तपाईको नेतृत्वमा दमक बहुमुखी क्याम्पसलाई कस्तो बनाउन चाहनुहुन्छ ?
यस क्याम्पसलाई देशकै एक नमुना क्याम्पस बनाउने हाम्रो योजना छ । यहाँबाट उत्पादित शैक्षिक जनशक्तिलाई देशभित्रै अवसर दिएर खपत गराउन सकियोस् भन्ने हाम्रो अर्को मकसद रहेको छ । त्यसका लागि विद्यार्थीलाई ‘कमाउ र पढ’ भन्ने कार्यक्रम ल्याउने तयारी गरिरहेका छौं । यो परियोजनाका लागि क्याम्पसमा कार्यालय कक्ष, आवश्यक भौतिक सामग्री र संरचनाहरुको व्यवस्था पनि गरिसकेको अवस्था छ । विश्वविद्यालय अनुदान आयोगले पनि यो कार्यक्रमलाई विशेष प्राथमिकता दिएको छ ।
अहिलेको अवस्थामा यो संभव होला र ?
अवश्य पनि संभव छ, हामी गरेर देखाउँछौं । क्याम्पसमा अध्ययन गरुन्जेल मात्र काम दिने होइन, पास आउट भइसकेपछि पनि के कस्तो दिगो रोजगारीको व्यवस्था गर्न सकिन्छ भनेर खोजी भइरहेको छ । सोही सन्दर्भमा विभिन्न विषयका विज्ञहरुलाई एकै ठाउँमा राखेर अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ । नेपालमा उत्पादित जनशक्ति स्वदेशमै रोजगारी या स्वरोजगारीमा लाग्ने उचित वातावरण निर्माण हुन सकोस् भन्ने हाम्रो मान्यता हो ।
क्याम्पसका भावी योजनाहरु के कस्ता छन् ?
मुख्यत ः यस क्याम्पसलाई पूर्वकै शैक्षिक हवका रुपमा विकास गर्ने हाम्रो उद्देश्य छ । क्यूएए प्रमाण पत्र प्राप्त भएकाले गुणस्तर र नतिजामा हामीले अब्बल हुनैपर्छ । यसमा कुनै सम्झौता हुनै सक्दैन । त्यसका लागि प्राध्यापकहरुदेखि क्याम्पस संचालक समिति र प्रशासन डटेर लाग्नुपर्छ, एकढिक्का भएर लागीपरेका पनि छौं । अर्को कुरा दमक र आसपासका विद्यार्थीहरुलाई उच्च शिक्षा आर्जन गर्न सकस नपरोस् भनेर यातायातको व्यवस्था गर्ने कुरामा अहिले विशेष जोड दिइरहेका छौं । हाल एउटा बस संचालनमा छ, ३ वटा बस खरिदको प्रकृया अघि बढ्न लागेको छ । बसको संख्या १० पुर्याउन विशेष पहलकदमी भइरहेको छ ।
पब्लिक क्याम्पस हो, आर्थिक स्रोत जुटाउन र संचालन खर्च व्यवस्थापन गर्न कतिको चुनौती छ ?
क्याम्पसको मुख्य आयस्रोत भनेको विद्यार्थीबाट लिइने शुल्कनै हो । यसबाहेक संघीय, प्रदेश र स्थानीय सरकारको अनुदान, चन्दादाताहरुको सहयोगबाट संचालन खर्च व्यवस्थापन गर्छौं । अहिले क्याम्पसलाई कुनै पनि प्रकारको ऋणको भार छैन । समयमानै प्राध्यापक र कर्मचारीहरुको तलब भत्ता र सुविधा दिन सकेका छौं । विगतमा भन्दा अहिले क्याम्पसको आर्थिक अवस्था सुध्रिएको छ ।
तपाई संचालक समितिको अध्यक्ष भएर आएपछि के कस्तो सुधार भएको छ ? के कुरामा गर्व लाग्छ ?
विद्यार्थीहरुको आकर्षण बढेको छ । धेरै संकाय र विषयहरुको अध्ययन अध्यापन हुन्छ । परीक्षाको नतिजामा पनि सुधार आएको छ । विद्यार्थीबाट लिइने शुल्क पनि तुलनात्मक रुपमा कम छ । विपन्न, जेहेन्दार, पिछडिएका, सिमान्तकृत, आदिवासी, जनजाति, दलितलाई विशेष छात्रवृत्तिको व्यवस्था गरिएको छ । यातायातको लागि यथेष्ट संख्यामा बसको व्यवस्थापन गर्न लागेका छौं । क्याम्पसलाई डिजिटलाइजेशन गरेका छौं । अर्कातर्फ, संचालक समिति, विद्यार्थी र प्रशासनका बीचमा सौह्राद्र्धपूर्ण सम्बन्ध छ । सहकार्य र समन्वयमा निर्विवाद निर्णयहरु हुने गरेका छन् । यि कुराले भने गर्व लाग्ने मात्र होइन, सन्तुष्टि पनि मिल्ने गरेको छ । विद्यार्थीहरुको संख्या अझै बढ्ने अपेक्षा रहेको छ । यस क्याम्पसले गर्दा दमकको पर्यटकीय महत्व पनि बढेको छ ।
विद्यार्थीहरु विदेश जाने क्रम बढेका बेला भविष्यमा क्याम्पसलाई टिकाउन के गर्नुपर्ला ? राज्यले के गर्नुपर्ला ?
पब्लिक क्याम्पसलाई टिकाउने कुरामा सरकारको ध्यान भनेजति पुग्न सकेको देखिँदैन । मुख्यतः हाम्रो बल के मा रहन्छ भने यस क्याम्पसलाई त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन सकियोस् । राज्यले पनि यसका लागि विशेष चासो र ध्यान दिनुपर्छ । पुरानो, प्रतिष्ठित र धेरै विद्यार्थी संख्या भएको हिसाबले पनि, अनि संचालक समिति, प्राध्यापक, कर्मचारी, सल्लाहकार समिति, अभिभावक, स्ववियू र विद्यार्थी सबैको सक्रियता रहेकाले पनि सरकारले यसमा विशेष ध्यान पुर्याए वेश हुने थियो । क्याम्पस पनि दिगो र चिरस्थायी हुन मद्दत पुग्ने थियो ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो