इतर समूहलाई सानेपाबाट जवाफ दिने तयारीमा सभापति थापा

फाष्ट मिडिया नेपाल संवाददाता

काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको संस्थापन इतर समूहको तीनदिने भेलाबाट भएको आलोचनाको जवाफ पार्टी केन्द्रीय कार्यालय सानेपाबाट दिने तयारी गरेका छन्। उनले पछिल्ला तीन दिनमा आफ्नो राजनीतिक जीवनमै नभोगेको निन्दा खेप्नुपरेको भन्दै सोमबार सानेपाबाट यसबारे विस्तृत धारणा सार्वजनिक गर्ने बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले इतर समूहको भेलामा आफूविरुद्ध भएका आलोचनातर्फ संकेत गर्दै पत्रकारलाई यस विषयमा तत्काल प्रतिक्रिया नदिन आग्रह गरे। ‘चुनदेवी कांग्रेसका बारेमा पत्रकार साथीहरूले बाहिर नसोध्नुहोला, म भोलि सबैलाई सानेपा बोलाएर भन्नेछु,’ उनले भने, ‘मेरो जीवनभर नभएको निन्दा यो तीन दिनमा भएको छ।’

कांग्रेसको संस्थापन इतर समूहले काठमाडौंमा तीन दिनसम्म गरेको भेलामा अधिकांश नेताले सभापति थापाको कार्यशैली र नेतृत्वको चर्को आलोचना गरेका थिए। भेलाले पार्टीको आगामी दिशा, संगठन र नेतृत्वका विषयमा समेत विभिन्न धारणा सार्वजनिक गरेपछि कांग्रेसभित्रको आन्तरिक विवाद थप सतहमा आएको छ।

त्यसको प्रतिक्रियामा थापाले तत्काल प्रतिवाद गर्नुको सट्टा पार्टी केन्द्रीय कार्यालयबाट औपचारिक धारणा सार्वजनिक गर्ने संकेत गरेका हुन्। उनको अभिव्यक्तिले इतर समूहको भेलामा उठाइएका प्रश्न र आरोपलाई उनले संगठित रूपमा जवाफ दिने तयारी गरेको देखिन्छ।

सभापति थापाले भने कांग्रेसमा नेतृत्वको सफलता केवल पद र सत्ता प्राप्तिसँग जोडेर हेर्न नहुने बताएका छन्। पार्टीलाई वास्तविक राष्ट्रिय शक्ति बनाउन उच्च नैतिक बल, विचार र कार्यकर्ताको त्यागलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ।

‘सफलताको मानक कसले कति सत्ता पायो भन्ने मात्र होइन,’ थापाले भने। उनले लेखक धर्म गौतमको राजनीतिक जीवनलाई उदाहरण दिँदै उच्च नैतिक बल पदमा बस्ने व्यक्तिभन्दा पनि महत्वपूर्ण हुनसक्ने बताए।

कांग्रेसभित्र नेतृत्व परिवर्तनसँगै पुरानो र नयाँ शक्तिबीच बढ्दो टकरावका बीच थापाको पछिल्लो अभिव्यक्ति आएको हो। विशेष महाधिवेशनबाट नेतृत्वमा आएका थापाविरुद्ध संस्थापन इतर समूहकै नेताहरूबाट तीव्र आलोचना हुनुले पार्टीभित्रको असन्तुष्टि अझै कायम रहेको देखाएको छ। अब सानेपाबाट थापाले सार्वजनिक गर्ने धारणा र त्यसको प्रतिक्रियाले कांग्रेसको आन्तरिक विवाद कुन दिशामा अघि बढ्छ भन्ने चासो बढेको छ।

फाष्ट मिडिया नेपाल संवाददाता
प्रतिक्रिया