९औं संविधान दिवसः साझा बन्न सकेन, समर्थन र विरोधमै सीमित

खगेन्द्र कार्की

दमक । संविधानसभाको निर्वाचनबाट बनेको संविधान २०७२ ले ९ वर्ष पुरा गरेको खुशीयालीमा संविधान दिवस हर्षोल्लासका साथ देश तथा विदेशमा बिहीबार मनाइएको छ । संविधान दिवसले सबैलाई अपनत्व नदिएको र समानुपातिक, समावेशी ढंगबाट काम गर्न नसकेको आरोप खेपिरहेको संविधानको ९ औं संविधान दिवसका मनाउने क्रममा असन्तुष्टिका अभिव्यक्ति र गतिविधि पनि देखिए । 

विशेष गरेर राजधानीको सैनिक मञ्च टुंडिखेलमा विशेष कार्यक्रम आयोजना गरि संविधान दिवस मनाइएको छ । राष्ट्रपति, प्रधानमन्त्री, संवैधानिक निकायका प्रमुखहरुलगायत विशिष्ठ श्रेष्ठका व्यक्तित्वहरु एकै थलोमा भेला भई संविधान दिवस मनाएका छन् । बिहीबार साँझै राष्ट्रपति पौडेलले राष्ट्रपति भवनमा स्वागत समारोह आयोजना गरेका छन् ।

संविधान दिवसका उपलक्ष्यमा संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी संघ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाद्वारा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । विदेशस्थित नेपाली कूटनीतिक नियोगमा पनि संविधान दिवसका कार्यक्रम गरिएका छन् ।

टुंडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सबै दलहरुको सहमतिमा संविधान संशोधनको प्रक्रिया अगाडि बढाउने बताएर विरोध गरिरहेकाहरुलाई अलिकति साम्य पार्ने कोशिस गरेका छन् । तथापि संविधान दिवसका अवसरमा विरोध गर्नेहरुको संख्या कम देखिएन । विभिन्न दल तथा जातजाति वा समूहहरुले संविधान दिवसलाई प्राथमिकतामा राखेनन् उल्टै केही समूहले संविधान जलाउने काम गरे भने कतिले विरोध ¥याली, कोणसभा, कालोपट्टि र कालो झण्डा देखाएर विरोध गरेका छन् ।

यता कोशी प्रदेशमा प्रदेश सरकार, स्थानीय सरकार तथा जनस्तरबाट समेत संविधान दिवसका अवसरमा विभिन्न कार्यक्रम भएका छन् । दमकमा संविधान दिवसका अवसरमा नेकपा एमाले दमक नगरकमिटीले १० वटास्तरीय कार्यक्रम गरेर संविधान दिवस मनाएको जनाएको छ । नेकपा एमाले नगर कमिटीका अध्यक्ष रामप्रसाद पौडेलका अनुसार नरपालिकाका १० वटै वडा क्षेत्रभित्र सरसफाई कार्यक्रम गरिएको जनाएका छन् । उनका अनुसार नगरसमितिको निर्देशन र निर्णय अनुसार सबै वडाका समितिहरुले आ–आफ्नो बाटोमा सरसफाई गरेर वडास्तरीय कार्यालयमा साँझ, दिपावली गरेको पौडेलले बताए । 

यसैगरी बिहीबार साँझ दमक चोकमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ, दमक नगर समिति र माओवादी निकट अखिल क्रान्तिकारी र वाईसिइलले साँझमा दिपावली गरेका छन् । कार्यक्रम संयोजक विशाल अधिकारीको नेतृत्वमा नेवि संघले द्धीप प्रज्जवलन गरी दीपावली गरेको हो ।   कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले प्रदेश सरकार सुरुङभित्र रहेको बताएका छन् । संविधान दिवसमा अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘दायाँ कुम चलाउँदा संघीय सरकार ठोक्किने, बायाँ चलायो स्थानीय सरकार ठोक्किने, अलिकति उफ्रिएमा माथिको पर्खालमा ठोक्किने ।’ यस्तो परिस्थितिबाट प्रदेशलाई बलियो बनाउँदै आफ्ना अधिकारहरु खोज्दै जनतामा आशाको सञ्चार जागृत गराउन आफ्नो सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

कोशी सरकारले संविधान दिवसका अवसरमा आयोजित प्रभातफेरि विराटनगरको आदर्श स्कुलबाट सुरु भएर अस्पताल चोक, जलजला चोकबाट मेनरोड हुँदै गोल्छा चोकबाट पुन आदर्श स्कुलमा नै पुगेर समापन भएको थियो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आयोजना गरेको प्रभातफेरिमा १५ वटा जातजातिका झाँकीसहित निजामती कर्मचारी, विद्यार्थी, नेपाली सेना,सशस्त्र प्रहरी, नेपाल प्रहरी, बैँक तथा वित्तीय संस्थाका कर्मचारी,सदस्य, स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिलगायत सहभागी थिए ।

प्रभातफेरि पछिको औपचारिक समारोहमा संविधान दिवसको अवसरमा आयोजित निबन्ध प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताका बिजेताहरूलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।

लघुवित्त संरक्षणको माग

संविधान दिवसमा लघुवित्तका सदस्यहरूले लघुवित्त संरक्षणको आवाज उठाएका छन् । लघुवित्त वित्तीय संस्था विरुद्ध राजनीतिक हस्तक्षेप बढेको भन्दै लघुवित्तका सदस्यहरूले संविधान दिवसमा लघुवित्त संरक्षणको विषय उठाएका हुन् । ९ औं संविधान दिवसको दिन बिहीबार बिहान विराटनगरमा निकालिएको प्रभातफेरिमा जीवन विकास लघुवित्त वित्तीय संस्था, फरवार्ड लघुवित्त, गुराँस र सपोर्टलगायत लघुवित्तका सदस्य र कर्मचारीले वित्तीय साक्षरतासहित लघुवित्त संरक्षण गर्न माग गरे ।

लघुवित्त सदस्यले ‘लघुवित्त हाम्रो घर हो, घर भाड्न पाइदैन, लघुवित्तलाई संरक्षण गर, लघुवित्त माथिको राजनीतिक हस्तक्षेप बन्द गर लगायतको प्ले कार्डसहित प्रभातफेरिमा सहभागी भएका थिए ।

इलाममा पत्रकार पुरस्कृत

प्रेस सेन्टर नेपाल इलामको सिफारिसमा सहिद स्मृति प्रतिष्ठान इलामले विगत ३ वर्षदेखि वितरण गर्दै आएको जनयुद्धका सहिद पत्रकार ‘शशीकला स्मृति पत्रकारिता पुरस्कार–२०८१’ पत्रकारद्वय रोशन काफ्ले र खेमराज ढकाल पुरस्कृत भएका छन् । संविधान दिवसको अवसरमा बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पत्रकारद्वय काफ्ले र ढकाल पुरस्कृत भएका हुन् । पुरस्कारको राशी जनही सात÷सात हजार रहेको छ । १० वर्षे जनयुद्धका क्रममा सहादत प्राप्त गरेका सहिदहरुको नाममा स्थापित प्रतिष्ठानले तीन वर्ष अघि सहिद पत्रकार शशीकला शर्माको स्मृतिमा सो पुरस्कार स्थापना गरेको थियो । यसअघि सो पुरस्कार इलामका लेखक÷पत्रकार रीता राराहाङ, नाटककार÷ पत्रकार चेतन आङ्थुपो र पत्रकार भगीरथ भण्डारीले पाइसकेका छन् ।

संविधान विरोधी कार्यक्रम

दुई तिहाई बहुमतबाट आएको संविधानका विरुद्धमा एक पछि अर्को गर्दै विरोध असन्तुष्टि गएको देखिन्छ । मुख्य दलहरुले सत्तामा खेलेको खेल र जनजीविकिाका सन्दर्भमा गरेका गतिविधिबाट असन्तुष्ट हुँदै संविधानको विरोध गर्नेहरु बढ्दै गएका छन् । अलमलिएका प्रदेश सरकारको औचित्यमाथि प्रश्न उठाउँदै प्रदेश सरकार खारेजसम्मको आवाज उठेको निकै भईसकेको छ । आजै पनि एक कार्यक्रम नेता प्रभु शाहले संघीयता खारेज गर्न माग गरे । यि र यस्तै संविधान दिवसका दिन अनेकन विरोधका समाचार समेत प्राप्त भएका छन् ।

सडकमा टायर

झापाको बिर्तामोडमा संविधान विरोधी समूहले सडकमा टायर बालेर विरोध गरेका छन् । प्रहरीले दिएको जानकारी अनुसार मोटरसाइकलमा आएका केही व्यक्तिले सडकमा टायर बालेर भागेको तर अन्य अप्रिय घटना नभएको जनाएको छ ।

जलाइयो संविधान

आफूलाई कथित राजसंस्थावादी मान्ने तथा गणतन्त्रविरोधी समूहले राजधानीको माइतीघर मण्डलामा नेपालको संविधान च्यातेर जलाएका छन् । संविधान दिवसका दिन सरकारले सैनिक मञ्चमा औपचारिक कार्यक्रम गरिरहँदा माइतीघर मण्डलामा भने वर्तमान संविधान मान्नलायक नरहेको भन्दै आएको समूहले संविधान जलाएको हो । दर्जनौँ संख्यामा उपस्थित भएका गणतन्त्रविरोधी समूहका सदस्यहरुले संविधानका साथै वर्तमान सरकारको विरुद्धमा नाराबाजी समेत गरेका थिए ।

दलितको पनि विरोध

दलित समुदायका लागि संविधानले गरेको व्रुयवस्था कार्यान्वयन नभएको भन्रुदै ‘दलितका लागि दलित अभियान, नेपाल’ माइतीघरमा प्रदर्शन गरेको छ । संविधान दिवस तथा राष्ट्रिय दिवस अवसरमा अभियानले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरे । प्रदर्शनमा देशका विभिन्न भागबाट समेत प्रदर्शनमा सहभागी आएका थिए । उनीहरूले पछिल्लो समय राजनीतिक नियुक्ति र सरकार बनाउँदामा दलित समुदायलाई समावेश नगरेको भन्रुदै प्रदर्शनमा उत्रिएको उनीहरुको प्रतिक्रिया थियो । पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछूतको हटाउन प्रभावकारी कानुन, नीति कार्यक्रम नल्याएको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित ¥याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शनसहित सरकारलाई प्रश्न गरेका छन् ।

मधेसको चित्त अझै बुझेन

संविधान निर्माण हुनु अगावैदेखि मधेस आन्दोलनमा थियो । संविधान जारी हुँदा पनि उनीहरुले संविधानप्रति अपनत्व नदिएको र समान सहभागिता वा हिस्सेदारीका लागि उनीहरुले माग राख्दै आएको भए पनि अहिलेसम्म उनीहरुको मन बुझ्न सकेको छैन । उनीहरु तिक्तताका बाबजुद संविधान स्वीकार्न बाध्य भएका छन् । उनीहरुले पनि आज संविधान दिवसलाई कालो दिनकै रुपमा ग्रहण गरे । मधेसका लागि मधेसबाटै राजनीति गर्ने राजनीतिक दल वा समूहहरु तितरवितर भए र स्वार्थ केन्द्रीत भईदिँदा मधेस आन्दोलनका उपलब्धी गुम्न पुगे । अहिलेको अवस्था पनि त्यस्तै नै छ । दर्बिलो राजनीतिक मुद्दा बोक्ने दलको अभावमा मधेसमा बस्ने खास गरेर मधेसी भनेर परिभाषित गरिएका समुदाय बसिरहेका छन् । आन्दोलन धेरैतिरबाट भए पनि उनीहरुका लागि कुनै आन्दोलन भएनन् र संविधानले पनि विभेद गरेको अनुभूति गर्दै उनीहरु विरोध गरिरहेका छन् ।

काठमाडौंमा नेशनल डे कन्सर्ट

संविधान दिवसका अवसरमा बिहीबार साँझ काठमाडौँको दरबारमार्गमा आयोजना ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको थियो । अन्य अप्रिय घटना नहोस् भनेर सजगताका लागि धेरै सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरले बताएका छन् ।

नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ । उक्त कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भए । बुधबारैदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ ।


खगेन्द्र कार्की
प्रतिक्रिया