नेपाल यसवर्ष पनि भ्रष्टाचार धेरै हुने मुलुककै सूचीमै रह्यो । ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको सन् २०२४ को भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा नेपाल व्यापक भ्रष्टाचार हुने मुलुकमै परेको हो । सीपीआई २०२४ मा नेपाललाई १०० मा ३४ अंक दिइएको छ । १८० मुलुकमध्ये नेपाल १०७ औं स्थान छ । सीपीआई २०२३ मा नेपाल ३५ अंकसहित १०८औं स्थानमा थियो । यसले नेपालमा भ्रष्टाचार अझ बढेको इंगित गरेको छ । यसैको सेरोफेरोमा नेपालमा भ्रष्टाचार रोक्न स्थापना गरिएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३४ औं स्थापना दिवस पनि मनाएको छ ।
स्थापना दिवसलाई केन्द्रमा राखेर केन्द्र, प्रदेश हुँदै स्थानीय तहभित्र समेत व्याप्त रहेको भ्रष्टाचार अन्त्य गर्न आयोगको कार्यालय इटहरीले अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । दमक नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा अख्तियार आफ्नो कार्यक्षेत्रभित्र पर्ने विषय र भ्रष्टाचारका सम्बन्धमा बिस्तृत सचेतनामूलक कार्यक्रम आयोजना गरेको हो । भ्रष्टाचार के हो, यसका विभिन्न आयाम, आयोगको रणनीति, नियन्त्रणका लागि चालिने र चालिएका कदम, कसरी भ्रष्टाचार हुन्छ, नेपालमा हुने भ्रष्टाचारका प्रकृति र प्रवृत्ति, नियन्त्रणका लागि के गर्न सकिन्छ र भ्रष्टाचारको चंगुलबाट जोगिन जनप्रतिनिधि र कर्मचारीहरुले के कस्तो सजगता अपनाउने भन्ने विषयमा सचेतना दिइएको थियो ।
त्यस क्रममा दमक नगरपालिकाका नगरप्रमुख राम कुमार थापाले गहन र महत्वपूर्ण विषय राखे– उजुरी नपरीकनै सरकारी कार्यालय र सार्वजनिक निकायहरुमा छापा मार्न सके कसैले पनि भ्रष्टाचार गर्न आँट नगर्ने र सजग रहन उत्प्रेरित गर्नेछ । वास्तवमा नेपालको तीन तहको सरकारमा भ्रष्टाचार व्याप्त छ । माथिल्लो तहदेखि भ्रष्टाचारका विभिन्न आयामहरु सिकाउँदै स्थानीय तहसम्म आइपुगेको विभिन्न रिपोर्टहरुले समेत देखाइसकेको सन्दर्भमा अख्यितारको दायरा फराकिलो बनाएर अधिकार सम्पन्न निकायमा परिणत गर्नुपर्ने देखिन्छ ।
उजुरी परेपछि वा कसैले गुनासो गरेपछि भन्दा पनि आफ्नो कार्यक्षेत्रभित्र अख्तियारको एउटा टोली महिनाभरि भ्रष्टाचारका अखडा मानिएका स्थान सरकार वा सार्वजनिक स्थानहरुको निरीक्षण र अवलोकन गर्ने मात्र नभएर त्यस्तै परे छापा मार्ने र त्यसको रिपोर्ट जनता सामु महिनामा एक पटक सार्वजनिक गर्ने परिपाटीको विकास गर्न सकियो भने पक्कै पनि भ्रष्टाचार गर्न जोकोहीले आँट गर्न सक्दैन र भ्रष्टाचार आफै सेलाएर जाने आधार बन्न सक्छ । अहिलेकै नीति र शैली अनुसार भ्रष्टाचार न्यनिकरण वा रोक्न अख्तियारलाई निकै सक्ने देखिँदैन । परेका उजुरीमाथि पनि छिटोछरितो माध्यमबाट टुंग्याईदिने र सहज सेवा प्रदान गर्ने अख्तियारका खाँचो छ । संघीय सरकारले पनि अख्तियारलाई सुविधा सम्पन्न र अधिकारसम्पन्न बनाएर भ्रष्टाचारको जरो उखेल्ने अभियानमा स्वतन्त्र, निष्पक्ष र पारदर्शी ढंगबाट अगाडि बढाउन जरुरी छ । ऐन, नियमको पालना गर्न र घुस खान वा खुवाउन नसक्ने वातावरण बनाउने आधिकारिक संस्था अख्तियारको सक्रियता, अनुगमन र उजुरीप्रतिको चाङ लाग्न नदिई छिटो निर्णय शैली ल्याउन सकेको खण्डमा भ्रष्टाचार घटने क्रम सुरु गर्न सकै बनाउन जरुरी देखिन्छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो