डेंगुप्रति सरकारी लापरवाही कहिलेसम्म ?

फाष्ट मिडिया नेपाल संवाददाता

डेंगु हरेक वर्ष भयावह बन्दै नेपालमा घुमिरहेको छ । विभिन्न महाकारी र प्रकोपको शिकार हुँदै दुई छाक टार्दै आएका नेपालीलाई डेंगुको उपचारमा ठूलो धनराशी खर्च हुँदै आएको छ । सामान्य ज्वरो, रुघाखोकी लाग्दा मानिसहरु अस्पताल जान छाडिसकेका छन् । सकेसम्म घरैमा उपचार गरेर निको हुने उनीहरको दिनचर्या बनेको छ । ५ वर्ष भन्दा बढी समयसम्म एउटै महामारीले जनता आक्रान्त हुँदा त्यसको निराकरण वा न्युनिकरण गरेर जनताको जिउधनको रक्षा गर्न सरकार चुकिरहेको छ । २०७६ सालदेखि देखिएको डेंगु २०८१ सम्म पनि न्युनिकरण त के रोकथाम समेत हुन सकिरहेको छैन । सरकार, राजनीतिक दल, सामाजिक अगुवा वा विभिन्न सामाजिक संघसंस्थाहरु आ–आफ्नै डम्फु बजाएर नाचिरहेका छन् । घरघरमा डेंगुका बिरामी छटपटाईरहेका देखिन्छन् । कसैलाई डेंगुप्रति न चिन्ता देखिन्छ न चसो नै । 

सरकार राजनीतिक दल र सरकार टिकाउ अभियानमा मात्रै केन्द्रीत भएर जनताले भोगेका यस्ता कुरालाई सामान्य ठानिरहेको छ । जनताको डेंगुका कारणले मृत्युको मुखमा पुग्ने गरेका तथ्यहरु सरकारी आँकडाले नै देखाइरहेको छ । हालसम्म ११ जनाको ज्यान गएको छ । सरकारले डेंगुबाट हुने मृत्युदर शुन्यमा झार्ने लक्ष्य लिए पनि लक्ष्य अनुसारको काम गर्न नसकेका कारणले पछिल्लो समयमा ११ जनाको ज्यान गएको हो ।  त्यस्तै देशका ७७ जिल्लाबाट पछिल्लो समयमा डेंगु संक्रमितको संख्या बढेर २७ हजार नाघिसकेको छ । यो रिपोर्ट आएपछि मात्र सरकारले चाल पायो कि डेंगुले जनतालाई पर्नु पिर परिरहेको रहेछ अनि हतार हतारमा मन्त्रीपरिषद्बाट निर्णय गराएर सामाजिक सञ्जालमा लेखि हाले प्रधानमन्त्रीले– हरेक शुक्रबार बिहान १० बजे डेंगु नियन्त्रणका लागि लार्भा नष्ट अभियान थाल्ने र सो अभियानमा लाग्न आग्रह समेत गरे । शुक्रबार नै स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि चाल पाएपछि अपिल गरिहाले । 

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले डेंगुको पछिल्लो अवस्थाका विषयमा जानकारी गराएपछि र सार्वजनिक गरेपछि सरकार झस्कियो र हतार हतारमा नियन्त्रणका प्रयासका कदम सार्वजनिक ग¥र्यो । वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनले सरकारले मनसुन सुरु हुनुअघि नै डेंगु नियन्त्रणमा चासो देखाएको भए अहिलेको जस्तो भयावह अवस्था नआउने बताए। सरकार र नागरिकस्तरबाट सम्भावित लार्भा भएको ठाउँमा औषधि छर्कने र पानी जम्न नदिने तथा सरसफाइका काम गरेको भए भयावह अवस्था नआउने जिकिर पनि गरेका छन् । 

त्यसो त डेंगु नियन्त्रणका लागि हरेक वर्ष बजेट छुट्याउँदै नियन्त्रणका प्रयास नभएका होइनन तर ति सबै फजुल देखिएका छन् । ५, ६ वर्षको अवधिमा राज्यले ठूलो धनराशी खर्च गरिसकेको छ तर प्रतिफल शुन्य देखिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले डेंगु नियन्त्रणमा राज्यले अघि सारेका रणनीति र कार्यनीति कमजोर भएको स्विकारेरु। उनले यसअघिका रणनीति र कार्यनीतिले काम नगर्दा डेंगु संक्रमण फैलिएको बताएरु। यसअघिका कार्यक्रम प्रभावकारी नभएका कारण अब प्रभावकारी रुपमा डेंगु नियन्त्रणमा लाग्ने निर्णय निर्णयसहित सरकार अगाडि बढेको डा. बुढाथोकीले बताए ।  मौसमअनुसार गर्मी समयमा लामखुट्टे बढी फैलिन्छरु। जाडो यामसँगै लामखुट्टे र लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण दर पनि घट्दै जाने आकलन गरिएको छरु। इडिसिडीका अनुसार लामखुट्टे फैलने र डेंगुका बिरामीको संख्या बढ्ने समय मुख्य त वैशाखको पहिलो सातादेखि कात्तिकको पहिलो सातासम्म होरु। कात्तिक लागेसँगै राजधानीलगायत पहाडी जिल्लामा चिसो बढेको छरु। चिसो बढेसँगै डेंगु संक्रमण पनि कम हुँदै जाने बताइन्छरु। यद्यपि उच्च पहाडी तथा हिमाली भुभाग जहाँ चिसो नै भईरहने ठाउँमा पनि डेंगुको जोखिम थप बढेको देखिन्छ ।  महाशाखाका अनुसार हुम्लामा पनि संक्रमित देखिएको बताएको छ । 

डेंगु महामारी फैलिएको यतिका वर्षसम्म नियन्त्रण हुन नसकेपछि सरकार वा समुदाय कहाँ चुक्यो अब यसलाई निर्मुल गर्न प्रभावकारी रुपमा कसरी अगाडि बढ्ने भन्ने कुनै योजना कसैसँग छैन । त्यै एउटा लार्भा नष्ट गर्न केही दिन गरेजस्तो गर्ने अनि छोड्दिने प्रवृत्ति बढेको कारणले पनि जनताले डेंगुबाट दुःख पाईरहेका छन् । दिर्घकालिन सोच र योजनाका साथ डेंगु नियन्त्रणमा सरकार अगाडि बढ्न आवश्यक देखिन्छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया