फाष्ट मिडिया नेपाल न्युज डेक्स
इटहरी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भारतको चार दिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्किएका छन् ।
शनिबार साँझ स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा सञ्चारकर्मीलाई भ्रमणको उपब्धिका विषयमा जानकारी दिँदै विगतका भ्रमणभन्दा फरक, परिणाममुखी र भविष्यका लागि मार्गदर्शक बनेको बताएका हुन् ।
‘नेपाल र भारतबीच रहेको बहुआयामिक सम्बन्धलाई समानता र आपसी लाभका आधारमा थप मजबुद बनाउन यस भ्रमणले योगदान गरेको छ’, उनले भने, ‘भारतका प्रधानमन्त्री मोदीसँग खुलस्त कुरा भएपछि विश्वासको वातावरण सिर्जना भएको छ भने थाँती रहेका विषयलाई सम्बोधन गर्न सकिने विश्वासको राम्रो आधार तय भएको छ । विगतको भ्रमणभन्दा मैले फरक पाएको छु । सारभूत रूपमा यो भ्रमण परिणाममुखी र भविष्यका लागि स्पष्ट मार्ग निर्देशन गरेको छ ।’
प्रधानमन्त्री प्रचण्डले भ्रमणमा विभिन्न सात दस्तावेजमा हस्ताक्षर र आदानप्रदान भएको जानकारी दिए । नेपाल–भारत पारवहन सन्धि, पेट्रोलियम पूर्वाधार निर्माणसम्बन्धी समझदारीपत्र, दोधारा–चाँदनीमा एकीकृत जाँचचौकी तथा सुक्खा बन्दरगाहको निर्माण सम्बन्धमा समझदारीपत्र, फुकोट–कर्णाली चार सय ८० मेगावाट जलविद्युत् परियोजना विकाससम्बन्धी समझदारी पत्र, तल्लो अरुण छ सय ६९ मेगावाट जलविद्युत् परियोजनासम्बन्धी परियोजना विकास सम्झौता, नेपालको नेशनल क्लियरिङ हाउस लिमिटेड र भारतको नेशनल पेमेन्ट कम्पनी इण्डिया लिमिटेडबीच सीमापार विद्युतीय भुक्तानीसम्बन्धी समझदारीपत्र, नेपालको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र भारतको सुष्मा स्वराज विदेश सेवा संस्थान बीच समझदारी पत्रमा हस्ताक्षर एवं आदानप्रदान भएको उनले बताए । ।
त्यसका अतिरिक्त व्यापार, पारवाहन, लगानी प्रवर्द्धन, ऊर्जा व्यापार तथा क्रस बोर्डर ट्रान्समिसन लाइन, सिँचाइ, बाढी तथा डुबान नियन्त्रण, कृषि, सीमापार सम्पर्कको कनेक्टीभिटी बढाउन, रेल्वे सेवा सञ्चालन कार्य, पुल निर्माण तथा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह जस्ता पूर्वाधार निर्माण कार्य अघि बढाउने विषयमा गम्भीर छलफल भएको प्रधानमन्त्रीले जानकारी गराए ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो