विश्व धनाढ्य एलन मस्कले नेपालमा इन्टरनेट क्षेत्रमा लगानी गर्ने प्रस्ताव

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं । विश्वकै धनाढ्य एलन मस्कले नेपालको इन्टरनेट क्षेत्रमा लगानीको प्रस्ताव गरेका छन । उनको स्पेसएक्स कम्पनीले नेपालमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा सञ्चालन गर्ने प्रस्ताव गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणमा पनि केही महिनाअघि स्टारलिंक सेवा सुरु गर्ने सहमति (लाइसेन्स) माग्दै आवेदन दिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता नेत्र सुवेदीले एलन मस्कको कम्पनीबाट स्टारलिंक सेवा सञ्चालन गर्ने प्रस्ताव आए दिने÷नदिने विषयमा निर्णय नभइसकेको बताएका छन् । उनले भने, ‘आवश्यक अध्ययन गरेर यसबारे उचित निर्णय गर्नेछौँ ।’ स्पेसएक्सले विभिन्न देशमा डेडिकेटेड स्याटेलाइट इन्टरनेट सेवा (स्टारलिंक) विस्तार गरिसकेको छ ।

विश्वकै धनीले नेपालमा लगानी गर्न खोज्नुलाई महत्वका साथ हेरिएको छ । उनको लगानी नेपालमा भित्रिए अन्य विदेशी लगानी समेत भित्रिने बाटो खुल्ने अपेक्षा गरिएको छ । कम्पनीले परियोजनामा अधिकतम ६ अर्बसम्म लगानी गर्न सक्ने बताइएको छ ।

स्टारलिंकले भूउपग्रहहरूको व्यापक सञ्जालबाट इन्टरनेट सेवा उपलब्ध गराउँछ । यो दुर्गम क्षेत्रमा बस्ने र द्रुत गतिको इन्टरनेटमा पहुँच नहुने मानिसहरूका लागि लक्षित छ । स्टारलिंकका भूउपग्रहहरू एक अर्काबीच सञ्चार सम्पर्क गति र पृथ्वीमा इन्टरनेटको गति तीव्र बनाउने उद्देश्यले कक्षको तल्लो तहमा पृथ्वीको वरिपरि राखिएका छन् ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया