माउन्ट एभरेस्ट एकेडेमीको उत्कृष्टता कायमै, वक्तृत्वकलामा लगातार चौथोपटक उत्कृष्ट प्रदर्शन

खगेन्द्र कार्की

दुहबी । दुहबी नगर प्याब्सनद्वारा आयोजित माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा दुहबी–८, सोनापुरस्थित माउन्ट एभरेस्ट एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट हुन सफल भएको छ।

प्रतियोगितामा विद्यालयकी प्रतिभाशाली छात्रा निर्जला घिमिरेले द्वितीय स्थान हासिल गरेकी छन्। यसअघि लगातार दुईपटक प्रथम स्थान हासिल गर्न सफल निर्जलाले यसपटक दोस्रो स्थान प्राप्त गरे पनि सुनसरी जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिताका लागि छनोट भएकी हुन्।

माउन्ट एभरेस्ट एकेडेमीले यस प्रतियोगितामा लगातार उत्कृष्ट नतिजा निकाल्दै आएको छ। विद्यालयले यसअघि लगातार तीनपटक प्रथम स्थान हासिल गरेको थियो भने यसपटक द्वितीय स्थान प्राप्त गर्दै आफ्नो उत्कृष्टताको यात्रालाई निरन्तरता दिएको हो।

पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीको क्षमता विकासलाई प्राथमिकता दिँदै आएको विद्यालयका लागि यो उपलब्धि अर्को गौरवको विषय बनेको छ।

विद्यालयले विद्यार्थीको सफलता मेहनत, अभिभावकको निरन्तर साथ र हौसला, शिक्षकहरूको रचनात्मक मार्गदर्शन तथा विद्यालयको निरन्तर अभ्यासको प्रतिफल भएको जनाएको छ।

यस सफलताका लागि छात्रा निर्जला घिमिरेलाई हार्दिक बधाई तथा जिल्लास्तरीय प्रतियोगिताका लागि शुभकामना व्यक्त गरिएको छ। साथै, सम्पूर्ण माउन्ट एभरेस्ट एकेडेमी परिवारलाई पनि हार्दिक बधाई दिइएको छ।

खगेन्द्र कार्की
प्रतिक्रिया