परम्परागत पटुवा खेतीमा कृषक भुनेश्वर मेहताकाे लगाव

सुप्रिया राई

 आधुनिक युगमा व्यावसायिक खेतीपाती र नगदे बालीतर्फ किसानहरू आकर्षित भइरहेका बेला बराहक्षेत्र–मधुवनका कृषक भुनेश्वर मेहता भने पुस्तौंदेखि चलिआएको परम्परागत पटुवा (जुट) खेतीलाई निरन्तरता दिँदै आएका छन्। उनकाे भनाइमा, पटुवा खेती व्यावसायिक नाफाका लागि नभई घरायसी आवश्यकताकाे परिपूर्ति गर्नकै लागि गरिँदै आएको हो।

मेहताका अनुसार जुट खेतीले प्रत्यक्ष नगद आम्दानी नदिए पनि दैनिक जीवनमा प्रयोग हुने अति महत्त्वपूर्ण कच्चा पदार्थ उपलब्ध गराउँछ। “आगो बाल्दा दाउरा बराबर काम लाग्छ, गोबरको गुइठा बनाउन ‘सन्टि’ चाहिन्छ, घर–गोठ बारबेर गर्न पनि यही सामग्री उपयोग हुन्छ। गाईबस्तु बाँध्ने दाम्लाेसम्म बनाउन जुटकै आवश्यकता पर्छ,” मेहताले भने।

मेहताले अझै पनि पटुवा खेतीलाई परम्परागत शैलीमै गर्दै आएका छन्। उनकाे भनाइमा, बिरुवा लगाएको केही समयपछि गाेडमेल गरेर हुर्काइन्छ। परिपक्व भएपछि काटेर ‘बिटा’ बनाइन्छ र पानी पोखरीमा माटोले छोपेर करिब एक महिना राखिन्छ। त्यसपछि पिट्ने वा छोडाउने प्रक्रियाबाट भित्री र बाहिरी भाग छुट्याइन्छ।

भित्री भागलाई ‘सन्टि’ र बाहिरी भागलाई ‘जुट’ भनिन्छ। बाहिरी भाग अर्थात् जुटलाई बजारमा बिक्री गर्न सकिन्छ भने भित्री भाग घरेलु प्रयोजनमै अत्यावश्यक हुन्छ। जुटबाट बोराकाे साथै चटाई, नाम्लो, डोरीजस्ता दैनिक प्रयोगका सामान तयार पारिन्छन्।

व्यावसायिक आम्दानी कम भए पनि घरपरिवारका लागि उपयोगी सामग्री यही खेतीबाट उत्पादन हुने भएकाले मेहताले यसलाई निरन्तरता दिइरहेका छन्। उनका अनुसार, जुट खेती केवल आर्थिक दृष्टिकोणमा मात्र नभई सामाजिक र सांस्कृतिक दृष्टिले पनि महत्त्वपूर्ण छ।

सुप्रिया राई
प्रतिक्रिया