एजेन्सी । फ्रान्समा यस वर्षको विनाशकारी डढेलोले जलवायु परिवर्तनसँगै मानवीय लापरबाही र सरकारी तयारीको अवस्थामाथि गम्भीर प्रश्न उठाएको छ। अत्यधिक गर्मी, लामो खडेरी र सुख्खा वनस्पतिका कारण आगो तीव्र गतिमा फैलिँदा ठूलो वनक्षेत्र, घर, स्थानीय व्यवसाय र पर्यटन क्षेत्रमा क्षति पुगेको छ। डढेलो नियन्त्रणसँगै आगलागीका लागि जिम्मेवार व्यक्ति पहिचान गरी कारबाही गर्ने सरकारी अभियान तीव्र भए पनि पक्राउ र अभियोजनको प्रक्रियालाई लिएर प्रश्नसमेत उठ्न थालेका छन्।
फ्रान्सको गृह मन्त्रालयका अनुसार जानाजानी वा दुर्घटनावश डढेलो सुरु गरेको आरोपमा ४२० जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा १६६ जना नाबालिग छन्। सरकारले डढेलोलाई गम्भीर अपराधका रूपमा लिँदै जिम्मेवार व्यक्तिमाथि कडा कारबाही अघि बढाएको छ। तर सबै आगलागी जानाजानी गरिएको हो भन्ने निष्कर्ष निकाल्नुअघि अनुसन्धानको गुणस्तर र प्रमाणको पर्याप्ततामाथि पनि ध्यान दिनुपर्ने आवाज उठेको छ।
यस वर्ष फ्रान्समा डढेलोले तीन लाख एकडभन्दा बढी क्षेत्र प्रभावित भएको बताइएको छ। यस्तो अवस्थामा आगलागीको कारण खोज्नु केवल अपराधी पहिचान गर्ने विषय नभई वातावरणीय संकटको मूल कारण बुझ्ने विषय पनि बनेको छ। फ्रान्समा उपलब्ध अभिलेखअनुसार करिब १० मध्ये नौ वटा डढेलो मानिससँग सम्बन्धित कारणबाट सुरु हुने गरेको देखिन्छ। चुरोटको ठुटो, बार्बेक्यु, निर्माण कार्यबाट निस्कने झिल्का, विद्युतीय उपकरणको गडबडी तथा अन्य मानवीय गतिविधि आगलागीका सम्भावित कारण हुन्।
तर मानवीय गतिविधि मात्रले यस वर्षको भयावहता व्याख्या गर्दैन। बढ्दो तापक्रम, खडेरी र कम हुँदै गएको माटो तथा वनस्पतिको आद्र्रताले सामान्य झिल्कोलाई समेत ठूलो डढेलोमा परिणत गर्ने वातावरण बनाएको छ। जीवाश्म इन्धनको निरन्तर प्रयोगबाट बढिरहेको हरितगृह ग्यास र त्यसले निम्त्याएको जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा गर्मी र खडेरीका चरम घटना बढिरहेका छन्। फ्रान्सको अवस्था पनि यही व्यापक जलवायु संकटको एउटा उदाहरणका रूपमा देखिएको छ।
डढेलो लगाएको आरोपमा केही व्यक्तिमाथि तत्कालै कडा सजायसमेत सुनाइएको छ। दक्षिण–पूर्वी क्षेत्रमा २३ वर्षीय एक पुरुषमाथि पाँच दिनभित्र १० ठाउँमा जानाजानी आगो लगाएको आरोप लागेको छ। दोषी ठहरिएमा उनलाई १५ वर्षसम्मको जेल सजाय र एक लाख ५० हजार युरोसम्म जरिवाना हुनसक्ने व्यवस्था छ। भोस्ज क्षेत्रको राओँ–लेताप जंगलमा तीन वटा डढेलो लगाएको अभियोगमा एक पुरुषलाई तीन वर्ष जेल सजाय सुनाइएको छ।
तर सबै अभियोजन समान रूपमा स्पष्ट छैनन्। चुरोटको ठुटो फ्याँकेको आरोपमा एक घरबारविहीन व्यक्ति र गम्भीर अटिजम भएका अर्का व्यक्तिलाई जेल सजाय दिइएको रिपोर्टपछि कारबाहीको औचित्यमाथि बहस भएको छ। डढेलो नियन्त्रणका नाममा कमजोर प्रमाणका आधारमा मानिसलाई अपराधी बनाउने जोखिम रहेको कानुन व्यवसायीहरूले बताएका छन्।
डढेलोसम्बन्धी मुद्दामा वकालत गर्दै आएकी मुरियल गेस्टासले ठूलो संख्यामा पक्राउ भएकोप्रति आश्चर्य व्यक्त गर्दै पक्राउ परेका सबै व्यक्ति अन्ततः दोषी प्रमाणित नहुन सक्ने बताएकी छन्। फ्रान्सेली पत्रिका ले मोन्डले समेत प्रहरीले यति छोटो अवधिमा धेरै घटनाको कति गहिरो अनुसन्धान गरेको छ भन्ने प्रश्न उठाएको छ। अभियोजनमा आगलागी जानाजानी गरिएको हो कि दुर्घटनावश, उद्देश्य के थियो र अघिल्ला वर्षको तुलनामा यस वर्षको अवस्था कस्तो छ भन्ने पर्याप्त विवरण सार्वजनिक नभएको उसको तर्क छ।
डढेलोको कारण पत्ता लगाउनु आफैंमा जटिल अनुसन्धान हो। डढेलो अनुसन्धान अधिकारी एरिक डुफायेका अनुसार आगो निभिसकेपछि पहिले जलेको क्षेत्रको नक्सा तयार गरिन्छ र आगो फैलिएको दिशाको आधारमा सम्भावित सुरुआती बिन्दु पहिचान गरिन्छ। हावा एउटै दिशामा चलेको अवस्थामा जलेको क्षेत्र प्रायः ‘भी’ आकारमा देखिन सक्छ। त्यसपछि अनुसन्धान टोली आगो फैलिएको दिशाको उल्टो बाटो पछ्याउँदै आगो सुरु भएको स्थानसम्म पुग्ने प्रयास गर्छ।
चुरोटबाट आगलागी हुने सम्भावनालाई बुझाउन अनुसन्धानमा ‘३० को नियम’समेत प्रयोग गरिन्छ। करिब ३० डिग्री सेल्सियस तापक्रम, ३० प्रतिशतभन्दा कम आर्द्रता र तीव्र हावाजस्ता अवस्था हुँदा सानो झिल्कासमेत तीव्र रूपमा फैलिन सक्ने विशेषज्ञहरूको भनाइ छ। अहिलेको खडेरीमा यस्ता जोखिम अझ बढेका छन्।
जानाजानी आगो लगाउनेहरू पनि एउटै प्रकारका हुँदैनन्। विशेषज्ञहरूले लापरबाही गर्ने, आर्थिक वा अन्य लाभ लिन खोज्ने र मानसिक विकारका कारण आगोप्रति असामान्य आकर्षण भएका व्यक्तिलाई फरक–फरक समूहमा राखेका छन्। तर ‘पाइरोमेनिया’ अत्यन्त दुर्लभ मानसिक विकार भएकाले आगलागीका अधिकांश घटनालाई त्यससँग जोड्नु गलत हुने उनीहरूको भनाइ छ।
फ्रान्सका लागि अहिलेको मुख्य चुनौती भने पक्राउ र सजायभन्दा पनि डढेलोको जोखिम बढाउने परिस्थितिलाई कसरी घटाउने भन्ने हो। राष्ट्रपति इम्यानुयल म्याक्रोंले पुनः वृक्षारोपण र जलवायु परिवर्तनअनुकूल वन व्यवस्थापनको आवश्यकता औँल्याएका छन्। तर विज्ञहरूको दृष्टिमा वृक्षारोपण मात्र पर्याप्त हुँदैन। वन व्यवस्थापन, सुख्खा क्षेत्रको निगरानी, अग्निनियन्त्रण पूर्वाधार, जनचेतना, आपत्कालीन तयारी र जलवायु परिवर्तन न्यूनीकरणका दीर्घकालीन उपाय एकसाथ अघि बढाउन आवश्यक छ।
यस वर्षको डढेलोले फ्रान्सलाई एउटा गम्भीर पाठ दिएको छ—आगोको कारण एउटा चुरोटको ठुटो वा एउटा झिल्का हुन सक्छ, तर त्यसलाई राष्ट्रव्यापी विपत्तिमा बदल्ने वातावरण जलवायु परिवर्तनले तयार गरिरहेको छ। त्यसैले दोषी खोजेर कारबाही गर्नु आवश्यक भए पनि डढेलोको दीर्घकालीन समाधानका लागि अपराधीभन्दा अगाडि पुगेर जोखिम सिर्जना गर्ने कारणमाथि काम गर्नुपर्ने देखिन्छ।