अविरल वर्षाको विडण्डा अझै सक्रिय, गोर्खाको धार्चेमा पहिरोले पुरिएर ५ जना बेपत्ता

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । गत जेठ २८ देखि सुरु भएको मनसुन अझै सक्रिय भएर जनधनको क्षति भईरहेको छ । पछिल्लो रिपोर्ट अनुसार आज बिहानै गोरखाको धार्चे–५ मा पहिरो जाँदा ५ जना बेपत्ता भएका छन् । बेपत्तामध्ये तीन जना एउटै परिवारका छन् । उनीहरुको अवस्थाको सन्दर्भमा यो समाचार तयार पार्दा सम्म आउन सकिरहेको छैन । बिहान करिब तीन बजेतिर एउटा घर र एउटा कृषि फर्मलाई पहिरोले पुरेको स्थानीयको भनाई उदृत गर्दैै समाचार आएका छन् । 

गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पहिरोमा घर र कृषि फर्म पुरिएको खबर पाएलगत्तै खोज तथा उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको जानकारी दिए । उनका अनुसार खोर्लाबेसीबाट नेपाली सेना र आरुघाटबाट सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

यसैगरी पहिरोले डुम्रे–बेसीसहर–चामे सडक अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षासँगै सडकका विभिन्न ठाउँमा पहिरो खसेर अवरुद्ध भएको हो ।

लमजुङ जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईंका अनुसार तनहुँतर्फ बेँसीसहर नगरपालिका(१ दलाल र मनाङतर्फ सोही पालिका–६ खरखरे भिरमा पहिरो खसेकाले सडक अवरुद्ध भएको छ । खरखरे भिरमा ठूला(ढुङ्गासहितको पहिरो खसेको छ । उक्त सडकका विभिन्न भागमा पहिरो खस्ने क्रम रोकिएको छैन ।

सडक अवरुद्ध हुँदा बेसीसहरबाट मनाङ जाने तथा तनहुँ हुँदै काठमाडौं, पोखरा, चितवनलगायत स्थान प्रस्थान गर्ने तथा उक्त स्थानबाट बेसीसहर आवातजावत गर्ने सवारीसाधन अलपत्र परेका छन् ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया