२४ घण्टमा– बालेन्द्र शाहको नेतृत्वमा सरकार गठनदेखि मन्त्रिपरिषद्का निर्णय र केपी ओली, रमेश लेखक पक्राउसम्म

फाष्ट मिडिया नेपाल संवाददाता

गएको २४ घण्टामा नेपालमा निकै ठूला घटनाहरु भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्नेदेखि जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानविन गर्न बनेको आयोगको सिफारिसका आधारमा देशमा ठूला भनिएका दलका नेताहरु पक्राउ समेत परिसकेका छन् । अरु के के भए गएको २४ घण्टामा सरसर्ती हेरौं । 

जेनजी आन्दोलनकारीलाई दमन गर्न भूमिका खेलेको आरोप लागेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी परिसर भद्रकाली र्पुयाएको छ ।  

उनीहरुलाई परिसरकै हिरासतमा राखिने भएको एक प्रहरी अधिकारीले बताए । 

आज सार्वजनिक बिदा भएकाले उनीहरुलाई प्रहरीले आइतबार मात्रै अदालतमा उपस्थित गराउने छ । प्रहरीले दुबैलाई शनिबार बिहान भक्तपुरस्थित उनीहरूकै निवासबाट पक्राउ गरेको हो । 

ओली र लेखक पक्राउलाई सम्बद्ध दलले प्रतिशोधको राजनीति भन्दै विरोध गरेका छन् भने गृहमन्त्री सुधन गुरुङलेचाहिँ न्यायको सुरुवात भएको टिप्पणी गरेका छन् । पक्राउबारे कतिपयले समाजिक सञ्जालमा समेत यही पक्ष विपक्षमा टिकाटिप्पणी गरेका छन् । 

००००

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पक्राउलाई प्रतिशोधपूर्ण भएको टिप्पणी गरेका छन्। 

जेनजी आन्दोलनका क्रममा नागरिकको ज्यान गएको घटनाको आरोपमा शनिबार बिहान भक्तपुरको गुण्डुस्थित निवासबाट पक्राउ पर्नुअघि ओलीले सरकारको यो कदम राजनीतिक बदलाको भावनाबाट प्रेरित रहेको बताएका हुन्।

००००

गृहमन्त्री सुधन गुरुङले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नु प्रतिशोध नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गुरुङले प्रतिशोधभन्दा पनि न्यायको शुरूआत भएको उल्लेख गरेका छन् ।

००००

पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गिरफ्तारीलाई लिएर नेकपा एमालेले विरोध प्रदर्शन गर्ने भएको छ । प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न एमालेले प्रदर्शन गर्ने एमाले सचिव महेश बस्नेतले जानकारी दिए । 

‘प्रतिशोधको राजनीतिबाट देशलाई जोगाउन र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न, एमालेको तर्फबाट आजदेखि शुरू हुने प्रदर्शनमा सहभागी बनौं । कार्यक्रमबारे विस्तृत जानकारी केही समयमा दिइनेछ,’ सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले लेखका छन् । यसैबीच एमालेले आकस्मिक बैठक समेत बोलाएको छ । 

००००

प्रधानमन्त्री बालेन शाह नेतृत्वको नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले गरेको निर्णयप्रति नेकपा ९एमाले० निकट २३ वटा जनवर्गीय संगठनहरूले आपत्ति जनाउँदै चेतावनी दिएका छन् ।

२३ संगठनहरूले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयलाई ‘प्रतिशोधपूर्ण’ र ‘पूर्वाग्रही’ भन्दै तत्काल फिर्ता लिन माग गरेका हुन् ।

००००

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह पूजापाठ गरेर बालुवाटारस्थित सरकारी निवास छिरेका छन् ।

शुक्रबार प्रधानमन्त्रीको निवासमा प्रवेश गर्ने क्रममा बालेनले पूजापाठ गरेका हुन् ।

प्रांगणमा विधिपूर्वक पूजा गर्नुका साथै उनले प्रवेशद्वारमा पनि पूजा गरेका थिए ।

बालेनले शुक्रबार नै राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए । शपथका लागि पनि मध्याह्न १२ः३४ को शुभसाइत रोजिएको थियो ।

निवर्तमान प्रधानमन्त्री सुशीला कार्की निजी निवासमा फर्किएपछि बालेनका लागि बालुवाटार खाली गरिएको थियो । बालेन नेतृत्वको मन्त्रिपरिषद् हाल १५ सदस्यीय छ । 

००००

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् । 

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिअनुसार प्रधानमन्त्री शाहले रक्षा र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैंसँग राखेका छन् ।

दोस्रो वरीयतामा अर्थ मन्त्री डा स्वर्णिम वाग्ले छन् भने तेस्रो वरीयतामा गृहमन्त्री सुधन गुरुङ छन् ।

परराष्ट्रमन्त्री शिशिर खनाललाई चौथो, भौतिक पूर्वाधार तथा यातायातस शहरी विकासमन्त्री सुनिल लम्सालको वरीयता पाँचौं छ ।

त्यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ छैटौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल सातौं वरीयतामा छन् ।

शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेल आठौँ, स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानी मन्त्री निशा मेहता नवौं वरीयतामा छन् ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिना दशौं, संघीय मामिला तथा सामान्य प्रशासन र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल ११ औं वरीयतामा छन् ।


कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम १२ औं, कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरी १३ औं, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साह १४ औं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादी १५ औं वरीयतामा छन् ।

००००

नवनियुक्त प्रधानमन्त्री बालेन शाहले आफ्नो कार्यालयलाई चुस्त र प्रभावकारी बनाउन सचिवालय गठन गरेका छन् । 

जसअनुसार प्रधानमन्त्रीको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त भएका छन् ।  यस्तै, प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त हुँदा मुख्य स्वकीय सचिवको जिम्मेवारी सुवास शर्मालाई दिइएको छ ।

००००

सरकारले महान्यायाधिवक्ता सविता भण्डारीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री र मन्त्रीहरूले शपथ गरेपछि सिंहदरबारमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले महान्यायाधिवक्ता भण्डारीले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया