काठमाडौं । इरानबाट गरिएको ड्रोन आक्रमणमा कुवेतमा कार्यरत एक नेपाली कामदारको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली समुदायमा त्रास फैलिएको छ। कुवेत सरकारले सुरक्षा सतर्कता बढाउँदै सीमावर्ती क्षेत्र तथा संवेदनशील पूर्वाधारमा विशेष निगरानी बढाएको छ।
कुवेतको रक्षा मन्त्रालयका अनुसार बिहीबार उत्तरी कुवेतमा चिनियाँ कम्पनीको परियोजनालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा मोरङको रतुवामाई नगरपालिका–९ का ४४ वर्षीय सोमकुमार तामाङको मृत्यु भएको हो। ड्रोन उनी सवार सवारीसाधनमा खसेपछि घटनास्थलमै उनको ज्यान गएको मन्त्रालयले जनाएको छ। आक्रमणबाट परियोजनामा पनि उल्लेख्य भौतिक क्षति पुगेको बताइएको छ।
तामाङ कुवेतमा ड्राइभरका रूपमा कार्यरत थिए। आक्रमण भएको स्थान कुवेत सिटीबाट करिब ९० किलोमिटर उत्तर, इराक सीमाक्षेत्र नजिक चिनियाँ कम्पनीले सञ्चालन गरिरहेको परियोजना रहेको जनाइएको छ।
कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी जनार्दन गौतमका अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी तामाङको शव शनिबार नेपाल पठाइएको छ। दूतावासले मृतकका परिवारलाई आवश्यक सहजीकरण गरिरहेको जनाएको छ।
घटनापछि कुवेत सरकारले देशभर उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ। विशेषगरी सीमावर्ती क्षेत्रका बासिन्दा तथा कामदारलाई सुरक्षा सावधानी अपनाउन आग्रह गरिएको छ। रातिको समयमा अस्पताल, होटल तथा अन्य सार्वजनिक स्थानमा अत्यावश्यकबाहेक बाहिरी बत्ती नबाल्न पनि सरकारले निर्देशन दिएको छ।
त्यसैगरी, ग्यास र कच्चा तेल उत्पादन केन्द्रहरू सम्भावित निशानामा पर्न सक्ने आकलन गर्दै केही संवेदनशील क्षेत्रमा कर्मचारीलाई घरबाटै काम गर्न व्यवस्था गरिएको छ। अन्य क्षेत्रमा भने कामदारहरू सुरक्षा त्रासका बीच नियमित रूपमा काममा गइरहेका छन्।
यसैबीच, कुवेतस्थित चिनियाँ दूतावासले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेको छ। दूतावासले निर्दोष नागरिक तथा गैरसैन्य संरचनामाथि हुने आक्रमणको चीनले सधैं विरोध गर्दै आएको पनि जनाएको छ।