रास्वपाका सभापति हिरासतमुक्त हुने वित्तिकै राष्ट्रिय राजनीति तरंगीत, प्रधानमन्त्री ओली विरुद्ध मोर्चाबन्दी

खगेन्द्र कार्की

इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हिरासतमुक्त हुने वित्तिकै राष्ट्रिय राजनीति तरंगित बनेको छ । लामिछाने निस्केकै भोलिपल्टै चारैतिरबाट प्रधानमन्त्री ओलीका विरुद्धमा मोर्चाबन्दी सुरु भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाहदेखि सत्तारुढ दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, मधेसवादी दलहरु सबै एक ठाउँमा उभिएको घटनाक्रमले देखाएको छ । शुक्रबार भएका गतिविधिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको भविष्यमाथि प्रश्न उठ्ने गरी राजनीतिक घटनाक्रम विकास भएको देखिन्छ । 

ओलीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकमा संविधान संशोधन २०८७ सालमा मात्रै हुने बताएपछि सात बुँदे सहमति गरेर सत्ता सहयात्रा सुरु गरेको काङ्ग्रेस नराम्रोसँग झस्किएको छ।

सात बुँदे सहमतिको दोस्रो बुँदा ओलीले पार्टी बैठकमार्फत अस्वीकार गरेपछि काङ्ग्रेस नेताहरु गठबन्धनको औचित्य सकिएको निष्कर्षमा पुगेका छन्। शुकवारसम्म काङ्ग्रेसका आधा दर्जन नेताहरुले प्रधानमन्त्रीको भनाइ सात बुँदे सहमति विपरीत आपत्तिजनक रहेको सार्वजनिक रुपमै व्यक्त गरेका छन्। महामन्त्री विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता अर्जुननरसिँह केसी, भीष्मराज आङ्देम्बे, मिनेन्द्र रिजालसहितका नेताहरू प्रधानमन्त्रीको भनाइले सत्ता सहकार्यमा प्रश्न उठेको बताएका छन्।

केसीले प्रष्ट भाषामा बिहीबार सात बुँदे सहमति र सरकारको औचित्य सकिएको दाबी गरेका छन्। उनले भने, “जे विषयमा जनतासामु प्रतिवद्धता जनाइएको छ त्यो पूरा गर्न लाग्नुपर्छ। जथाभावी बोलेर हुँदैन। सातबुँदेमा जे छ लागू गर्नुपर्छ।”

काङ्ग्रेसको चाहना विपरीत प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा बिआरआइ फ्रेमवर्कमा हस्ताक्षर गरेका थिए। उक्त प्रकरणमा परराष्ट्रमन्त्री आरजु राणाले अपमानित महसुस गरेर काङ्ग्रेसनिकट स्रोत बताउँछ।

सरकारको विषयलाई लिएर काङ्ग्रेसभित्र देखिनेगरी असन्तुष्टि बढिरहेका बेला विपक्षी दलहरू पनि सक्रिय भएका छन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको देखिनेगरी भेटघाट बढेको छ। बिहीबार सिंहदरबारमा भेटेका दाहाल(नेपालले शुक्रबार पनि त्यसलाई निरन्तरता दिएका छन्।

माओवादी संसदीय दलको कार्यालयमा भएको भेटमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसमेत मिसिए। तीन नेताको भेटपछि दाहालले अब ओली नेतृत्वको सरकार चल्दै नचल्ने घोषणा गरे। उनले भने, ‘यो गठबन्धन अप्राकृतिक छ। अलोकतान्त्रिक छ। यो सरकार चल्दै चल्दैन।’

त्यस्तै अध्यक्ष नेपालले ओलीको अभिव्यक्ति २०८७ सम्ममा चुनाव नै नगराइ सत्तामा बस्ने नियतका साथ आएको आरोप लगाए।

लिङ्देनले नेताहरूलाई पृथ्वी जयन्तीका अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रम सहभागिता लागि निम्तो दिन भेटेको जानकारी दिँदै समसामयिक विषयमा पनि कुरा भएको स्वीकार गरे। उनले भने, “म निम्ता दिन आएको थिए। भेट भएपछि समसामयिक विषयमा पनि कुराकानी भए।”


देखिने गरी मात्रै नभइ ओली सरकारको विकल्प खोज्न सभापति देउवा र अध्यक्ष नेपालबीच पनि गोप्य भेटवार्ता बाक्लिएको छ। स्रोतका अनुसार उनीहरूबीच केही दिनयता पटक(पटक भेट भए पनि ठोस निष्कर्षमा पुगेका छैनन्।

रास्वपा सभापति रवि लामिछाने बिहीबार धरौटीमा रिहा भएसँगै सरकार विरोधी मोर्चा थप बलियो भएको छ।

अर्कोतर्फ आन्तरिक रुपमा ओली थप आलोचित बन्न पुगेका छन्। भीम रावलसहित तीन नेतामा गरिएको कारबाही, पार्टी र सरकारको नेतृत्वप्रति एमालेमा तीब्र असन्तुष्टि देखियो।

मङ्गलबार सकिएको केन्द्रीय समितिको बैठकमा ओलीलाई निकट मानिने नेताहरूले नै उनको कार्यशैलीको खुलेर विरोध गरे।

स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन

३०३ औँ पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा बिहीबार नेपालगन्जबाट देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले पूर्वराजा ज्ञानेन्द्र्र शाहले पूर्ण प्रजातन्त्र नेपाली जनताको सपनामा सीमित रहेको टिप्पणी गरेका छन् । उनले स्वतन्त्रता र आवधिक निर्वाचनलाई मात्रै प्रजातन्त्र मान्न नसकिने भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘प्रजातन्त्र भनेको आममानिसको जीवन पद्धति हो । स्वतन्त्रता र केवल आवधिक निर्वाचनको चक्रले प्रजातन्त्रको मर्म र मौलिकता दर्शाउँदैन,’ पूर्वराजाले भनेका छन्, ‘आमनागरिकको सुरक्षा, न्याय, गाँस, वास, कपास, शिक्षा र रोजगारी सुनिश्चितसहितको स्वतन्त्रतालाई मात्रै पूर्ण प्रजातन्त्र मान्न सक्दछौँ । यस दृष्टिले नेपालमा पूर्ण प्रजातन्त्र अझै आमनेपालीको सपनामा सीमित रहेको बुझ्नुपर्छ ।’

नेपाल कसैको रणमैदान नभएको, तर अहिले सुनको कमण्डलु थापेर सहयोगको भिख माग्नुपरेको भन्दै उनले असन्तुष्टि जनाएका छन् । ‘हाम्रो सामर्थ, जनशक्ति निरन्तर बाहिरिँदै गएको छ। हामी सुनको कमण्डलु थापेर सहयोगको भिख माग्दै अरूलाई स्रोत र सिपको दुरुपयोग गरिरहेका छौँ,’ सन्देशमा भनिएको छ, ‘नेपाल कसैको रणमैदान होइन, हामी सबैको शान्ति थलो बनाउनुपर्छ । हाम्रो साझा घर नेपाल हो र साझा थर नेपाली हो ।’

पूर्वराजा ज्ञानेन्द्र अहिले नेपालगन्जमा छन् । अघिल्लो साता भारतको लखनउ पुगेर फर्केका उनले नेपालगन्जमा रेकर्ड गरिएको भिडियो सन्देश संवाद सचिव डा. फणीराज पाठकमार्फत सञ्चारमाध्यममा पठाएका हुन् । पूर्वराजाले भनेका छन्, ‘दुनियाँ जे विचारबाट राजी रहन्छ, आफ्नो धरातलले जे भन्छ, त्यसै आधारमा हाम्रो प्रजातान्त्रिक प्रणाली बढी लोकहितकारी बन्दछ ।’

पूर्वराजा ज्ञानेन्द्रले भनेका छन्, ‘वीरता, स्वाधीनता तथा गौरवमय मौलिक मान्यता बहन गरेको हाम्रो देश आजको विश्व व्यवस्थामा कुन कुनाभित्र छ ? सोचनीय छ ।’ उनले दिन प्रतिदिन भूराजनीति जोखिमपूर्ण र जटिल बन्दै गएको भन्दै राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश अहिले सान्दर्भिक भएको पनि बताएका छन् । ‘देश, देशको रक्षा, देश समृद्धिको सम्पूर्ण दर्शन दिव्योपदेशबाट लिन सकिने अवस्था हुँदाहुँदै परायाद्वारा सिर्जित वाद र विवादमा किन फसिरहेका छौँ, हामी सबैले आत्मसात गर्नुपर्छ,’ उनले भनेका छन् ।

खगेन्द्र कार्की
प्रतिक्रिया