रास्वपाले संखुवासभाको दुर्गम गाउँभेलामा प्रयोग गरेको हेलिकप्टर आलोचित

फाष्ट मिडिया नेपाल संवाददाता

संखुवासभा । बागमती प्रदेशका मुख्यमन्त्री बनभोज खान हेलिकप्टर चढेर गएको भन्दै आलोचना भइरहेको बेला पुराना दलको विकल्प दावी गरेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको गाउँ भेला गर्न हेलिकप्टर प्रयोग गरेको पाइएको छ ।

संखुवासभाको दुर्गम ग्रामिण क्षेत्रमा पार्टीको संगठन विस्तार र सभा गर्न रास्वपाले हेलिकप्टर प्रयोग गरेको हो ।

रास्वपाले पुस १६ गतेदेखि संखुवासभाको उत्तरी क्षेत्रअन्तर्गत पर्ने भोटखोला र मकालु गाउँपालिकामा हेलिकोप्टरमार्फत आमसभा तथा कार्यकर्ता भेटघाट गरेको छ । दुर्गम भेगका बस्तीहरूमा छोटो समयमै पुग्न कठिन भएकाले हेलिकोप्टर प्रयोग गरिएको पार्टीको दावी छ ।

हालै नेपाली कांग्रेसको महासमिति सदस्य पद छाडेर रास्वपामा प्रवेश गरेका मकालु गाउँपालिका–१ वालुङका मिङ्मा शेर्पा सो अभियानमा छन् । शेर्पाको आफ्नै निजी हेलिकोप्टर छ । त्यसकै प्रयोग गरेर रास्वपाको गाउँभेला र सभा भइरहेको छ ।

शेर्पाले ‘हेली एभरेष्ट’ कम्पनीमार्फत हेलिकोप्टर सेवा उपलब्ध गराउँदै आएका छन्। रास्वपाका जिल्ला सभापति भक्तनारायण श्रेष्ठका अनुसार हेलिकोप्टरमार्फत गाउँ पुगेर कार्यकर्ता भेला, आमसभा तथा पार्टी प्रवेश कार्यक्रम सञ्चालन गरिएको छ ।

कार्यकर्ताले गाउँमा कार्यक्रम राखेपछि भौगोलिक अवस्थाको कारण हेलिकप्टर प्रयोग गरेको श्रेष्ठले बताए । फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर अभियान चलाएको उनको भनाइ छ ।

रास्वपाले भोटखोला र मकालु गाउँपालिकासँगै पाँचखपन नगरपालिकाको तेर्से क्षेत्र, चैनपुर नगरपालिकाको मैदाने, नुनढाकी लगायतका स्थानमा सभा गरिसकेको छ । ती सभामा पुग्न हेलिकप्टर नै प्रयोग गरिएको थियो । निर्वाचनमा मिङ्मा शेर्पालाई उम्मेदवार बनाउने भएपछि उनले हेलिकप्टर प्रयोग गर्दै गाउँमा नेताहरु पुर्याइरहेका छन् ।

पर्यटन व्यवसायी शेर्पा चर्चित हिमाल आरोही पनि हुन् । उनले ८ हजार मिटरभन्दा अग्ला १४ भन्दा बढी हिमाल आरोहण गरिसकेका छन्।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया