झापा । वर्षायाम सुरु भएसँगै नेपालमा जापानिज इन्सेफलाइटिस (जेई) को सङ्क्रमण बढ्दै गएको छ । देशभर जेई सङ्क्रमितको सङ्ख्या ६३ पुगेको छ भने १६ जनाको मृत्यु भएको छ । झापामा मात्रै १० जनामा सङ्क्रमण पुष्टि हुँदा पाँच जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
परिवार कल्याण महाशाखाको पछिल्लो तथ्यांकअनुसार देशभर २२ जिल्लाका ५० स्थानीय तहमा जेई सङ्क्रमित भेटिएका छन् । देशभर ८७८ जनामा एक्युट इन्सेफलाइटिस सिन्ड्रोम
(एईएस) देखिएकामा ६३ जनामा जेई पुष्टि भएको हो । पछिल्लो पाँच दिनमा मात्रै नौ जना नयाँ सङ्क्रमित थपिएका छन् ।
देशभरका सङ्क्रमितमध्ये ३४ पुरुष र २९ महिला छन् भने ३१ जना उपचाररत छन् । जेईबाट मृत्यु भएका १६ जनामध्ये नौ महिला र सात पुरुष छन् । मृत्यु भएकामध्ये ८८ प्रतिशत ५० वर्षभन्दा माथिका रहेको महाशाखाको तथ्यांकले देखाएको छ । मृत्यु भएका सबैले जेईविरुद्धको खोप नलगाएको पाइएको छ ।
झापामा पछिल्लो पटक मेचीनगरका एक पुरुषमा सङ्क्रमण पुष्टि भएसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या १० पुगेको हो । सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु, दुई जना उपचाररत र तीन जना उपचारपछि डिस्चार्ज भएका छन् । मेचीनगरमा चार, हल्दिबारी, बाह्रदशी र कचनकवलमा एक–एक, बिर्तामोडमा दुई तथा अर्जुनधारामा एक जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये सात महिनाका बालकसमेत छन् ।
झापामा पाँच जनाको मृत्यु भएको छ भने सुनसरी र सप्तरीमा दुई–दुई तथा मोरङ, इलाम, रौतहट, धनुषा, पर्सा, काभ्रे र दाङमा एक–एक जनाको मृत्यु भएको छ । जेई पूर्वी नेपालमा बढी देखिए पनि पछिल्लो समय पश्चिमतर्फसमेत फैलिँदै गएको छ । अधिकांश सङ्क्रमित धानबारी तथा सुँगुर फार्म आसपास बसोबास गर्ने र ६२ प्रतिशतको मुख्य पेसा कृषि रहेको पाइएको छ ।
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो