इटहरी । गत भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली कांग्रेसका ४८ जिल्ला कार्यालयमा क्षति भएको सो पार्टीले जनाएको छ ।
प्रदर्शनकारीले पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासहित उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्य, प्रदेश सभापतिलगायत नेताहरुका ९५ निवासमा आगजनी, तोडफोड, लुटपाट भएको कांग्रेसले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
गत भदौ २४ गते कांग्रेसका देशभरका पार्टी कार्यालय तथा नेताहरुको निजी सम्पत्तिमा भएको तोडफोड, लुटपाट र आगजनी जस्ता हिंसात्मक घटनाका बारेमा प्रारम्भिक विवरण कांग्रेसले सार्वजनिक गरेको हो ।
कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार प्रदर्शनकारीले केन्द्रीय कार्यालय जलाएर ध्वस्त पारेको र कुनै पनि सामान नबचेको तथा करिब रु १० करोड बराबरको क्षति भएको छ ।
यसैगरी कांग्रेसले आन्दोलनका क्रममा ज्यान गुमाउनुभएका सबैप्रति पुनः श्रद्धाञ्जली अर्पण गर्दै शोकाकूल परिवारजनमा समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । साथै पार्टीले उक्त घटनाको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गरेको छ । कांग्रेसले यस्तो जटिल मोडमा आवेग र उत्तेजना होइन विवेक, संयम र धैर्यताले काम गर्न सबै नेता तथा कार्यकर्तामा अनुरोध गरेको छ ।
कांग्रेसका ८ पदाधिकारीसहित ३६ नेताका घर जलाइयो
आन्दोलनका क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित ३६ केन्द्रीय नेताको घर आन्दोलनकारीले जलाइदिएका छन् ।
कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार सार्वजनिक गरेको विवरणमा देउवासहित उपसभापति पूर्णबहादुर खड्काको काठमाडौँ र सुर्खेतमा रहेको घर, महामन्त्री गगन थापाको रातोपुलमा रहेको घर, अर्का महामन्त्री विश्वप्रकाश शर्माको ललितपुरमा रहेको डेरा र झापामा रहेको घर, सहमहामन्त्री उमाकान्त चौधरीको बारामा रहेको घर, सहमहामन्त्री महेन्द्र यादवको धनुषामा रहेको घर, सहमहामन्त्री बद्रीप्रसाद पाण्डेको काठमाडौँमा रहेको डेरामा रहेका सामान तथा कोषाध्यक्ष उमेश श्रेष्ठका चितवनमा रहेका दुई घर जलाइएको उल्लेख छ ।
त्यस्तै आन्दोलनकारीहरूले पूर्वउपसभापति गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू कृष्णप्रसाद सिटौला, डा. शशांक कोइरालाका घर पनि जलाएर ध्वस्त पारेका विवरणमा देखाइएको छ ।
पूर्वसहमहामन्त्री डा.रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत तथा केन्द्रीय सदस्यहरू डा. शेखर कोइराला, सञ्जय गौतम, कृष्णचन्द्र नेपाली पोखरेल, शंकर भण्डारी, दीपक गिरी, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, मोहनबहादुर बस्नेत, रामजनम चौधरी, डा.गोपाल दहित, मदनकृष्ण श्रेष्ठ, अर्जुनप्रसाद जोशी, आनन्द ढुंगाना, राजेन्द्र केसी, विनोद चौधरी, गेहेन्द्र गिरी, राजीव ढुंगाना र अनिल रुङगटाको पनि घर जलेको उल्लेख छ ।
पार्टीका बागमती प्रदेश सभापति इन्द्र बानिया (बागमती प्रदेश मुख्यमन्त्री) र मधेस प्रदेश सभापति कृष्णप्रसाद यादवको पनि घर जेनजी आन्दोलनका क्रममा जलाइएको छ ।
खगेन्द्र कार्की
युनिकोड
विनिमय दर
सुन चाँदि
राशिफल
मौसम
शेयर बजार
पात्रो