कामदारका लागि “सेफ्टी फस्ट” अनिवार्य गर

फाष्ट मिडिया नेपाल संवाददाता

केही दिन अगाडि मात्र झापाको बिर्तामोडमा विद्युत् प्राधिकरणका एक कर्मचारीको काम गर्दागर्दै ज्यान गयो । अर्जुनधारा–४ निवासी प्राधिकरणका फिल्ड कर्मचारी ३५ वर्षीय दिपक पाण्डेको निधन भएको हो । ट्रान्समिटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई अस्पताल लगिए पनि ज्यान जोगिएन । यो घटनासँगै प्राधिकरणका फिल्ड कर्मचारीप्रतिको सुरक्षा व्यवस्था चुस्त र दुरुस्त नभईदिँदा अर्थात् उनीहरुको सेफ्टीप्रति ध्यान नपु¥याउँदा सैयौको ज्यान गईसकेको छ । कामको शिलशिलामा करेन्ट लागेर विद्युत प्राधिकरणका फिल्ड कर्मचारी पाण्डेको निधनले विद्युत पूर्वाधार क्षेत्रमा कार्यरत प्राविधिकहरूको जीवन सुरक्षामा रहेको कमजोरीलाई उजागर गरेको छ । विद्युतजस्तो उच्च जोखिमयुक्त क्षेत्रमा कार्यरत कर्मचारीहरूप्रति सम्बन्धित निकायहरूको ध्यान दिनुपर्ने बेला यही हो । यस्तो खतरापूर्ण कार्यका लागि आवश्यक सुरक्षा उपकरण, पर्याप्त तालिम र कार्यको पूर्वतयारी नहुनु ज्यानमाथिको सिधा हमला हो भन्न कठिन नहोला ।

पाण्डेको मृत्यु केवल एउटा व्यक्ति गुमाउनु मात्र होइन, यो राज्यको लापरबाहीका कारण एकजना योग्य कर्मचारीले जीवन गुमाउनु हो । यस्तो घटना पटक–पटक भइरहँदा पनि जिम्मेवार निकायहरूले गम्भीरता नदेखाउनु गम्भीर लापरबाही हो । फिल्डमा काम गर्ने कर्मचारीहरू प्रायः न्यून तलब, अपूर्ण सुरक्षा सामग्री र उच्च जोखिमबीच काम गर्न बाध्य छन् । विद्युत् शक्तिबाट सर्वप्रथम करेन्टसँग दिनरात खेल्ने कर्मचारी सुरक्षित रहनु पर्छ । त्यसका लागि फिल्डमा खटिने प्राविधिक कर्मचारीले इलेक्ट्रिकलसम्बन्धी आधारभूत ज्ञान र सिप प्राप्त गरेको हुनुपर्दछ । उक्त ज्ञान र सिपको कमी भएका कर्मचारी पहिचान गरी प्राधिकरणले ती कर्मचारीलाई विद्युतीय सुरक्षासम्बन्धी तालिम प्रदान गर्नुपर्छ । त्यसैगरी कर्मचारीले विद्युतसम्बन्धी काम गर्दा ‘सेफ्टी फस्र्ट’ अर्थात् पहिला आफू सुरक्षित रहने कुरालाई प्राथमिकतामा राख्नु पर्छ । आफू सुरक्षित रहन हेल्मेट, पन्जा, सेफ्टी सुज, सेफ्टी बेल्टलगायतका विद्युतीय सुरक्षा सामग्री प्रयोग गर्नुपर्छ । विद्युतसम्बन्धी मर्मतसम्भारलगायतको काम गर्दा करेन्ट अफ गरेर मात्र काम गर्नुपर्छ । सबैभन्दा संवेदनशील कुरा यससम्बन्धी कुराको जानकारीका लागि लाइन काट्ने र पोल चढ्नेबिच उचित समन्वय अति आवश्यक छ । विद्युतसम्बन्धी कुनै नौलो वा जानकारी नभएको विषयवस्तु भए आफ्ना सिनियरलाई सोधेर जानकारी लिएर मात्र काम गर्नुपर्छ ।

नेपाल सरकार र विद्युत् प्राधिकरणले समय समयमा जनचेतनामूलक कार्यक्रिम सञ्चालन गरेर अमूल्य जीवन रक्षार्थ जनतालाई सतर्कता र सावधानीका सूचनामूलक सन्देश प्रवाह गर्नुपर्छ । अब आवश्यक छ– विद्युत प्राधिकरणले यस घटनालाई केवल – दुर्घटनाको रूपमा होइन, एक चेतावनीका रूपमा लियोस् । कर्मचारीको सुरक्षा सुनिश्चित गर्नु केवल नीतिगत कुरा होइन, यो नैतिक जिम्मेवारी पनि हो । यस घटनाले देखाएको पीडा र त्रासबाट पाठ सिक्दै तत्काल सुरक्षाका उपायहरू अपनाइयोस् । दुर्घटनापछि होइन, दुर्घटनाअघि नै जीवन जोगाउने वातावरण बनाउन ‘सेफ्टी फष्ट’ लाई जिम्मेवार ढंगले कार्यान्वयनका लागि तदारुकता देखाउन जरुरी देखिन्छ । 

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया