मकै खाने बँदेल मार्न थापेको विद्युतीय पासोमा गैडा परेपछि.........चार जना पक्राउ

फाष्ट मिडिया नेपाल संवाददाता

इटहरी । चितवनको भरतपुरमा मर्कबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युतीय पासोमा परेर पोथी गैडा मरेपछि स्थानीय ४ जना पक्राउ परेका छन् । भरतपुर महानगरपालिका–२६ मा गैँडा मारेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले जानकारी दिएका छन् ।

स्थानीयले मकैबारीमा आउने गरेको बँदेल मार्न थापेको विद्युतीय पासोमा परी अन्दाजी १३ वर्षको पोथी गैँडा मरेको र घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । सुरुआतमा गैँडा प्राकृतिक कारणले मरेको जस्तो देखिए पनि शव परीक्षणका क्रममा विद्युतीय धरापमा पारी मारिएको खुलेपछि अनुसन्धानका लागि चार जनालाई पक्राउ गरिएको प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले बताए । ‘गैँडाको खाग, खुर सुरक्षित भए पनि जुनसुकै किसिमले वन्यजन्तुलाई घाइते बनाउने, घेरा हाल्ने, लखेट्ने, मार्ने जस्ता गतिविधि चोरी शिकारीअन्तर्गत पर्दछन्’, उनले भने ।

पुनका अनुसार अनुसन्धानका क्रममा साउन ८ गते दुई जना र १० गते दुई जनालाई पक्राउ गरिएको थियो । पक्राउ परेका चारै जनालाई चितवन जिल्ला अदालतबाट ६ दिनको समय थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ परेका चार जनालाई संरक्षित वन्यजन्तु चोरी शिकारी ऐनअन्तर्गत म्याद थप गरिएको हो ।

ऐनको व्यवस्थानुसार यस्तो कार्यमा सङ्लग्नलाई रु पाँच लाखदेखि १० लाखसम्म जरिवाना र पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय वा दुवै सजाय हुने व्यवस्था छ ।


फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया