इटहरी । सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका–५ मा अवस्थित अमाह सिमसार प्राकृतिक, धार्मिक र पर्यटन दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण स्थलका रूपमा चिनिन्छ। एउटै स्थानबाट तातो, मनतातो तथा चिसो पानीको मुहान निस्कने दुर्लभ विशेषताले यस सिमसारलाई अझ आकर्षक बनाएको छ।
चारवटा विशाल पोखरीसहितको यस पर्यटकीय क्षेत्रभित्र फिसिङ, बोटिङ, स्वीमिङ जस्ता मनोरञ्जनात्मक गतिविधिहरूका साथै झोलुङ्गे पुल, काठे पुल र विभिन्न प्रजातिका वनस्पति अवलोकन गर्न सकिन्छ। हरियालीले भरिपुर्ण यस सिमसार प्रवेश गर्न १० रुपैयाँ शुल्क तोकिएको छ भने पिकनिक, पार्टी तथा कार्यक्रम सञ्चालन गर्न १,०००, ७०० र ५०० रुपैयाँका दरले शुल्क निर्धारण गरिएको सिमसार उपभोक्ता समितिका अध्यक्ष भोजराज धलेले जानकारी दिए।
भारतको बिरपुर, जोगबनीदेखि नेपालका बिराटनगर, उदयपुर, सर्लाही, सिराहा, इनरुवा, धनकुटा लगायतका स्थानबाट दैनिक २०० भन्दा बढी पर्यटक यहाँ आउने गरेको अध्यक्ष घलेले बताए। उनका अनुसार एउटै ठाउँबाट चिसो, तातो र मनतातो पानी निस्कने मुहान पनि पर्यटकहरूको विशेष आकर्षण बनेको छ।
अमाह सिमसार क्षेत्रभित्र अवस्थित अमाह देविथान धार्मिक आस्थाको महत्वपूर्ण केन्द्र मानिन्छ। स्थानीय जनविश्वासअनुसार गाई–वस्तु वा कुनै सामान हराएमा यहाँ परेवा चढाई भाकल गर्दा भेटिने विश्वास रहिआएको छ। उभौली–उधौलीका अवसरमा विशेष पूजा–अर्चना गर्ने परम्परा पनि प्रचलित छ।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था र साहसिक मनोरञ्जन गतिविधिको संगम रहेको अमाह सिमसार प्रदेश–१ को महत्त्वपूर्ण पर्यटन गन्तव्यका रूपमा तीव्र रूपमा विकास हुँदै गएको देखिन्छ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो