कन्काईको माइखोलामा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाद्वारा डिस्पोज

फाष्ट मिडिया नेपाल संवाददाता

झापा । झापा जिल्लाको कनकाई नगरपालिका–४ स्थित माईखोला पुल नजिक शङ्कास्पद अवस्थामा कालो रङ्गको ब्याग फेला परेको छ थियो । उक्त शङ्कास्पद वस्तु होक्स भएको अरिदमन गण चारआलीले जनाएको छ ।

कालो झोलाको भित्री भागमा प्रेसर कुकरको ढकनी (बिड) जस्तो देखिने वस्तु तथा कालो र रातो रङ्गका तार देखिएपछि स्थानीयले शङ्कास्पद ठानी प्रहरीलाई जानकारी गराएका थिए।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको टोली घटनास्थलमा पुगेर क्षेत्र सुरक्षित राखेको थियो। त्यसपछि बिहान ७ः५० बजे नेपाली सेना श्री अरिदमन गण, चारआलीबाट सेनानीको कमाण्डमा खटिएको बम डिस्पोजल टोलीले आवश्यक सुरक्षा अपनाउँदै अनुसन्धान अघि बढाएको हो।

बम डिस्पोजल टोलीले बिहान १०ः११ बजे उक्त ब्यागमा रहेको शङ्कास्पद वस्तुलाई नियन्त्रित विस्फोट गरी सुरक्षित रूपमा डिस्पोज गरेको जनाएको छ। जाँचका क्रममा प्रेसर कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ नभेटिएको प्रहरीले जानकारी दिएको छ।

यद्यपि, उक्त कालो ब्यागभित्र ‘सनातन सुरक्षा सेना नेपाल’ नाम उल्लेख भएको घोषणा पत्र÷पर्चा–पम्पलेट जम्मा पाँच प्रति फेला परेको जनाइएको छ।

घटनाका कारण पूर्व–पश्चिम लोकमार्ग दुवै तर्फ सवारी आवागमन भने नियमित रूपमा सञ्चालनमा रहेको प्रहरीले स्पष्ट पारेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । 


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया