप्रतिको धर्म निर्वाह गर्दै जनतालाई दलमा आवद्धता गराउने अभियानमा जुटेका छन् । पार्टी प्रवेशकै सन्दर्भमा झापामा मात्रै केही दिन यता सैयौको संख्यामा एक पछि अर्को पार्टी सक्रिय भएर पार्टी प्रवेश गराउने अभियानमा जुटेका देखिन्छन् ।

यसैसन्दर्भमा बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न पार्टी परित्याग गरी पाँच सयभन्दा बढी दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी र जनता समाजवादी पार्टी परित्याग गरेर पाँच सयबढी नेता कार्यकर्ता राप्रपामा प्रवेश गरेको जिल्ला अध्यक्ष केशव ओझाले बताए ।उनका अनुसार सबैभन्दा धेरै अर्जुनधाराबाट एक सय ५७ जना राप्रपामा प्रवेश गरेका छन् । त्यस्तै बिर्तामोडबाट एक सय बढी, कनकाई ८–बाट ४०, मेचीनगरबाट ३०, बुद्धशान्तिबाट ४०, कचनकवलबाट ५०, भद्रपुरबाट ४०, हल्दिवारीबाट ५६, बाह्रदशीबाट ३०, झापाबाट १०, दमकबाट १० जना राप्रपामा प्रवेश गरेको बताइएको छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाको एउटै वडाबाट एक सय २० जनाभन्दा वढी राप्रपामा प्रवेश गरेका छन् । तरुण दल अर्जुनधारा ५ का अध्यक्ष टंक दाहालको नेतृत्वमा उनीहरु राप्रपामा प्रवेश गरेका हुन् ।

जसपा झापा जिल्ला उपाध्यक्ष संगिता रौनियार, जसपाकै नेता सुरेश राय यादव, विश्व हिन्दु महासंघका केन्द्रीय उपाध्यक्ष ध्रुव शिवाकाटीलगायत नेता कार्यकर्तालाई राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेका थिए ।

यस अघि भदौ २२ गते दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले बिर्तामोडमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट मोरङमा उम्मेदवार बनेका विकास उप्रेतीलगायत ४४ जनालाई प्रवेश गरायो ।

त्यसको दुई दिनपछि भदौ २४ गते नेकपा एमाले झापाले जिल्ला पार्टी कार्यालयको सभाहलमा कार्यक्रम गरी नेकपा एकीकृत समाजवादीनिकट युवा संघ नेपालका जिल्ला इन्चार्ज खगेन्द्र बाह्रकोटी, जिल्ला अध्यक्ष सुनिल थापा, समाजवादीका जिल्ला सचिवालय सदस्य राजन थापालगायत ३६ जनालाई पार्टी प्रवेश गरायो ।

यसैगरी भदौ ३० गते नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल झापा आउने भएका छन् ।

सो दिन कार्यकर्ता प्रशिक्षण भनिएपनि अन्य पार्टी परित्याग गरि राजनीतिमा चिनिएका व्यक्तिहरुलाई पार्टी प्रवेश कार्यक्रम रहेको झापा जिल्ला संयोजक राजु आचार्यले जानकारी दिए ।

विभिन्न पार्टी छोडेर अहिले स्वतन्त्र रहेका लोकबन्धु कन्दङ्वालगायत माओवादीमा प्रवेश गर्न लागेको सुनिएको छ । उनी साविक अनारमनी नगरोन्मूख गाउँ विकास समितिका उपाध्यक्ष हुन् । नेकपा एमालेका प्रदेश कमिटी सदस्य रहेका कन्दङ्वा त्यसपछि नेकपा समाजवादीको केन्द्रीय सदस्य भएका थिए ।


खगेन्द्र कार्की
प्रतिक्रिया