पाँच महिनापछि बीपीको मेलमिलापको नीति लिएर फर्किए देउवा

खगेन्द्र कार्की

साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा समर्थकको भव्य स्वागत।
द्वेष र प्रतिशोध होइन, संवाद, सहमति र राष्ट्रिय एकतामा जोड।
बीपीको राष्ट्रिय मेलमिलाप नीतिअनुसार अघि बढ्नुपर्ने देउवाको आग्रह।
युवा पुस्ताको परिवर्तनको चाहना सम्बोधन गर्दै नेतृत्वमा अर्थपूर्ण सहभागिता गराउनुपर्ने धारणा।
समयअनुसार कांग्रेस पनि बदलिनुपर्ने भन्दै पुस्तान्तरण र पार्टी सुधारको संकेत।


इटहरी  । साढे पाँच महिनापछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक द्वेष, प्रतिशोध र विभाजनको बाटो छाडेर राष्ट्रिय एकता, संवाद र मेलमिलापको बाटोमा अघि बढ्नुपर्ने सन्देश दिएका छन् । स्वास्थ्य उपचारका लागि लामो समय विदेशमा रहेका देउवा बिहीबार काठमाडौं ओर्लिएलगत्तै दिएको राजनीतिक सन्देशमा नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले अघि सारेको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
स्वदेश फर्किएका देउवालाई विमानस्थलमा कांग्रेस नेता–कार्यकर्ता तथा समर्थकले भव्य स्वागत गरेका थिए । पानी परिरहेको अवस्थामा पनि विमानस्थल परिसरमा ठूलो संख्यामा समर्थक उनको स्वागतका लागि भेला भएका थिए । समर्थक र प्रहरीको स्कर्टिङबीच विमानस्थलबाट बाहिरिएका देउवाले गेटबाहिर सनरुफबाट निस्किएर उपस्थित समर्थकलाई अभिवादन गरेका थिए । पानी परिरहँदा समेत समर्थकको बाक्लो उपस्थिति देखिएको थियो ।
लामो उपचारपछि स्वदेश फर्किएका देउवाले आफूले राजनीतिक परिस्थितिलाई नजिकबाट नियालिरहेको संकेत गर्दै अब मुलुक र पार्टीलाई विभाजन तथा प्रतिशोधबाट नभई संवाद, सहमति र सहकार्यबाट अघि बढाउनुपर्ने बताए । उनले पछिल्लो राजनीतिक असन्तुष्टि, पुस्तान्तरणको बहस र युवा पुस्ताले खोजेको परिवर्तनलाई गम्भीर रूपमा लिनुपर्ने आवश्यकता औंल्याए ।
देउवाको सन्देशको मूल केन्द्रमा ‘द्वेष होइन, एकता’ रहेको छ । उनले विगतका राजनीतिक संघर्ष, कटुता र विभाजनलाई निरन्तरता दिनुभन्दा त्यसबाट पाठ सिकेर राष्ट्रिय सहमतिको वातावरण बनाउनुपर्ने बताए । लोकतन्त्रमा राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि प्रतिस्पर्धालाई व्यक्तिगत द्वेष, बदलाको भावना र निषेधको राजनीतिमा रूपान्तरण गर्न नहुने उनको धारणा छ ।
बीपीको मेलमिलाप नीति सम्झाउँदै देउवा
देउवाले नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिलाई वर्तमान राजनीतिक परिस्थितिसँग जोडेर अघि बढ्नुपर्ने बताएका छन् । २०३३ सालमा भारत निर्वासनबाट नेपाल फर्कँदा बीपीले राष्ट्रियता र प्रजातन्त्रको रक्षाका लागि सबै राष्ट्रवादी तथा प्रजातान्त्रिक शक्तिबीच एकता आवश्यक रहेको सन्देश दिएको स्मरण गर्दै देउवाले अहिले पनि मुलुकलाई त्यस्तै एकताको आवश्यकता रहेको बताए ।
उनका अनुसार राजनीतिक असहमति लोकतन्त्रको स्वाभाविक हिस्सा हो । तर असहमतिलाई शत्रुता र प्रतिशोधमा बदल्दा त्यसले मुलुकलाई कमजोर बनाउँछ । त्यसैले विगतका कटुता र विभाजनका घाउलाई थप बल्झाउने नभई मेलमिलाप र सहकार्यबाट समाधान खोज्नुपर्ने उनको भनाइ छ ।
देउवाले फरक विचार र राजनीतिक धार भएका शक्तिहरूबीच पनि संवाद आवश्यक रहेको बताए । मुलुक निर्माणका लागि राजनीतिक दलहरूबीच न्यूनतम साझा धारणा र सहकार्यको वातावरण बनाउनुपर्ने उनको जोड छ ।
युवाको चाहना सम्बोधन गर्नुपर्ने
देउवाको सम्बोधनमा युवा पुस्ताको बढ्दो असन्तुष्टि र परिवर्तनको चाहना पनि प्रमुख रूपमा उठेको छ । नयाँ पुस्ताले राजनीतिमा केवल नाराभन्दा बढी अर्थपूर्ण सहभागिता, नेतृत्वमा अवसर, जवाफदेहिता, पारदर्शिता र नयाँ राजनीतिक संस्कार खोजिरहेको उल्लेख गर्दै उनले कांग्रेसले युवाको आवाजलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
उनले समय परिवर्तन भइसकेकाले राजनीतिक दल र नेतृत्व पनि परिवर्तन हुनुपर्ने धारणा राखेका छन् । ‘विश्व बदलिएको छ, हामी पनि समयअनुसार आफूलाई बदल्नुपर्छ’ भन्ने उनको सन्देशले कांग्रेसभित्र पुस्तान्तरण र राजनीतिक रूपान्तरणको बहसलाई थप बल दिएको छ ।
युवा पुस्ताले खोजेको परिवर्तनलाई रोक्ने होइन, सही दिशामा अघि बढाउनुपर्ने देउवाको भनाइ छ । युवालाई पार्टीको निर्णय प्रक्रिया, संगठन र नेतृत्व विकासमा अर्थपूर्ण स्थान दिनुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।
विगतको योगदानसँगै अब सुधार
देउवाले कांग्रेसको लोकतान्त्रिक संघर्ष र योगदानलाई स्मरण गर्दै विगतको गौरवमा मात्र सीमित भएर वर्तमान चुनौतीको सामना गर्न नसकिने बताएका छन् । राणा शासनदेखि पञ्चायत हुँदै लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म कांग्रेसले खेलेको भूमिकालाई उनले महत्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे ।
बीपी कोइराला, सुवर्णशमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालगायत अग्रज नेताको योगदान स्मरण गर्दै उनले कांग्रेसले लोकतन्त्र र जनअधिकारका लागि गरेको संघर्षलाई निरन्तरता दिनुपर्ने बताए । तर बदलिँदो समाज, प्रविधि, अर्थतन्त्र र युवा पुस्ताको अपेक्षाअनुसार पार्टीको कार्यशैली र सोचमा पनि परिवर्तन आवश्यक रहेको उनको स्वीकारोक्ति छ ।
कांग्रेसलाई थप समावेशी, जनमुखी र आधुनिक संगठनका रूपमा अघि बढाउनुपर्ने उनको भनाइ छ । पार्टीभित्रका असन्तुष्टि र मतभेदलाई संवादबाट समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउनुपर्ने उनले बताए ।
कांग्रेसभित्र एकताको आह्वान
लामो राजनीतिक यात्राका क्रममा आफूले विभिन्न आरोह–अवरोह र विवादको अनुभव गरेको उल्लेख गर्दै देउवाले अब पार्टीभित्र व्यक्तिगत स्वार्थ र गुटगत प्रतिस्पर्धाभन्दा संगठन र मुलुकको हितलाई प्राथमिकता दिनुपर्ने बताए ।
पार्टीका नेता–कार्यकर्ता निराश भएको अवस्था आफूले बुझेको भन्दै उनले उनीहरूको मनोबल बढाउन र कांग्रेसलाई एकताबद्ध बनाउन आवश्यक पहल गर्ने संकेत गरेका छन् । आफूले राजनीतिक रूपमा लिनुपर्ने केही नरहेको र आफ्नो अनुभव नयाँ पुस्ताका लागि उपयोगी बनाउन चाहेको उनको भनाइले पुस्तान्तरणप्रतिको उनको दृष्टिकोण पनि प्रस्ट पारेको छ ।
परिवर्तन रोक्ने होइन, व्यवस्थापन गर्ने
देउवाले मुलुकमा देखिएको परिवर्तनको आकांक्षालाई रोक्न खोज्नुको सट्टा त्यसलाई लोकतान्त्रिक ढंगबाट व्यवस्थापन गर्नुपर्ने बताएका छन् । जनताको असन्तुष्टिलाई कमजोरीका रूपमा मात्र नभई सुधारको अवसरका रूपमा लिनुपर्ने उनको धारणा छ ।
संविधान, लोकतन्त्र र जनताको अधिकारको रक्षा गर्दै समयअनुकूल सुधार गर्न कांग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले परिवर्तनको चाहनालाई सही दिशामा अघि बढाउन राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताए ।
राष्ट्रिय एकता नै राजनीतिक सन्देश
देउवाको पछिल्लो सम्बोधनको अर्को महत्वपूर्ण पक्ष राष्ट्रिय एकता हो । राजनीतिक ध्रुवीकरण र असन्तुष्टिको अवस्थामा सबै राजनीतिक शक्ति, समुदाय र नागरिकबीच सहकार्य आवश्यक रहेको उनले बताए ।
उनले नेपाललाई सबै वर्ग, समुदाय र पुस्ताले समान अवसर पाउने मुलुकका रूपमा विकास गर्नुपर्ने धारणा राखे । हरेक बालबालिकाले निर्भीक भएर भविष्यको सपना देख्न सक्ने, ज्येष्ठ नागरिकले सम्मानपूर्वक जीवन बिताउन सक्ने र हरेक समुदायले समृद्धिको अनुभूति गर्न सक्ने नेपाल निर्माण आफ्नो राजनीतिक उद्देश्य रहेको उनको भनाइ छ ।
आफ्नो बाँकी सार्वजनिक जीवन राष्ट्र, राष्ट्रियता, लोकतन्त्र, संविधान, कानुन र जनताको सर्वोत्तम हितमा समर्पित गर्ने प्रतिबद्धता पनि देउवाले व्यक्त गरेका छन् ।
साढे पाँच महिनापछि स्वदेश फर्किएका देउवाको विमानस्थलमा देखिएको समर्थकको बाक्लो उपस्थिति र त्यसपछि आएको राजनीतिक सन्देशले कांग्रेसभित्र नयाँ बहसको संकेत गरेको छ । एकातर्फ लामो राजनीतिक अनुभव बोकेका देउवा, अर्कोतर्फ परिवर्तन र पुस्तान्तरण खोजिरहेको युवा पुस्ता—यी दुईबीचको दूरी घटाउने चुनौती अब कांग्रेससामु छ ।
देउवाको सन्देशले स्पष्ट संकेत गरेको छ—विगतको योगदानको रक्षा गर्दै वर्तमानको असन्तुष्टि सम्बोधन गर्ने, युवाको चाहना आत्मसात् गर्ने र बीपीको मेलमिलापको नीति पछ्याउँदै द्वेष तथा प्रतिशोधभन्दा राष्ट्रिय एकतालाई प्राथमिकता दिने । कांग्रेसको आगामी राजनीतिक यात्रामा यही सन्देश कति व्यवहारमा रूपान्तरण हुन्छ भन्ने विषय भने अब पार्टी नेतृत्वका लागि मुख्य परीक्षा बन्नेछ ।


खगेन्द्र कार्की
प्रतिक्रिया