ट्रम्पद्वारा जन्मसिद्ध नागरिकता सीमित गर्ने नयाँ प्रयास

FzJEQJmiKtTjISJ

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने आफ्नो प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन्। अमेरिकी सर्वोच्च अदालतले उनको यसअघिको आदेश कार्यान्वयनमा रोक लगाएपछि ट्रम्पले अमेरिकामा जन्मिएका केही बालबालिकाले स्वतः नागरिकता पाउने व्यवस्था सीमित गर्ने उद्देश्यले दुई नयाँ कार्यकारी आदेश जारी गरेका हुन्।

नयाँ आदेशमध्ये एउटाले जन्मसिद्ध नागरिकताको दायरा सीमित गर्ने र अर्कोले बच्चालाई अमेरिकी नागरिक बनाउनकै उद्देश्यले अमेरिका आएर सुत्केरी हुने ‘बर्थ टुरिजम’ नियन्त्रण गर्ने व्यवस्था गरेको छ।

ओभल अफिसबाट आदेश सार्वजनिक गर्दै ट्रम्पले यो काम धेरैअघि नै हुनुपर्ने भए पनि आफूले अहिले कार्यान्वयन गर्न थालेको बताएका छन्। उनले सर्वोच्च अदालतले आफ्नो यसअघिको आदेश रोकेकोप्रति असन्तुष्टिसमेत व्यक्त गरे।

नयाँ आदेशअनुसार दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा उनीहरूमध्ये कुनै एक विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारको कर्मचारी, जालसाजीमार्फत अमेरिकी नागरिकता लिन खोजेको व्यक्ति वा संघीय कानुनअनुसार नागरिकता नपाउने अवस्थाको अमेरिकी भूभागमा बसोबास गरिरहेको व्यक्ति भएमा त्यहाँ जन्मिएको शिशुलाई स्वतः अमेरिकी नागरिकता नदिने व्यवस्था गरिएको छ।

ट्रम्प प्रशासनले अमेरिकाको उदार आप्रवासन प्रणालीको दुरुपयोग गर्दै विदेशी नागरिकले जन्मसिद्ध नागरिकताको सुविधा लिन खोजेको दाबी गर्दै आएको छ। विशेषगरी रुस र चीनका नागरिकले यस्तो व्यवस्थाको दुरुपयोग गरी अमेरिकामा प्रभाव विस्तार गर्न खोजेको आरोप प्रशासनले लगाएको छ।

ट्रम्पले अमेरिकामा ‘बर्थ टुरिजम’मार्फत वर्षमा सयौँ हजार बालबालिका जन्मिएको दाबी गरे पनि गैरदलीय माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार यस्तो संख्या वार्षिक करिब २२ हजारदेखि २६ हजारसम्म रहेको अनुमान छ। सन् २०२४ मा विदेशी ठेगाना भएका आमाबाट अमेरिकामा करिब ९ हजार ६०० शिशु जन्मिएको सरकारी तथ्यांकसमेत संस्थाले उल्लेख गरेको छ।

ह्वाइट हाउसका उपप्रमुख तथा होमल्यान्ड सुरक्षा सल्लाहकार स्टिफन मिलरले पर्यटक वा आगन्तुकका रूपमा अमेरिका प्रवेश गर्ने केही व्यक्तिको वास्तविक उद्देश्य बच्चा जन्माएर अमेरिकी नागरिकता प्राप्त गर्नु रहेको दाबी गरेका छन्। उनले त्यसपछि ती बालबालिकाले अमेरिकी नागरिकका रूपमा विभिन्न अधिकार र सुविधा प्राप्त गर्ने बताएका छन्।

ट्रम्पले आफ्नो पहिलो कार्यकारी आदेशमार्फत संविधानको १४औँ संशोधनले सुनिश्चित गरेको जन्मसिद्ध नागरिकता अन्त्य गर्ने प्रयास गरेका थिए। त्यसविरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतले गत जुनमा उक्त आदेश कार्यान्वयन गर्न नमिल्ने फैसला गरेको थियो।

सर्वोच्चको निर्णयपछि ट्रम्पले बिहीबार नयाँ कानुनी बाटोबाट आफ्नो नीति अघि बढाएका हुन्। तर नयाँ आदेश पनि कानुनी चुनौतीबाट मुक्त हुने देखिएको छैन।

अमेरिकी कानुनविद् गेब्रियल चिनका अनुसार आदेशका केही प्रावधान कानुनी रूपमा टिक्न सक्ने भए पनि केही व्यवस्था गम्भीर संवैधानिक प्रश्नको घेरामा पर्न सक्छन्। उनका अनुसार बच्चा जन्माउने उद्देश्यले अमेरिका प्रवेश गर्ने व्यक्तिमाथि केही सीमा लगाउन राष्ट्रपतिसँग अधिकार हुन सक्ने भए पनि अमेरिका प्रवेश गरेर बच्चा जन्माइसकेपछि त्यही बच्चालाई अमेरिकी नागरिक नमान्ने अधिकार राष्ट्रपतिसँग नहुन सक्छ।

चिनले ‘बर्थ टुरिजम’ अमेरिकामा हुने कुल जन्मको तुलनामा अत्यन्तै सानो हिस्सा रहेको उल्लेख गर्दै यसलाई असामान्य प्रकृतिको घटना मानेका छन्। यसले ट्रम्पको नयाँ कदमले पनि अमेरिकी आप्रवासन नीति र जन्मसिद्ध नागरिकताको संवैधानिक अधिकारबारे लामो कानुनी तथा राजनीतिक बहस निम्त्याउने संकेत गरेको छ।

FzJEQJmiKtTjISJ
प्रतिक्रिया